यसपटकको स्थानीय निर्वाचनका दुईवटा महानगरका प्रमुखका उमेदवार बढी चर्चामा आए । एक जना भद्र अवज्ञाको उदाहरणका रूपमा र अर्का अभद्रताको दृष्टान्त बन्न पुगे ।
चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको सिद्धान्त निष्ठा र दृढता नेपाली कांग्रेसको ऐतिहासिक परम्पराअनुरूपको उल्लेखनीय उदाहरण बन्यो । यसैगरी काठमाडौं महानगरपालिका प्रमुखमा नेकपा (एमाले)का उमेदवार केशव स्थापितको ‘अभद्रता’ र आक्रोश पनि नकारात्मक उदाहरणका रूपमा स्थापित भयो ।
कुनैबेला आफूलाई ‘कालभैरव’का साधक पनि बताउने स्थापितको उद्दण्डता र अभद्रता नौलो वा अनौठो होइन । यसपटक उनको पुरानै रूप फेरि प्रकट भएको हो । पुराना अभद्रताहरू थाहा नपाउनेका लागि अहिलेकै उद्दण्डता पनि स्थापितका सम्बन्धमा धारणा बनाउन पर्याप्त हुन्छ । काठमाडौंका मतदाताको विवेकको कसी मतदानका दिन लाग्नेछ । यसैले अहिलेको चर्चा भद्र विद्रोही जगन्नाथ पौडेलमा केन्द्रित गरौँ ।
चितवन कांग्रेसको चाहना
सत्तारूढ गठबन्धनले निर्णय गर्नुअघि नै चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले यसपटक भरतपुर महानगरपालिका अरू पार्टीलाई दिन नसक्ने निर्णय गरेका थिए । उनीहरूले आफ्ना समर्थक र मतदाताको अठोट आग्रहका रूपमा केन्द्रका सबै नेतालाई अवगत पनि गराएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय कार्यकर्ताको चाहना र भावनाको उपेक्षा गरे । देउवाको सत्ता मोह सामु चितवनका कार्यकर्ताको अठोट र आग्रह टिक्न सकेन ।
दाहालको प्रतिष्ठा जोगाउन कांग्रेसको बलिदान
सत्तारुढ गठबन्धनका प्रमुख सेनापति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरको प्रमुख पदलाई प्रतिष्ठाकै विषय बनाए । हुन पनि उनकी छोरी त्यहाँ प्रमुख थिइन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले नै सघाएर रेणु दाहाललाई महानगरपालिका प्रमुखमा चुनाव जिताएको थियो । सत्ता गठबन्धन कायम राख्न जस्तोसुकै मूल्य चुक्ता गर्न पनि तम्सेका नेपाली काग्रेसका शीर्ष नेताहरूका लागि भरतपुरका कांग्रेसहरूको पीडा मूल्यहीन हुनु अस्वाभाविक भएन ।
जगन्नाथको भद्र अवज्ञा र कांग्रेसको कारबाही
गएको स्थानीय निर्वाचनमा माओवादीकी उमेदवारलाई जबर्जस्ती मत दिन लगाइएपछि अर्धमुर्च्छित अवस्थामा रहेको चितवनमा कांग्रेसको अस्तित्व र कार्यकर्ताको मनोबल बचाउन सम्भवतः जगन्नाथ पौडेलको उमेदवारी ‘सञ्जीवनी’ हुनसक्छ । यही गुन नेपाली काग्रेसले पौडेलसँगै पञ्चायत कालमा चितवन कांग्रेसका पर्याय बनेका कृष्णलाल सापकोटालगायतका ‘सतीसाल’जस्ता निष्ठावान् नेतालाई निष्कासन गरेर तिरेको छ ।
पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिए यसरी सदस्यता खोस्नु पनि स्वाभाविकै होला । तर, भरतपुर महानगरपालिका प्रमुखमा त नेपाली काग्रेसको कोही उमेदवार छैनन् । जगन्नाथले एमालेसँग गठबन्धन गरेका पनि हैनन् । यसैले उनलाई पार्टीबाट निष्कासन गर्ने वैधानिक अधिकार सभापति देउवालाई छैन ।
गठबन्धनको आदेश स्वीकार नगर्दा पनि पार्टीले कारबाही गर्नसक्ने प्रावधान सम्भवतः नेपाली कांग्रेसको विधानमा पनि छैन । पौडेलको उमेदवारी नेपाली कांग्रेसको सिद्धान्त र आदर्शविपरीत पनि छैन । यसैले पौडेल, सापकोटा र चितवन कांग्रेसका अरू नेतामाथि गरिएको कारबाही अनैतिक र अलोकतान्त्रिक देखिन्छ । यसै पनि कांग्रेस केन्द्रीय समितिले त तालमेलको अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको हो । केन्द्रीय समितिको निर्णय उल्ट्याउन त महासमितिले मात्र सक्नुपर्ने हो ।
देउवा र दाहालको हैकम नि !
गठबन्धनका नेताहरू यसपटकको निर्वाचनलाई प्रतिगमन विरुद्धको युद्धका रूपमा चित्रण गर्न खोज्दैछन् । भैगो उनीहरूका कुरा एकछिन मानौला । ओलीको हैकमी शैली प्रतिगमन हुने र देउवा, दाहालको हैकम लोकतान्त्रिक हुने त पक्कै होइन होला । ओलीको हैकमविरूद्ध विद्रोह गरेको दाबी गर्नेहरूले पनि हैकम चलाउनै खोजे भने स्वाभिमानी नागरिकलाई कसरी सह्य होला र ?
नैतिकरूपमा जितिसके जगन्नाथले !
चुनावमा जगन्नाथ पौडेलको भद्र अवज्ञाको कति सम्मान होला त्यो मतदानपछि थाहा हुनेछ । परन्तु, कांग्रेसका कार्यकर्ता र समर्थकमात्र होइन जनसाधारणको मन भने उनले अहिले नै जितिसकेका छन् । उनमा धेरैले सच्चा कांग्रेसको छवि देखेका छन् । अर्थात्, पार्टीका पदाधिकारी उनीसँग नैतिकरूपले पराजित भएका छन् । उनलाई फकाउने, तर्साउने, धम्क्याउने धेरै चलखेल गर्दा पनि डगाउन नसकेपछि पक्कै पनि नेताहरू आत्मग्लानिले स्वयं विचलित भए होलान् ।
‘जो गलतलाई गलत भन्न सक्दैन त्यो कार्यकर्ता हुन सक्दैन’- कांग्रेसबाट निष्कासनमा परेका भरतपुर मेयरका स्वतन्त्र उमेदवारः जगन्नाथ पौडेल pic.twitter.com/5vMOVzZuGT
— Manavi Paudel (@ManaviPaudel) April 30, 2022
र अन्त्यमा
कांग्रेसका नेताहरूलाई लागेको होला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला मिलेर निर्णय गर्दा त सबैले मान्थे । अहिले पनि किन नमान्ने रु गुरुले अभक्ष भोजन गरेको देखेपछि चेलाहरूले पनि खाइदिएछन् । केहीपछि गुरुले सबै बान्ता गरेर फालिदिए । चेलाहरू गुरुको हैसियतमा पुगेका थिएनन् । उनीहरूले फाल्न सकेनन् र गुरुको श्राप भोगे भन्ने कथा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले स्मरण गरे हुन्थ्यो ।