site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वप्रकाशको गृह नगरमा गठबन्धनको ‘दबदबा’, कांग्रेस किचलोको फाइदा उठाउने एमालेको दाउ !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मेचीनगर (झापा) । झापाको मेचीनगर भारतको पश्चिम बंगालसँग साँध जोडिएको नेपालकै पूर्वी सीमान्त सहर हो । जहाँ लोपोन्मुख अल्पसंख्यक जातिको बाहुल्यता  छ । पछिल्लो समय भेटिएको मुण्डादेखि मेचे, किसान, करूवा, उराव, राजवंशी र ताजपुरियाजस्ता धेरै अल्पसंख्यक समुदाय मेचीनगरमा बस्छन् । तिनको आ–आफ्नै रीतिरिवाज र संस्कार छन् ।

बाहुनडाँगी क्षेत्रमा हुने जंगली हात्तीको आउजाउ र उपद्रो होस् वा मेचीपारिको नेपाली भू–भागमा बसोबास गर्ने नेपालीका समस्या, सम्बोधन नभएको विषय धेरै कारणले यो ठाउँ चर्चाको केन्द्रमा रहने गर्छ । काँकडभिट्टा नाकाबाट निर्यात हुने नेपाली कृषिजन्य वस्तुमा भारतले गर्ने अवरोधबारे राष्ट्रियस्तरमा बहसहरू पनि भइरहन्छन् । 

नेपाली सीमासम्म जोडिएको, तर पश्चिम नेपालतिर साँघुरिएको ‘एसियन हाइवे’ होस् अथवा नयाँ मेचीपुलमा ‘सेल्फी’ लिने र ‘टिकटक’ खिच्नेको भिड, धेरै कारणले मेचीनगर मानिसहरूमो मानसपटलमा घुमिरहन्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर हुनुको नाताले मात्र नभई मेचीनगर यतिबेला कांग्रेस उमेदवारको टिकट खोसाखोस प्रकरणका कारण पनि राजनीतिको केन्द्रबिन्दुमा छ । देश नै आसन्न स्थानीय तहको निर्वाचनमा होमिएको छ । चुनावी माहोल तात्तिएको छ । तर, स्थानीय नेताको भनाइमा विगतभन्दा अलि फरक ढंगले  । 

“चुनाव राजनीतिक प्रतिस्पर्धा हो, यहाँ पनि चुनावी अभियान जोडतोडसाथ सञ्चालन भइरहेका छन्,” कांग्रेस मेचीनगरका सभापति सुदेशकुमार पनेरूले भने, “टिकट वितरणका बेला देखिएका केही विवाद र तुष अब बाँकी छैनन् । हामी सबै एक भएर चुनावी मैदानमा होमिएका छौँ । हिजो टिकटको आकांक्षा राख्ने साथीहरू पनि अब प्रचार खटिनुभएको छ ।”

Royal Enfield Island Ad

कांग्रेसभित्र समूहपिच्छे किचलो 

मेचीनगरमा कांग्रेसबाट इन्द्रबहादुर बुढाथोकी मेयर र माओवादी केन्द्रका प्रकाश भण्डारी उपमेयरमा उठेका छन् । बुढाथोकी पार्टीको संघीय निर्वाचन क्षेत्रको सभापति हुन् । भण्डारी पार्टीको क्षेत्रीय इन्चार्ज हुन् । एमालेबाट गोपालचन्द्र बुढाथोकी मेयर पदमा उमेदवार छन् । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई नगरपालिकाको मेयर उठेका हुन् । एमालेबाट वर्तमान उपमेयर मीना पोखरेल उप्रेती दोहोरिएकी छन् । 

गठबन्धन गर्दा मेचीनगरमा कुनै समस्या भएन । दलले माग गरेअनुरूप नै मेयर उपमेयर अनि वडाहरूको सिट बाँडफाँट गरे । नेपाली कांग्रेसले मेचीनगरका १५ मध्ये ११ वटा वडा र नेकपा माओवादी केन्द्रले चारवटा वडा लिएका छन् । नेकपा एस चुनावी गठबन्धनमा छैन । एक्लै उठ्दा अघिल्लोपटक माओवादीले एउटा वडामा जित हासिल गरेको थियो । मेचीनगरमा तीनवटा पार्टीको तालमेल छ । नेकपा एस भने बाहिरै छ । एसले उपमेयरमा शारदा शर्मा घिमिरेलाई उठाएको छ । वडा नम्बर ७, ८ र १५ मा वडाध्यक्षमा उमेदवारी दिएको छ । वडा नम्बर ३ मा भने गठबन्धन गरेको छ । 

कांग्रेसबाट विधानतः प्रदेश समितिले महानगरपालिकाको मेयरमा केशवराज पाण्डेलाई सिफारिस गरेको थियो । तर, विश्वप्रकाश शर्माको आफ्नो गृहनगरसहित झापाका सबै पालिकामा सिटौला पक्षधर उमेदवार मात्र भएपछि केन्द्रबाट हस्तक्षेप गरिए । अन्ततः इन्द्र बुढाथोकीलाई टिकट मिल्यो । अपराह्न अबेरमात्र उनले मनोनयन दर्ता गराए । पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्र मनोनयनका दिन मात्र बुढाथोकीले प्राप्त गरेका थिए । मेचीनगरबाहेक अब झापाका १४ पालिकामा सिटौला समूहका उमेदवार छन् । 

मेचीनगरमा पार्टीभित्रै प्राविधिक समस्या उत्पन्न भएपछि कांग्रेस प्रदेश नम्बर एकका सभापति उद्धव थापा आफैँ चुनावी अभियानमा खटिए । उनले समस्या नगर्न आम नेता तथा कार्यकर्तालाई आग्रह गरे । मेयरका आकांक्षी पाण्डेले पनि सार्वजनिक कार्यक्रममा आफू पार्टीको अभियानमा सक्रिय भएको भन्दै प्रतिबद्धता जनाइसकेका छन् । “मैले टिकट पाएको थिएँ, तर खोसियो । तर, पनि म पार्टीको निर्णय मानेर हिँडेको छु । कांग्रेस उमेदवारलाई जिताउन प्रतिबद्ध छु,” उनले कांग्रेस कार्यक्रममा भनेका छन् । पाण्डे लोकप्रिय मतसहित विजयी भएका कांग्रेस झापाका उपसभापति हुन् । उनी आउने राजनीति यात्राका लागि सम्भावना भएका नेता मानिने गरेका छन् । 

विमल आचार्यबाहेक मेचीनगरमा अरू कसैले जित्न सक्दैनन् भन्ने मानसिकता समेत पार्टीभित्र थियो । यो अहमता स्वयम् आचार्यमा समेत रहेको एक कांग्रेस कार्यकर्ताले बताएका छन् । तर, आचार्यलाई लगाइने यो आरोप भने पार्टीको चुनावी अभियानमा देखिएको उनको सक्रियताले खण्डन गर्छ । 

कालीझोडामा भएको कार्यक्रममा आचार्यले मेचीनगरमा कांग्रेसको जित सुनिश्चित भएको बताउँदै भने, “हामी व्यक्तिभन्दा पनि पार्टी र गठबन्धनको निर्णय मानेर चुनावी अभियानमा होमिएका छौँ । स्थानीय रूपमा आफ्नो कार्यकालमा शुरू भएका विकासका योजना अब आउने साथीहरूबाट पूरा हुनुपर्छ ।” 

बुढाथोकी मेयरमा विजयी हुँदा सिटौला इतरको शक्ति आउने र शक्ति सञ्चय हुने भन्ने कांग्रेसमा एकथरी नेताको मनोविज्ञान देखिएको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको लागि पनि मेचीनगरको निर्वाचनले खास महत्त्व राख्छ । प्रतिनिधि सभा निर्वाचनमा दुईपटक पराजित भएका शर्मा एक पटक फेरि यही क्षेत्रमा उठ्ने तयारीमा छन् । 

“अब जसरी पनि शर्मा आउनुपर्छ भन्ने सामान्य मतदाताको पनि सोचाइ देखिन्छ । जनतामा अब हार्न दिनु हुँदैन भन्ने चेत बढेको पाइन्छ । त्यही भएर पनि स्थानीय चुनाव नै शर्माको लागि पनि अग्निपरीक्षा बनेको छ । किनभने, उहाँले रोजेको उमेदवारले हार्नु भनेको शर्माको हार हो भन्ने आमबुझाइ छ,” धुलाबारीका पत्रकार ज्ञानेन्द्र निरौलाको विश्लेषण छ ।

यस्तो छ मतको अंकगणित 

मेचीनगरमा अघिल्लो चुनावमा कांग्रेसका विमल आचार्य मेयरमा विजयी भएका थिए । उममेयरमा एमालेबाट मीना पोखरेल उप्रेतीले जितिन् । पोखरेल योपल्ट पनि उपमेयरमै उठेकी छन् । मेचीनगर नगरपालिकाका १५ मध्ये सात कांग्रेस, सात एमाले र एउटा वडामा माओवादी विजयी भएका थिए । तर, कार्यपालिकामा भने एमालेको बहुमत थियो । 

अघिल्लो चुनावमा कांग्रेसका आचार्यले मेयरमा २० हजार ७ सय ७६, एमालेका विष्णुप्रसाद प्रसाईंले १९ हजार १ सय ९२, माओवादी केन्द्रका हंसलाल राजवंशीले ७ हजार ६ सय ९४ र राप्रपाका रमेश दाहालले ८०३ मत प्राप्त गरेका थिए । उपमेयरतर्फ एमालेकी मीना पखरेल उप्रेतीले २० हजार १६, कांग्रसकी दुर्गा खतिवडाले १९ हजार १०६,  माओवादी केन्द्रकी इन्दिरा कार्कीले ७ हजार ६९० र राप्रपाकी सविना बजगाईंले १ हजार २३५ मत प्राप्त गरेका थिए । 

योपल्ट नयाँ मतदाता १५ हजार मतदाता थपिएपछि कुल संख्या ९० हजार २०२ पुगेको छ । थपिएका मतदाता आफ्नो पक्षको भएको सबै दलले दाबी गरिरहँदा गठबन्धनका उमेदवार भने थपिएका आधा मतदाताले मात्र सहयोग गरे पनि आफूहरूले सहजै जित्ने दाबी गरिरहेका छन् । 

मेयरका उमेदवार कांग्रेसका इन्द्र बुढाथोकी भन्छन्, “हामीले जित्ने आधार नै गठबन्धनको मत र बलियो उपस्थिति हो ।” 

हिजो एक्लै कांग्रेसले जितेको ठाउँमा अहिले गठबन्धनका दलसमेत हुँदा मतदाता स्वतः बढेको र जनमत आफूहरूको पक्षमा रहेको बुढाथोकीले सुनाए । लामो समय मेचीनगरको खानेपानी समूहमा काम गरेका उनले सामान्य, सहयोगी र सामाजिक व्यक्तित्वको पहिचान बनाउन सफल भएका छन् । 

नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष राजन चिमरिया सबै पार्टीको जनाधार राम्रो भएकोले यहाँ गठबन्धनका सबै उमेदवार विजयी हुने र बहुमत आफूहरूको पक्षमा आउने बताए । उनले भने, “विगतलाई मूल्यांकन गर्दै हामी चुनावी अभियानमा होमिएका छौँ । हामीले जनप्रिय कार्यक्रम लिएर जनतामाझ गएका छौँ । हामीले जित्ने अधार नै यिनै हुन् ।”

झिनो मतले हारेका वडासहित गठबन्धनले बहुमत प्राप्त गर्ने दाबी गरिएको छ । मेचीनगरको सहरी क्षेत्र वडा नम्बर ६ हो । काँकडभिट्टा बजार र आसपासको यो इलाकामा ११ हजार मतदाता छन् । त्यहाँ अघिल्लोपटक दुई मतको फरकले मात्र हारजित भएको थियो । दोस्रो धेरै मतदाता संख्या वडा नम्बर १० मा ९ हजार ५००  छ । यसैगरी, वडा नम्बर ९ मा ८ हजार ४ सय ८ र वडा नम्बर ७ मा ८ हजार ४ सय १ मतदाता छन् । कांग्रेस नगरसभापति सुदेशकुमार पनेरू भन्छन्, “प्रमुख यी वडाबाट गठबन्धनले मतान्तर बढाएर अघि बढ्ने योजना छ ।”

मेचीनगरमा परम्परागत शक्ति मानिएको राप्रपाको उभार पार्टी पनि योपटक राम्रो देखिएको छ । राप्रपाले मेयर उपमेयरसहित वडाहरूमा आफ्ना उमेदवार खडा गरेको छ । मेयरमा रमेश दाहाल र उपमेयरमा सविना बजगाईं उमेदवार छन् । दाहालका अनुसार योपटक राप्रपाको जनमत निकै राम्रो देखिन्छ । 

चुनावबारे दाहालले भने, “म अहिले राप्रपाको राजनीतिमा छु । हाम्रो पार्टीलाई अहिले हैसियत नै नभएको भन्दै प्रचार गरिएको छ, तर यो चुनावपछि हामी राष्ट्रिय राजनीतिमा सुधारिएर आउने छौँ । यहाँ पनि राम्रो अवस्था छ । ठूला भनिएका दलबाट सर्वसाधारण विरक्तिएका छन् त्यसको फाइदा हामीलाई हुनेवाला छ ।”

दाहालले मेचीनगरमा सहरको प्रतिक्रियात्मक र गाउँको शान्त तर नखुलेको मत आफूहरूलाई प्राप्त हुने अपेक्षा रहेको सुनाए ।

“ठूला भनिएका राजनीतिक दलको व्यवहारबाट वाक्क भएकाहरूले हामीलाई रोज्छन् भन्ने हाम्रो विश्वास हो,” उनले भने । 

प्रदेशसभा छाडेर एमाले उमेदवार बने 

प्रदेश सभा सदस्यको करिब १० महिने कार्यकाल बाँकी नै छँदा गोपालचन्द्र बुढाथोकी उता राजीनामा दिएर मेयर पदमा उठेका छन् । एमालेको ‘पब्लिक फिगर’ को रूपमा परिचित बुढाथोकी निकै अनुभवी नेता हुन । तर, एमालेको नेतृत्वमा शेरधन राई नेतृत्वको सरकारको उनी कटु आलोचक थिए । 

केन्द्रीय अध्यक्ष केपी ओलीको कदमका विरुद्धसमेत उनले टिकाटिप्पणी गर्दै आएका छन् । यसबाहेक ओलीले केन्द्रीय सदस्यमा मनोनीत गर्दा उनले त्यो पद नलिने भन्दै उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राखी अस्वीकार गरेका थिए । 

“पार्टीले आवश्यकता महसुस गरेर मलाई स्थानीय सरकारको नेतृत्वमा जान निर्देशन दिएको हो,” बुढाथोकीले भने, “पार्टीको नीति र निर्देशनभन्दा विपरीत जाने कुरा हुँदैन । मैले प्रदेश सभा र पार्टीका विभिन्न तह–तप्कामा रहेर गरेको कामको अनुभवलाई थप खार्नका लागि मेयरमा आएको हुँ ।” बुढाथोकीले आफूसँग मेचीनगरको विकास र उन्नयनका लागि स्पष्ट खाका रहेको दाबी गरे । 

नेकपा एमालेको मेचीनगर १३ का अध्यक्ष भोजराज पराजुली अहिले तल्लो तहसम्म चुनावी कार्यक्रमलाई अघि बढाइएको बताउँछन् । “तलका निकायहरूसम्म पुगेर हामी चुनावी अभियान सञ्चालन गरिरहेका छौँ, कांग्रेस र गठबन्धनको विवाद अनि झमेला नै हाम्रो जित सुनिश्चित हुने आधार हो,” पराजुलीले भने । 

एकपटक परीक्षण भइसकेकोलाई उपमेयर दिनु र प्रदेशसभाबाट पदलोलुप भएर मेयरमा फर्कनु मात्र नभएर मेचीनगरमा एमालेभित्र अनेकन असन्तुष्टिहरू छन् । प्रदेश सभामा एमालेलाई कमजोर बनाएको बुढाथोकीमाथि आरोप छ । अघिल्लो पटक एमालेका विष्णु प्रसाईंलाई हराउन भूमिका खेलेको र यसमा एमालेका पूर्वजिल्ला अध्यक्ष रविन कोइरालासमेतले ‘तिकडम’ गरेको प्रसाईंको आरोप थियो । उनले सार्वजनिक कार्यक्रममै “मलाई पराजित गरिस् हैन ?” भन्दै कोइरालाको मानमर्दन गरेका थिए । 

अहिले प्रसाईं र कोइराला मिलेजस्तो देखिए पनि उनीहरूको यो मेललार्ई देखावटी भन्ने गरिएको एमालेकै कार्यकर्ताहरू बताउँछन् । रविन इतरका कार्यकर्ताहरू बुढाथोकीलाई मतदान गर्ने इच्छा नगरेको बताइन्छ । फेरि विगतमा कोइराला झलनाथ खनालनजिक रहेको गरेको राजनीति र त्यस्तै पृष्ठभूमिका बुढाथोकी पनि भएकोले उनको जितभन्दा पनि हारमा पार्टी अध्यक्ष केपी ओली पक्षले सहज महसुस गर्ने एमालेभित्र नै चर्चा छ । “विवाद र समस्या जे भए पनि अहिले एमाले एक ढिक्का भएको छ । हामी सबै साथमा छौं,” मेयरका उमेदवार बुढाथोकीले दाबी गरे । 

एमालेभित्र पनि चरम विवाद र असन्तुष्टि रहेको गठबन्धनका नेता बताउँछन् । बुढाथोकी प्रदेशबाट तल आएको भन्ने एकथरी एमालेजनको असन्तुष्टि र वर्तमान उपमेयरको कमजोर प्रस्तुति अनि फेरि दोहोरिएको तुषको फाइदा आफूहरूलाई पुग्ने माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro