काठमाडौं । सात स्थानीय तह रहेको हुम्लामा मतगणनामा समस्या भएको छ । जिल्लाको ताँजाकोट गाउँपालिकाबाहेक अरू ६ वटा स्थानीय तहमा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मुक्तिनन्द रावलले जानकारी दिए ।
हुम्लाका कतिपय स्थानीय तहमा मतपेटिका संकलन समेत हुन नसकेको उनले बताए । मतपेटिका संकलनका लागि हेलिकोप्टरको प्रयोग गरिएको उनले जानकारी दिए ।
नाम्खा गाउँपालिका–६, लिमीका भृकुटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या भएकाले हेलिकोप्टर प्रयोग गरिएको उनले बताए ।
यता, चंखेली गाउँपालिकाका विकट स्थानबाट मतपेटिका ल्याउन हेलिकोप्टर समेत उपलब्ध नभएपछि पैदल बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।
“हेलिकोप्टर भएन । कर्मचारीहरूले पैदल माध्यमबाट लिएर आउँदै छन्,” उनले बाह्रखरीसँग भने, “भोलिसम्म मतगणनास्थलसम्म आइपुग्छ भन्ने आस छ ।”