सञ्चार माध्यममा प्रकाशित समाचार वा विचारमा आफ्नो चित्त बुझ्नैपर्छ भन्ने मान्यता आफैँमा अधिनायकवादी हो । त्यसमाथि चित्त नबुझ्नेबित्तिकै भौतिक वा अन्य प्रकारले सञ्चार माध्यम वा सञ्चारकर्मीविरुद्ध जाइलाग्नु त झन् गलत हो ।
प्रकाशित कुनै सामग्रीमा चित्त बुझेन वा गलत लाग्यो भने त्यसको खण्डन मण्डन गर्ने वा गराउने प्रचलन छ । तैपनि चित्त बुझेन भने कानुनी उपचार पनि खोज्न पाइन्छ । सभ्य लोकतान्त्रिक समाजले अहिलेसम्म अपनाएको परम्परा यही हो ।
परन्तु, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उमेदवारी दिएका एक जनाले राष्ट्रिय झन्डालाई पोसाक सरह प्रयोग गरेकोमा आलोचना गरिएको सामग्री एउटा अनलाइन समाचारपत्रिकामा प्रकाशित भएपछि भने अराजक प्रतिक्रिया देखाइयो । उमेदवारका समर्थकहरू सामूहिक र संगठितरूमा सम्बन्धित पत्रिकाविरुद्ध उत्रे ।
व्यक्तिका रूपमा कसैलाई पनि कुनै पत्रिका नपढ्ने वा त्यससँग नजोडिने स्वतन्त्रता हुन्छ । प्रकाशित कुनै समाचार वा विचारमा चित्त नबुझे त्यो व्यक्त गर्न पनि पाइन्छ । तर, संगठितरूपमा कुनै पत्रिका वा सञ्चारकर्मीविरुद्ध अभियान चलाउनु भने अराजक आक्रामकता हो ।
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताविरूद्ध प्रकट गरिएको यस्तो असहिष्णु अराजकता सभ्य र उदार समाजका लागि अस्वीकार्य व्यवहार हो । साथै त्यसले सम्बन्धितको पक्ष अपरिपक्वता र असहिष्णुता पनि उजागर गर्छ । अराजक असहिष्णुताले कसैको हित गर्दैन भन्ने सञ्चार माध्यममाथि ‘अरिंगाल’ लगाउनेहरूले बुझे हुन्छ ।
यो कार्य सम्बन्धित उमेदवारकै सहमा वा इसारामा भएको हो भन्ने कुनै ठोस आधार भने छैन । यो समर्थकहरूको आवेगमात्र पनि हुनसक्छ । तर, यसले सम्बन्धित उमेदवारको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामा सन्देह भने उब्जाएको छ । यसैले सम्बन्धित उमेदवारले बेलैमा आफ्नो संलग्नता भए नभएको स्पष्ट पार्नु उचित हुनेछ ।
प्रेस स्वतन्त्रताविरुद्ध देखाइने यस प्रकारको संगठित अराजक र असहिष्णु प्रवृत्तिले लोकतान्त्रिक संस्कारको विकास हुन दिँदैन । साथै, यस्तो व्यवहारले सामाजिक सञ्जाल नियन्त्रण गर्न चाहनेहरूको अधिनायकवादी मनसुवालाई उचित ठान्नेहरूले पनि मौका छोप्न खोज्छन् । यसैले असहिष्णु अराजकता बढ्न नदिऊँँ ।