मुम्बई । बलिउडमा अक्षय कुमार, अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, काजोल, ऐश्वर्यासहित एकसे कलाकारहरू छन् ।
यद्यपि कुन कलाकारले कति चलचित्रमा अभिनय गरे भन्ने जवाफ दिन मुस्किल पर्छ ।
उत्कृष्ट १० को सूचीमा बलिउडका पुराना कलाकारहरूको नाम नै पर्छ । तर, बलिउडमा सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्नेे कलाकारको रेकर्डमा माथि उल्लेखित कलाकारहरूको नाम अटाउँदैन ।
हालसम्म सबैभन्दा धेरै चलचित्रमा अभिनय गरेका १० बलिउड कलाकारहरूको सूची यस्तो रहेको छ ।
ललिता पवार
यस सूचीको शीर्ष एक स्थानमा बलिउडकी दिग्गज कलाकार ललिता पवारको नाम आउँछ । उनलाई भारतीय सिनेमाकी ‘फर्सट लेडी’ को रूपमा पनि चिनिन्छ । उनले हिन्दी भाषाका साथसाथै मराठी र गुजराती चलचित्रहरूमा पनि अभिनय गरेकी छन् । ९ वर्षको सानै उमेरमा अभिनयमा पाइला चालेकी उनले सात सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् । दसकौँसम्म फरक–फरक भूमिका निभाएकी उनले ‘रामायण’ मा ‘मन्दरा’ लाई जीवन्त बनाइदिएकी थिइन् ।
शक्ति कपूर
यो सूचीको दोस्रो स्थानमा कलाकार शक्ति कपूर पर्दछन् । आजसम्म पनि दर्शकको मानसपटलमा छाप छोडेका थुप्रै पात्रहरूको भूमिका निभाएका उनले सात सय चलचित्रमा अभिनय गरिसकेका छन् । कहिले ‘राजा बाबू’ को हँसिलो पात्र ‘नन्दू’ होस वा ‘क्राइम मास्टर गोगो’ या त खतरनाक भिलेन पात्रबाट होस् उनले दर्शकको मनमुटुमा छाप छोड्ने पात्रहरू दिएका छन् ।
अनुपम खेर
तेस्रो स्थानमा परेका कलाकार अनुपम खेरले ‘सारांश’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका हुन् । पाँच सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका खेर आजसम्म पनि बलिउडमा सक्रिय छन् । केही महिनाअघि मात्रै रिलिज भएको उनको ‘द कश्मिर फाइल्स’ ले रामै कमाइ गर्न सफल भयो ।
अरूणा इरानी
कलाकार अरूणा इरानीले पनि पाँच सयभन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । उनले हिन्दीकासाथै कन्नाडा, मराठी, र गुजराती चलचित्रहरूमा पनि अभिनय गरेकी छिन् । केही पुराना चलचित्रमा मुख्य अभिनेत्रीको भूमिका निभाएकी उनी प्रायः चलचित्रहरूमा भने आमाको भूमिकामा नै देखिइन् ।
अमरिश पुरी
यस सूचीको पाँचौँ स्थानमा कलाकार अमरिश पुरीको नाम आउँछ । चाहे भिलेनको भूमिका होस् वा बुबाको रोल होस् हरेक पात्रलाई जीवन्त बनाएका कलाकार पुरीले ४५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
मिथुन चक्रवर्ती
यो सूचीको छैटौँ स्थानमा अभिनेता मिथुन चक्रवर्ती परेका छन् । ७१ वर्षीय चक्रवर्तीले सन् १९७६ मा फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका थिए । ३५५ भन्दा बढी चलचित्रमा अभिनय गरेका उनको ‘डिस्को डान्सर’ गीतको क्रेज आजसम्म पनि उत्तिकै छ ।
ओम पुरी
कलाकार ओम पुरी ३५० बढी चलचित्रमा अभिनय गरेर सातौँ स्थानमा परेका छन् । ८० देखि ९० दशकमा कैयौँ हिट चलचित्रहरूमा अभिनय गरेका उनले राष्ट्रिय अवार्ड पनि आफ्नो पोल्टोमा पारिसकेका छन् ।
श्रीदेवी कपूर
अभिनेत्री श्रीदेवीको सुन्दरता मात्रै होइन अभिनय क्षमताको हर कोही दिवाना थियो । चाहे नागिन होस् वा चाँदनी पात्र होस् उनको अदाको दिवाना हर कोही थिए । अभिनेत्री श्रीदेवीले तीन सय भन्दा बढी चलचित्रमा अभिनय गरेर उनी आठौंँ स्थानमा छिन् ।
धर्मेन्द्र
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र ‘शोले’देखि ‘अपने’ सम्म आइपुग्दा आजसम्म पनि अनवरतरूपमा अभिनयमा लागिरहेका छन् । उनले पनि तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनलाई चाँडै नै करण जौहरको ‘रकी और रकीकी प्रेमकहानी’ मा देख्न सकिने छ ।
कादर खान
कलाकार कादर सबैभन्दा बढी चलचित्रमा अभिनय गर्ने कलाकारको सूचीको दसौँ स्थानमा रहेका छन् । खानले आफ्नो जीवनकालमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । सन् २०१८ मा संसार छोडेर गएका थिए ।