तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रधानमन्त्री निवासलाई दलगत कार्यका लागि प्रयोग गर्दा त्यसकाे व्यापक र चर्को आलोचना भएको थियो । त्यसकाे आलोचना हुनु स्वाभाविक थियो । कारण सरकारी सुविधा पार्टी विशेषका लागि प्रयोग गर्नु अख्तियारकाे दुरुपयोग हो ।
नेपाली कांग्रेसका केही नेताले पनि त्यतिबेला बालुवाटारलाई नै पार्टी कार्यालयजस्तो बनाउने ओलीकाे अभ्यासकाे चर्को आलोचना गरेका थिए । त्यतिमात्र होइन कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै पार्टीका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्ने निर्णय सार्वजनिक गरिएकाे थियो ।
सुरुमा प्रधानमन्त्री निवासमा पार्टीका कार्यक्रम पनि गरिएन । धेरैले कांग्रेसकाे यस निर्णय र अभ्यासकाे सराहना पनि गरे । विडम्बना, यो निर्णय धेरै समय टिकेन । बिस्तारै पहिले गठबन्धनकाे र त्यसपछि कांग्रेसकै कार्यक्रम बालुवाटारमा फेरि हुन थालेका छन् ।
केही दिनअगाडि केही सिने कलाकारहरू नेपाली कांग्रेसमा प्रवेश गरे । राजनीतिक दल रोज्ने उनीहरूको स्वतन्त्रता हो । तर, उनीहरूलाई पार्टी प्रवेश गराउन कार्यक्रम भने प्रधानमन्त्री कार्यालयमा आयोजना गरियो । यो सही काम भएन ।
प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति भए पनि प्रधानमन्त्री निवास राज्यकाे सम्पत्ति हो । त्यसैले त्यहाँ दल विशेषकाे कार्यक्रम गर्नु उचित होइन । एमालेका अध्यक्षले प्रधानमन्त्रीका रूपमा गर्दा अनुचित ठानिएकाे काम कांग्रेस सभापतिले प्रधानमन्त्री हुनेबित्तिकै उचित ठहरिन सक्तैन ।
कलाकारहरूका रूपमा उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्थे भने त्यहाँ उनीहरूलाई प्रधानमन्त्री देउवाले स्वागत गर्दा कसैले आलोचना गर्ने थिएन । तर, उनीहरू त त्यहाँ नेपाली कांग्रेसमा प्रवेश गर्न न गएका थिए ।
ती कलाकारहरूलाई कांग्रेसकाे पार्टी कार्यालय अन्य कुनै ठाउँमा कार्यक्रम गरेर पार्टी प्रवेश गराइएकाे भए कसैले पनि आलोचना गर्ने थिएनन् । चुनावका बेला विधि र पद्धति मिचेर सभापति देउवाले दिएको उदाहरण पक्कै पनि सराहनीय होइन ।
सभापति देउवा वा अध्यक्ष ओलीकाे गलत प्रवृत्तिकाे मूल्य उनका दलका असल कार्यकर्ताले चुक्ता गर्नुपर्ने हुनसक्छ । यसैले कार्यकर्ताहरूले पनि नेताका गलत व्यवहारकाे आलोचना गर्न हिचकिचाउनु हुँदैन । आशा गरौँ, राज्यको सम्पत्तिलाई व्यक्ति वा दल विशेषको स्वार्थमा दुरुपयोग गर्ने प्रवृत्ति अब दोहोरिने छैन ।