site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
स्वास्थ्य मन्त्रालयले नागरिकलाई जिस्क्याएको कि सस्तो लोकप्रियता खोजेको ? 

काठमाडौं । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो । सोही दिन बैठक सकेर बाहिरिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सञ्चारकर्मीसँग भने– स्वास्थ्य संस्थाहरूमा दुई दिन बिदा लागु हुनेछैन । दुई दिने बिदाले बिरामी मारमा पर्ने हुनाले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्यमन्त्रीको भनाइ थियो । वैशाख २१ गते स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगिता कौशल मिश्राले भनिन्– वैशाख ३० गतेको स्थानीय निर्वाचनका दिन मतदान गरिसकेपछि कोभिड–१९ विरुद्धको खोप दिने तयारी भइरहेको छ । उनका अनुसार हालसम्म कुनै पनि डोज खोप नलगाएका, पहिलो लगाएर दोस्रो डोज लिन बाँकी रहेका तथा बुस्टर डोज लगाउन छुटेका सबै नागरिकलाई मतदान केन्द्र नजिकै खोप केन्द्र राखेर खोप दिइनेछ । त्यसका लागि मतदान गर्न आउँदा खोप कार्डसमेत साथमा ल्याउन उनले आग्रह गरिन् ।  

स्वास्थ्य मन्त्रालयका यी दुई निर्णयले स्वास्थ्य क्षेत्रमा पछिल्ला दिनमा राम्रैसँग खैलाबैला मच्चियो । स्वास्थ्य सेवामा दुई दिन बिदा नदिने स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक संघ गोदानले वैशाख १७ गते विज्ञप्ति निकालेर भन्यो– एउटै ऐनका कर्मचारीबीच फरक–फरक व्यवहार हुनु न्यायसंंगत हुन सक्दैन । त्यसको भोलिपल्ट १८ गते नेपाल चिकित्सक संघले स्वागत विज्ञप्ति निकाल्दै दुईदिने सार्वजनिक बिदा दिने निर्णय स्वास्थ्य सेवामा पनि लागु हुने र स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्याे । यसबीचमा स्वास्थ्य क्षेत्रका विभिन्न संघ संस्था, पेशागत संगठन तथा सरोकारवालाहरूले दुईदिने बिदाका सन्दर्भमा आ–आफ्नो धारणा प्रस्तुत गर्ने क्रम चलिरह्यो । आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्यमन्त्रीको भनाइ सञ्चारमाध्यममा छाइरह्यो । पेशागत संगठनले त्यसको खण्डन गरिरहे । आइतबार ओपीडी सेवा खुला गरेर सेवा दिएबापत् स्वास्थ्यकर्मीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने पक्षमा मन्त्रालय थियो । यही प्रस्तावका साथ वैशाख २१ गते मन्त्रालयले प्रमुख स्वास्थ्य संस्थाका निर्देशक तथा पेशागत संघ संगठनका प्रतिनिधिहरूलाई छलफलका लागि बोलायो । छलफलमा मन्त्रालयले आफ्नो प्रस्ताव अघि सार्यो तर स्वास्थ्य सेवाका कर्मचारीका प्रतिनिधिहरू आफ्नो अडानबाट टसमस भएनन् । अन्ततः मन्त्रालयले सरकारको दुईदिने बिदाको निर्णय स्वास्थ्य सेवामा पनि लागु हुने निर्णय गर्यो । र, भन्यो– तत्काललाई अस्पतालमा आइतबार पनि ओपीडी सेवा बन्द रहनेछ ।
 
यता, स्थानीय निर्वाचनको दिन मतदान केन्द्र आसपासबाट कोभिड–१९ विरुद्धको खोप दिने मन्त्रालयको घोषणाको चर्चा चलिरहेकै थियो । स्वास्थ्य सेवा विभागअन्तरगत परिवार कल्याण महाशाखाले मतदान केन्द्रमा ठूलो संख्यामा नागरिकको उपस्थिति हुने भएकाले छुटेकाहरूलाई केन्द्र आसपासबाट खोप लगाउने व्यवस्था गरे कसो होला ? भन्ने प्रस्ताव मन्त्रालयलमा पठाएको थियो । स्वास्थ्य मन्त्रालयले यही प्रस्ताव निर्वाचन आयोगमा पठाएको थियो । यसबारे अन्तिम निर्णयको अधिकार पनि आयेगमै निहित हुन्छ । तर, स्वास्थ्य मन्त्रालयले आयोगको निर्णय नपर्खी वैशाख २१ गते भन्यो– मतदान गरिसकेपछि मतदान केन्द्र आसपासबाटै खोप दिइनेछ, छुटेकाले परिचयपत्र र पहिले खोप लगाएकाहरूले खोप कार्ड लिएर आउनुहोला । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुख खोलेरै भने– मतदान केन्द्र भोट हाल्ने ठाउँ हो, खोप दिने ठाउँ होइन । अर्को कुरा मौन अवधिमा कुनै पनि गतिविधि गर्न नपाइने सबैलाई अवगत नै छ । खोपको कुरा कहाँबाट आयो, फेरी हामीले स्वास्थ्यलाई वैशाख १० गतेभित्र सबै मतदातालाई खोप दिइसक्न म्याद दिएकै हौं । यता निर्वाचनको दिन खोप दिने मन्त्रालयको घोषणाविरुद्ध स्वास्थ्यकर्मी खरो उत्रिए । निर्वाचनको दिन खोपका लागि फिल्डमा खटिँदा आफ्नो मताधिकार खोसिने हुनाले सो दिन खोप कार्यक्रम सम्भव नभएको भन्दै आफ्नो अधिकारप्रति अडिग रहे । वैशाख २५ गते (हिजो) मन्त्रालय आफ्नै निर्णयबाट पुनः  पछि हट्यो र भन्यो– स्वास्थ्यकर्मीको मताधिकारलाई ध्यानमा राख्दै निर्वाचनका दिन खोप कार्यक्रम सञ्चालन हुनेछैन ।
 
स्वास्थ्य मन्त्रालयमा पछिल्ला १० दिनका बीच भएका यी निर्णयले मन्त्रालय नेतृत्त्वको अपरिपक्वता प्रष्टै झल्काउँछ । आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्यमन्त्रीको अडान देख्नमा जनमुखी देखिए पनि सरोकारवालाहरुबीचको छलफलबिना गरिएको  ढीपीजस्तो बन्यो । “पहिलो कुरा मन्त्रालयले हरेक निर्णयमा स्वाास्थ्यकर्मीको आधारभूत अधिकारको ख्याल गर्नुपर्छ । दुईदिन बिदाले हाम्रो त्यो अधिकार सुरक्षित गर्छ । अन्यथा साताको दुईदिन मात्रै होइन सातैदिन स्वास्थ्य सेवा दिन पाए हामी त खुसी हुन्छौं, तर त्यसका लागि हामीसँग छलफल पनि त हुनुपथ्र्यो होला,” नेपाल स्वास्थ्यकर्मी संघका  अध्यक्ष रामजी घिमिरे भन्छन्, “आइतबार सेवा सञ्चालन गरेबापत स्वास्थ्यकर्मीलाई एक महिनाभित्र अतिरित्त तलब सुविधा भुक्तानी गर्ने व्यवस्था गरियोस् । हामी सधैँ सेवा दिन तयार छौं । तर, यसरी बिना छलफल हचुवामा निर्णय नगरियोस् ।”

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सरोकारवालाहरुसँगको सल्लाहबिना मन्त्रालयले लिने यस्ता निर्णयलाई प्राविधिक व्यक्तित्व नेतृत्व तहमा नहुँदाको परिणामको रुपमा व्याख्या गरेको थिए ।  स्वास्थ्यकर्मी आफैँ मानसिक रुपमा स्वस्थ भए गुणस्तरीय सेवा दिने र यसका लागि दुईदिने बिदा स्वागतयोग्य भएको उनको भनाइ थियो । “तर, यो निर्णय हामीलाई लागु हुँदैन भन्नु स्वास्थ्य सेवा नबुझ्ने नेतृत्वले गरेको अव्यवहारिक अभिव्यक्ति हो । ढिलोचाँडो यो निर्णय फिर्ता हुन्छ नै,” उनले भनेका थिए । 

डा. कार्कीले यस्तो भनाई आएको एक साता नबित्दै मन्त्रालयले दुईदिने बिदा स्वास्थ्यमा पनि लागु हुने निर्णय ग¥यो र एक साता भए पनि आलोचनाको केन्द्र बन्नपुग्यो स्वास्थ्य मन्त्रालय । त्यसो त स्वास्थ्यमा पछिल्लो समय हुने गरेका अधिकांश निर्णयमा स्वास्थ्यमन्त्री हाबी हुने गरेको मन्त्रालयका एक महाशाखा प्रमुख बताउँछन् । मन्त्रालयका ६ वटामध्ये प्रशासन र जनसंख्या व्यवस्थापनबाहेक अन्य सबै महाशाखामा प्राविधिकतर्फका प्रमुख छन् । स्वास्थ्य सेवामा लामो समय बिताएका डा. रोशन पोख्रेल सेवातर्फका सचिवमा छन् । तर, पछिल्लो समय स्वामन्त्रीले सचिव र महाशाखा प्रमुखहरुसँगको समन्वयमा कम निर्णय गर्ने गरेको ती महाशाखा प्रमुख बताउँछन् ।

“सरकारले गरेको निर्णय स्वास्थ्यकै कर्मचारीको हकमा लागु हुने नै भयो, तर कर्मचारी मात्रै बिदा बसेर स्वास्थ्यकर्मीलाई कसरी काममा लगाउने त ?” उनले भने । नेपालजस्तो मुलुकमा दुई दिनमात्रै ओपीडी सेवा बन्द हुँदा अस्पतालमा बिरामीको थप भिड बढ्ने निश्चित छ । कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका ४० लाख बालबालिका र १० लाख १२ वर्षमाथिका नागरिकललाई मतदान केन्द्र होइन घरदैलो कार्यक्रम नै गरेर खोप दिँदा के हुन्छ ? तर, मन्त्रालयले हचुवाको भरमा गर्ने क्षणिक निर्णयले नागरिकमा खुसी होइन थप निराशा र सरकारप्रतिको अविश्वास थपिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro