हुनत युरोपमा वसन्त आउनै लागेकाे छ तर यस महाद्विपले भने शीतयुद्धको काठ्ठिने क्षणकाे अनुभव गर्दैछ । युक्रेनमाथि रुसको आक्रमणले युराेपकाे लामो शान्तिकाल समाप्त गरेकाे छ भने शान्ति कायम राख्ने युरोपियन सुरक्षा व्यवस्थाको पनि अन्त्य भएको छ ।
पक्कै पनि यो अन्त्य एक्कासी भएको हैन । युक्रेनमा गत फरबरी २४ मा दसौं हजार सैनिक पठाउनुभन्दा करिब १० वर्ष पहिले रुसले क्रिमिया विलय गरायो र डनबास क्षेत्रमा छाया युद्ध सुरु गरेकाे थियो । त्यसपछि पूर्वी युक्रेनमा जनता युद्धरत थिए र हिंसामा ज्यान गुमाउँदै थिए । क्रेमलिनले सार्वभौम मुलुकका प्रान्तहरू मासुको टुक्रा जसरी लुछ्न खोज्दा पनि विश्व समुदाय भने केही नभएजसरी तमासा हेरेर बसेकाे थियो ।
सन् २०१४ पछि युरोपियन शान्तिकाे संरचना कागजमा मात्र बाँकी रह्यो जुन रसियन राजनीतिक नियतमाथिको पश्चिम युरोपकाे विश्वासमा निर्भर थियाे । राज्यहरूकाे भौगोलिक अखण्डताकाे सम्मानमा आधारित पहिलेकाे युरोपेली व्यवस्थाकाे ठाउँ ठूला शक्ति राष्ट्रहरूले एकतर्फीरूपमा आफ्नो प्रभाव क्षेत्रकाे दाबी गर्न शक्ति प्रयोग गर्ने पुरानाे व्यवस्थाले लियो । यसरी युरोपियनहरू राजनीतिक, सैनिक र सबैभन्दा बढी मानसिकरूपमा तयार नहुँदै युरोप अर्को विश्वयुद्धकाे खतरामा पुग्यो ।
रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामक युद्ध कसरी र कहिले अन्त्य होला भन्ने हामीले थाहा पाउन सक्तैनौ तर पुरानो शैलीको शक्ति राजनीतिको पुनरागमनले तीनवटा परिदृश्यको सम्भावना देखिएको छ । पहिलो, रुसले युक्रेनको स्वतन्त्र सार्वभौम राष्ट्रको अस्तित्व समाप्त पार्न सक्नेछ ।त्यसले छिमेकी राष्ट्रहरूको अस्तित्वको प्रश्न खडा गर्नेछ र माल्डोभा र जर्जियामात्र होइन नाटोका सदस्य राष्ट्रहरू पोल्यान्ड र बाल्टिक राज्यहरूको पनि अस्तित्व सङ्कटमा पर्नेछ । अनि नाटो रुससँगको प्रत्यक्ष युद्धमा तानिनेछ र त्यो लडाइँ महादेश भर फैलन पुग्नेछ । आणविक युद्धको जोखिम हेर्दा सबै लोकतान्त्रिक युरोप खतरामा पर्नेछ ।
आफूसँग भएका सैनिक उपाय सबै अपनाउँदा पनि पुटिन युक्रेनलाई परास्त गर्न असफल हुनेछन् । युक्रेन आफ्ना नागरिकको हिम्मत तथा पश्चिमी मुलुकहरूको हतियार र आर्थिक सहयोगका कारण सार्वभौम राष्ट्रका रूपमा रहिरहनेछ । अहिलेको रसियन नेतृत्व सत्तामा रहिरहेमा युक्रेनले हारेन र पुटिनले जितेनन् भन्न सकिनेछ ।
तेस्रो परिदृश्यमा कुनै प्रकारकाे वार्ताद्वारा शान्ति सम्झौता हुनेछ । तर, रसियन फौजले बुचा र अन्यत्र मच्चाएको अत्याचार हेर्दा अहिले यो विकल्पको सम्भावना बिरलै देखिन्छ ।
पहिलो परिदृश्य युरोपियन तथा पश्चिमी दृष्टिबाट सबैभन्दा खराब हुनेछ भने अरू सबै परिदृश्यले स्थिति पूर्ववत् हुनेछ । शान्तिका लागि विश्वास आवश्यक हुन्छ तर पुटिन सत्तामा रहुन्जेल र रुसलाई सर्वसत्तावादी मार्गमा हिँडाउन्जेल विश्वास पुनःस्थापित हुने सम्भावना असम्भव देखिन्छ ।
यति नै बेला युरोपको पूर्वी सीमा चिसो, तातो र निरन्तर विवादको कारण निरन्तरकाे खतरामा हुनेछ । सीमा सुरक्षाकै अङ्गका रूपमा युरोपले रसियन आणविक ‘ब्ल्याकमेल’ को सामना पनि गर्नुपर्नेछ । त्यसको अर्थ युरोपसँँग अहिले लगभग नभए बराबरको आणविक प्रतिरोध रणनीतिको विकास गर्नुपर्छ भन्ने नै हो।
आणविक सुरक्षाको प्रश्न आफैँमा वर्तमान युरोपका लागि सर्वाधिक महत्त्वको चुनौती हो । पुटिनले आक्रामक युद्ध सुरु गरेकाले युरोपकाे सुरक्षा सुदृढ बनाउने र क्षमता अभिवृद्धि गर्ने कार्य युरोपका लागि सबैभन्दा प्रमुख प्राथमिकता बनेको छ । हुनत, यो प्रक्रिया नाटोकै सन्दर्भमा कार्यान्वयन गरिनुपर्छ तर अमेरिकामा डोनाल्ड ट्रम्पकाे राष्ट्रपति काल पनि हेरेर युरोप एक्लै अगाडि बढ्न पनि तयार हुनुपर्छ ।
सबैभन्दा मुख्य त युरोपियनहरू भ्रमबाट मुक्त हुनुपर्छ । अहिले पुटिनले युरोपियन शान्तिकाे संरचना ध्वस्त बनाएका छन् भने युद्ध र युद्धग्रस्त मानसिकता यस महादेशमा फर्केको छ । लगातारकाे राजनीतिक जोखिम, हतियारको होडबाजी र कुनै पनि बेला प्रत्यक्ष द्वन्द्वमा परिणत हुनसक्ने निरन्तरको शीतयुद्ध युरोपको वर्तमान यथार्थ हो ।
युरोपियन युनियन दूरगामी र गहिरो परिवर्तनको ऐतिहासिक विन्दुमा छ । पुटिनको रुसबाट प्रस्तुत सैनिक खतराका सन्दर्भमा युरोपले एकातिर आफूलाई प्रतिरोधकाे बलियो क्षमता भएको भूराजनीतिक खेलाडीमा परिवर्तन गर्नुपर्छ भने अर्कोतिर साझा बजार र कानुनी समुदायका रूपमा रहेकाे परम्परागत शक्ति पनि जोगाएर राख्नुपर्छ । प्राविधिक बढोत्तरी कायम राख्न यसले आन्तरिक उच्च प्राविधिक क्षमता बढाउनु र अनुसन्धानलाई प्रोत्साहन गर्न धेरै गर्नुपर्छ ।
राजनीतिकरूपमा युरोपेली युनियनकाे गुरुत्वाकर्षणको केन्द्र पूर्वतर्फ सर्नेछ भने इयु र नाटोबीचको सम्बन्ध थप निकट हुनेछ । वासिङ्टन र ब्रसेल्स बीचकाे सम्बन्ध पनि निकट बनाइनुपर्छ । अमेरिकाकाे सैनिक शक्ति नभएको भए सम्भवतः युरोपले पुटिनकाे आक्रमणविरुद्ध केही गर्न सक्ने थिएन । आगामी लामो समयसम्म अमेरिकी सैनिक सुरक्षा अपरिहार्य रहनेछ । परन्तु, ट्रम्पको शासन वा ट्रम्पजस्तै अर्को राष्ट्रपतिको सम्भवना हेर्दा युरोपियनहरूले एटलान्टिक वारपारको सुरक्षामा आफ्नो योगदान बढाउनुपर्ने पर्याप्त कारण छन् ।
जेहोस्, राम्रै हुने आशा गर्दागर्दै पनि सबैभन्दा अप्ठरोका लागि तत्पर हुनुपर्छ । हामीले भोगेको दुर्दशा सम्झने केही त अझै जीवितै छन् । हामीले सम्पूर्ण जीवन शान्ति र समृद्धिमा बितायौँ । अब त्यसलाई सम्भव बनाउने युरोपलाई जोगाउने गर्ने बेला भएको छ ।
(जर्मनीका पूर्वविदेशमन्त्री)
Copyright: Project Syndicate, 2022.