बीबीसी । लगातार घटिरहेको डिजिटल मुद्रा बिटक्वाइनको भाउ ३४ हजार डलरमा झरेको छ । बजार मूल्यका हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी गत नोभेम्बर उचाइमा पुगेदेखि ५० प्रतिशतले घटिसकेको छ ।
विश्वव्यापी शेयर बजारमा गिरावट आइरहेका बेला डिजिटल सम्पत्तिमा पनि प्रभाव परेको देखिएको छ । सोमबार एसियाली बजारहरूमा पनि गिरावट देखा परेको थियो ।
डिजिटल मुद्राको बजारमा बिटक्वाइन एक्लैको योगदान एक तिहाइ जति छ । कुल क्रिप्टो बजार अहिले ६४० अर्ब डलरबराबरको छ ।
बिटक्वाइनपछि एथेरम दोस्रो ठूलो क्रिप्टोकरेन्सी हो । यसको मूल्य पनि गत साता १० प्रतिशतले घटेको थियो ।
क्रिप्टोकरेन्सीका लागि २०२२ तुलनात्मक रूपमा शान्त वर्ष साबित भइरहेपनि डिजिटल बजार अप्रत्याशित किसिमको हुने हुँदा कुनै निश्चित अनुमान लगाउन नसकिने बताइएको छ ।
डिजिटल मुद्राको व्यापार धेरै वर्षसम्म व्यक्तिगत व्यवसायीहरूको नेतृत्वमा चलिरहेको थियो तर पछिल्लो समय व्यवसायिक लगानीकर्ताले पनि यसमा हात हालिरहेका छन् । तरपनि युक्रेन–रुस युद्ध चलिरहँदा व्यवसायीहरू ढुक्क भएर लगानी गर्ने अवस्थामा छैनन् ।
गतवर्ष एल साल्भडोर र यस वर्ष सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मान्यता दिइ सार्वजानिक प्रयोजनका लागि बाटो खुलाएका थिए । यसले पनि क्रिप्टोको लोकप्रियता स्पष्ट पार्दछ ।