काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो ।
वडा नम्बर–१ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन् । उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिएको पनि उनले बताइन् ।
नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन चुनाव लडेको थियो । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।
नौवटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कुल मतदाता संख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको थियो । एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लागेका छन् । उनी यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा छन् । रासस