site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय निर्वाचन : मौन अवधिमा कतै झडप कतै पैसा बाँडेका घटना 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट देशभर जनप्रतिनिधिहरू चुनिँदै छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउँदै मतदातालाई उमेदवारको प्रभावबाट मुक्त राख्न निर्वाचन आयोगले ७२ घण्टाअघिबाट मौन अवधि तोकेको छ ।

तर, यही अवधिमा पार्टी–पार्टीबीच झडपका घटना भएका छन् । निर्वाचन प्रभावित पार्न उमेदवार र उनीहरूका निकट व्यक्तिहरूले पैसा बाँड्नेजस्ता कार्य गरेका घटना पनि बाहिर आएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ मा नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उमेदवार बनेका राजन बिसी एक लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन् । मौन अवधिमा मतदातालाई पैसा बाँडेको भन्दै स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गए राति रुकुम पश्चिममा नेपाली कांग्रेसको तर्फबाट चौरजहारी नगरपालिका–१० को वडाध्यक्षका उमेदवार गणेशमान डाँगी र नेकपा (माओवादी)को तर्फबाट उमेदवार बनेका वीरेन्द्र रोकायाका समर्थकबीच झडप भयो । मतदातालाई आफूतिर तान्न पैसा बाँडेको आरोप एकर्काप्रति लगाउँदै झडप भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । रुकुम पूर्वका केही ठाउँहरूमा पनि झडप भएको प्रहरीले जनाएको छ ।

यस अवधिमा रोल्पामा एमाले–कांग्रेस र माओवादी–नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच झडप भएको छ । पछिल्लो समय रोल्पाका विभिन्न स्थानीय तहमा दिनहुँजसो झडप भएको छ ।

Global Ime bank

यस्तै, गोरखाको अजिरकोट गाउँपालिका–१ मा बुधबार राति कांग्रेस र माओवादी कार्यकर्ता आपसमा कुटपिटमा उत्रिएको घटना सार्वजनिक भएको छ । कुटपिटमा माओवादी केन्द्रका कार्यकर्ता बेलबहादुर गुरुङ र विष्णु भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबारै तनहुँको बन्दीपुर गाउँपालिका–५ मा चामल बाँड्ने तयारी गरिरहेका बेलामा प्रहरीले ५० बोरा चामल बरामद गर्‍यो । चामल कुन पार्टीका जनप्रतिनिधिले बाँड्न लगाएका हुन् भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उता, सिरहाको गोलबजारमा पैसा राखेर नमुना मतपत्र वितरण गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरू पक्राउ परे । गोलबजार नगरपालिका–२, गुरुधामका माओवादीका कार्यकर्ता ५५ वर्षीय प्रेम लामालाई प्रहरीले ५४ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

एमालेका तर्फबाट रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर उमेदवार बाबुराम भट्टराईले सुकुमबासी बस्तीमा पैसा बाँड्न लागेको आरोप लाग्यो । भट्टराईकी श्रीमती माया भट्टराई बुटवल–११ स्थित सुकुमबासी बस्तीमा पुगेपछि कांग्रेसका स्थानीय कार्यकर्ताले विरोध जनाएर प्रहरीलाई खबर गरेका थिए । त्यसक्रममा पक्राउ परेकी उनी आरोप पुष्टि नभएको भन्दै रिहा भइसकेकी छन् ।

गए राति सर्लाहीको बलरा नगरपालिका–४ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भयो । झडपमा परी कांग्रेसका तर्फबाट सोही वडाको वडाध्यक्षका उमेदवार बनेका मणिभूषण सिंह र वडा सदस्यका उमेदवार हरेन्द्र सहनी घाइते भएका छन् । एमालेतर्फ राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव सहनी घाइतेका छन् ।

यसैगरी, इलामको सन्दुकपुर गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट उमेदवार बनेका उदय राईलाई प्रहरीले पक्राउ गर्‍यो । सन्दकपुर–५ मा पैसा बाँड्न लागेको भन्दै उनी पक्राउ परेका थिए ।

यता, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी मतदातालाई प्रभावित पार्ने गरी पैसा बाँडेको आरोपमा पक्राउ परे । बिहीबार बिहान जनपुरधामस्थित सीतासरण होटेलबाट पक्राउ परेका उनले रिहा भएपछि पत्रकार सम्मेलन नै गरेर विरोध जनाए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेनु दाहाललाई नगर प्रमुखमा जिताउन अस्वाभाविक भेटघट गरी मौन अवधिलाई मतदाता प्रभावित पार्न प्रयोग गरेको भन्दै एमालेले विज्ञप्ति जारी गरेको छ । एमालेले नेपाल सरकारका मन्त्रीहरू उमा रेग्मी, किसान श्रेष्ठ, प्रेम आले, राज्यमन्त्री उमेश श्रेष्ठसहितले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही माग गरेको छ ।

मुगुमा पनि गए राति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडप नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर गर्नुपर्‍यो । सोरु गाउँपालिका–३, भिई गाउँमा दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

‘‘रातिको समयमा झडप भयो । उक्त झडपलाई नियन्त्रणमा लिन १० राउन्ड हवाई फायर गर्नुपर्‍यो,” डीएसपी भट्टराईले भने, “अहिले सो स्थानमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ छ ।”

स्थानीय तह निर्वाचनकै क्रममा अर्धभूमिगत राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि विभाजित भयो । त्यसक्रममा निर्वाचनविरोधी धारमा उत्रिएको नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गर्‍यो । बुधबार बिहान बास्तोलालाई दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा नियन्त्रणमा राखिएकामा पार्टीका तर्फबाट चुनाव बिथोल्ने कुनै पनि योजना नरहेको बताएपछि रिहा गरियो ।

कैलालीको गोदावरी नगरपालिका–६ मा एमाले र कांग्रेसका नेता–कार्यकर्ताबीच झडप भयो । झडपमा एमालेका तर्फबाट वडाध्यक्षका उमेदवार बनेका जग्गु चौधरीसहित छोरी लक्ष्मी, भाइ विन्तीराम, भाइबुहारी वसन्ती, भतिजा रविन चौधरी र दीपक कठायत घाइते भए । झडपका क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

उता, सत्ता गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा तेह्रथुमको छथर गाउँपालिका–२ का वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमालेका छथर गाउँपालिका–२ का वडा कमिटीका अध्यक्ष मनबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगर छन् ।

यस्तै, ताप्लेजुङको मिक्काखोला गाउँपालिका–१, खोक्लिङमा एमाले कार्यकर्ता विमल कार्की मृत भेटिएका छन् । गए राति खोक्लिङस्थित आफ्नो घरतर्फ फर्किंदै गर्दा सडकबाट करिब ३०० मिटर तल खसेर ज्यान मृत्यु भएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईले जानकारी दिए ।

प्रहरीका अनुसार उनी डोजर चालक हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, एमालेले भने भोट हाल्न हिँडेका आफ्ना कार्यकर्तालाई गठबन्धन समर्थकहरूले अपहरण गरी हत्या गरेको आरोप लगाएको छ ।

बुधबार राति बुटवलको मिलनचोकमा प्रेसरकुकर बम विस्फोट भयो ।

यसबाहेक मौन अवधिमा सामाजिक सञ्जालबाट भोट माग्ने, मतदातालाई प्रभावित पार्ने गतिविधिहरू भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीका अनुसार अहिलेसम्म शान्ति सुरक्षालाई नै प्रभावित पार्ने किसिमका गतिविधि भएका छैनन् । ‘‘२७ गते बेलुका १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिलाई तोड्न पाइँदैन,” प्रवक्ता केसीले भने, ‘‘यदि, त्यस्तो पाइए स्थानीय तह निर्वाचन ऐनबमोजिम कारबाही हुन्छ ।”

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र उमेदवारी रद्द समेत हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रहरीका अनुसार देशका विभिन्न स्थानमा सामान्य झडपका घटना भएका छन् । त्यस्ता घटनामा संलग्नलाई पक्राउ र कारबाही गरिनेछ । ‘‘सामान्य झडप भएको छ । कतिपय ठाउँमा आफैँ मिलेर गइसक्नुभएको छ,” केसीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement