नेपालको संविधानले स्पष्ट पारेको तर संसद्ले बनाउनुपर्ने विभिन्न कानुन र संरचना नबनिसकेको तथा थुप्रै अस्पष्टताबीच तीन तहको सरकारमध्ये जनसाधारणका लागि सबैभन्दा महत्त्वपूर्ण स्थानीय सरकारहरुले पहिलो कार्यकाल पूरा गरे । स्थानीय तह स्वायत्त भए पनि संघीय सरकारले मातहतकै नीकायसरह व्यवहार गरेको कुरालाई पनि उत्तिकै ध्यानमा राख्नु पर्नेहुन्छ ।
दोस्रो कार्यकालका लागि चुनाव भइवरी निर्वाचन परिणाम धमाधम आइरहेका छन् । मतगणना भइरहँदा देखिएका प्रारम्भिक नतिजाहरुले भने नेपाली राजनीतिमा थुप्रै संकेत गरेका छन् । यस्ता संकेतहरु पछ्याउँदामा देखिने दृश्यका केही झलक यस्ता छन् :
नेकपा (एमाले)
१. अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको एमाले पछिल्ला पाँच वर्षमा मूलतः आनै नेतृत्वको अहंकार र कमजोरीको धक्कामा परेको भए पनि संगठनात्मकरुपमा अझै सुदृढ नै रहेछ ।
२. नेतृत्व विवेकी र विनम्र, गतिशील र दूरदृष्टियुक्त भए यसको आकर्षण अझै बलियो नै रहनेछ ।
३. नेतृत्वलाई चुनौती दिन नसके पनि भविष्य हेरेर कार्यकर्ता आशावादी छन् ।
नेपाली कांग्रेस
१. अघिल्लो चुनावमा दोस्रो ठूलो दलमा खुम्चिएको नेपालको पुरानो र लोकतान्त्रिक आन्दोलनको अगुवा दल नेपाली कांग्रेसको स्थितिमा सुधार आई यसपटक पहिलो दल हुने लक्षण देखिन्छ ।
२. यस पार्टीका ठूलानेता विवेकहीन र स्वार्थी छन् । आफू केन्द्रमा रहन र पदका लागि जे पनि गर्न सक्छन् । यसले गरेको गठबन्धन जनताभन्दा तिनै नेता केन्द्रित छ र छ संघीय चुनाव यिनको अर्जुन दृष्टिमा ।
३. उदार लोकतन्त्र र खुलापन नेपाली समाजको विशिष्ट चाह भएको र यो पार्टी नारैमा भए पनि यो कुरा बोकेकाले यसको भविष्य देखिन्छ । त्यसमा बीपीको नाम जोडिएकाले धेरै मानिसको सद्भाव यसले पाइरहने छ ।
नेकपा माओवादी
१. जीवन मरणको दोसाँधमा रहेको र पछिल्लो दस वर्षमा सबै भन्दाबढी राजनीतिक उतारचढाव भोगेको माओवादी पार्टी अझै पनि सौदागिरीमा सिपालु छ र यसको यही कौशलले यो तेस्रोे शक्तिको रुपमा स्थापित हुने देखिन्छ ।
२. अत्यत्न तरल स्वभावका यसका मूल नेता र यिनको चरम महत्त्वाकांक्षा यस दलको अभिशाप हो ।
*३. विग्रह, विलय र विर्निमाणमध्ये रोजेर जनतामाझ जानु यस दललाई श्रेयस्कर हुने देखिन्छ ।
नेकपा (समाजवादी)
१.. नितान्तरूपमा आपसी अहं र अहंकारका कारण नेकपा (एमाले)बाट चोइटिएको नेकपा (समाजवादी) चौथो वा पाचांै शक्तिका रुपमा स्थापित हुने देखिन्छ । केपी ओलीको अहंकारलाई चुर पार्न सफल भएकाले यसले यस चुनावमा गठबन्धनमा गतिलो बाजी मारेको छ।
२. जित्ने सम्भावना देखिएका पालिकाहरु (पोखरा, हेटौडा, सूर्योदय आदि)मा विजय हासिल गरे रणनीतिकरुपले महत्त्वपपूर्ण यी पालिकामा काम गरेर देखाउने अवसर यस दललाई हुनेछ । अनुभवी र परिचित नेतृत्त्व एवं नेतृत्वको लचक यस दलको सबल पक्ष देखिन्छ ।
३. यसमा आबद्ध कार्यकर्ताहरु र माउ दल एमालेका पनि अधिकांश कार्यकर्ता दुवै दलका दुईचार टाउके नेताहरुपछि पार्टी पुनः एक हुने विश्वास राख्छन् र एकताहुँदा बढी लाभ लिन सकियोस् भनेर आनो हैसियत दर्बिलो बनाउने प्रयासमा देखिन्छन् ।
मधेसमा आधारित दलहरु
१. मधेसमा आधारित दलहरु अवसरवादिता र पदलोलुपताका कारण आफैँ अस्तित्व हीनताको बाटामा जानलागेका देखिन्छन् । जे गर्छु भनेर स्थापना भएका हुन् त्यस बाटोमा हिँँड्न नसके अबको एक दुई चुनावपछि यिनीहरु प्रभावहीन हुनेछन् ।
२. मधेसका जनताले कहिल्यै गतिलो र जनपक्षीय नेता पाएनन । यस चुनावले केही त्यस्ता नेताको उदय गराउन सक्छ ।
३. मधेसलाई हेर्ने सम्यक दृष्टि विकास गर्न सके ठूला दुई दलहरुले नै मधेसलाई न्याय गर्न सक्छन् । माटो आफ्नो हुने, त्यहाँ बस्ने मान्छे पराइ ठान्ने विकृत सोचबाट बाहिर आउन यी दलहरु सक्षम होउन् !
वैकल्पिक राजनीति
१. वैकल्पिक राजनीति गर्ने भनेर आएको दल भावनाको उच्च बहावमा रसातल पुगेको छ । राजनीति गर्न संस्कार र धैर्य चाहिने कुरा यस दलको विग्रहले स्थापित गराएको छ । आए ‘आँप गए झटारो’ नेतृत्व दक्षिणपन्थको मतियार भएकाले यो अवस्था सृजना भएको हो ।
२. पद्धति स्थापना गर्ने र सुशासनप्रति मूलधारका राजनीतिक दलको चासो छैन भन्ने जनबुझाइका कारण विकल्पको खोजी भने भइरहनेछ । यस्तो खोजी सधैँ नै चेतनशील सहरियाले नै गर्ने गरेको देखिन्छ संसारभर । काठमाडौं र धरान विद्रोह यसैको दृष्टान्त हो ।
३. यो विद्रोह ठूला दललाई सच्चिने अवसर बनोस्् र जित्ने उम्मेदवारहरुले जे गर्छु भनेर जितेका हुन् त्यो गर्न सकुन् ।
जाँदाजाँदै
विकल्पको खोज र विद्रोहले स्थानीय राजनीति स्थानीय विषयमा केन्द्रित हुन सकोस् । स्थानीय सरकार सरकारका तीनै तहहरुमध्ये जनतासँग जोडिने प्रथम र प्रभावकारी कडी हुनसकुन् । स्थानीय रानजीतिले नै प्रादेशिक र संघीय राजनीतिलाई दिशा निर्देश गर्न सकोस् !
*गठबन्धन भने पनि समर्थक मतदाताले दलको चुनाव चिन्हको मोह छोड्न नसकेको देखियो । नेताहरूले बेलैमा कार्यकर्ताको भाव बुझुन् र आन्तरिक एकीकरण र सुदृढीकरणतिर बढता ध्यान दिउन् गठजोड भन्दा । मतदाता शिक्षा र मतपत्र अनि मतगणना प्रक्रियामा सुधार नहुने हो भने मत बदर रोक्न नसकिने हुन्छ जुन फेरि पनि लोकतन्त्रकालागि घात हुनेछ ।
*थप