स्थानीय तहको निर्वाचनमा उमेदवारी दर्ता गराउनमा देखिएको उत्साह लोकतन्त्रप्रतिको समर्थन र आकर्षणको उदाहरण हो । स्थानीय तहका ३५ हजारभन्दा बढी पदमा १ लाख ३६ हजार बढीले उमेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभाका सदस्यहरूले राजीनामा गरेर स्थानीय तहमा उमेदवारी दिएकाले पनि स्थानीय सरकारको महत्त्व र आकर्षण स्पष्ट हुन्छ । यसले देशले अपनाएको शासन पद्धतिमाथि औँला उठाउनेहरूलाई पनि उत्तर दिएको हुनुपर्छ ।
व्यवस्थाकै विरोध गर्नेहरूदेखि कुनै बेला राष्ट्रिय अखण्डतामा प्रश्न उठाउने समूहसम्मले उमेदवारी दिएर निर्वाचनमा सहभागिता जनाएका छन् । मूलधारका राजनितिक दलहरू र लोकतन्त्रका पक्षधर नागरिकका लागि पनि यो सन्तोषको विषय हो ।
मनोनयनमा देखिएको उत्साह जति सकारात्मक छ मूलतः प्रमुख राजनीतिक दलका कार्यकर्तामा देखिएको असहिष्णु व्यवहार र उद्दण्डता भने उत्तिकै चिन्ताको विषय बनेको छ । उमेदवारी सम्बन्धमा भएको झडप, मारपिट र सरकारी भवनको तोडफोड निन्दनीय विषय हो ।
सबै प्रमुख दलका कार्यकर्ता कुनै न कुनै जिल्लामा हुलदंगामा संलग्न भएका छन् । निर्वाचनजस्तो लोकतान्त्रिक अभ्यासका क्रममा यस प्रकारको तामसी प्रवृत्ति देखिनुलाई सामान्य आवेशमात्र भनेर पन्छाउन मिल्दैन ।
यस्तै सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाको नेकपा (एमाले)का उमेदवारको उपमेयर पदमा गरिएको मनोनयन हेरफेर गर्न निर्वाचनका लागि खटिएका कर्मचारी नै संलग्न भएको आरोप अरू दलका प्रतिनिधिले लगाएका छन् । यसले निर्वाचनको निष्पक्षतामै सन्देह उब्जाएको छ ।
यथार्थमा यो अत्यन्त गम्भीर आरोप हो । निर्वाचन आयोगले बेलैमा आरोपको छानबिन गरेर सम्बन्धित कर्मचारी दोषी पाइएमा उचित कारबाही गरोस् । साथै, छानबिनका सम्बन्धमा पारदर्शीरूपमा जनतालाई जानकारी गराओस् ।
दलका नेताहरूलाई कसरी धेरै स्थानमा चुनाव जित्ने भन्ने चिन्ता हुनु स्वाभाविकै हो । चुनाव जित्नैका लागि उमेदवार छान्दा नै कतिपय स्थानमा ‘दबंग’ बाहुबलीहरूलाई अगाडि सारेको देखिएको छ । बाहुबलीलाई हराएर जनताले आफ्नो विवेकको परिचय पक्कै दिनेछन् ।
जनताको सबैभन्दा नजिक रहने स्थानीय सरकार चलाउन निष्ठा र नैतिकतामै प्रश्न उठेका दागी व्यक्तिलाई अगाडि सार्न पनि दलहरू हिचकिचाएनन् । यथार्थमा यो राजनीतिक दलका नेताहरूको निष्ठा र नैतिकताको चरम पतन हो ।
गठबन्धनको प्रयास खासै सफल भएन । विशेषगरी केन्द्रीय नेताहरूले तजबिजमा गरेका अपारदर्शी निर्णयका विरुद्ध निष्ठावान् कार्यकर्ताले विद्रोह गर्दै केही स्थानमा उमेदवारी दिएका छन् । यसलाई अनुशासनहीनता भन्नु अन्याय हुन्छ ।
गठबन्धनका नेताहरूले अन्तिम समयसम्म तालमेलको प्रयास जारी राख्ने बताएका छन् । यो दलका नेता र कार्यकर्ताका बीचको विषय हो । तर, उमेदवारी फिर्ता गराउन अनैतिक र अलोकतान्त्रिक उपाय अपनाइएको देखियो भने त्यो जनताका लागि पक्कै असह्य एवं अस्वीकार्य हुनेछ ।
मतदातालाई मूर्ख ठान्ने र बनाउन खोज्ने प्रयत्न दलका नेताहरूले नगरे नै उनीहरूका लागि उत्तम हुनेछ । निर्वाचनमा देखिने फोहोरी क्रियाकलापमाथि नागरिकहरूले पनि निगरानी गरिरहनुपर्छ । नागरिकको सचेतता र सावधानीमा नै लोकतन्त्रको सफलता निर्भर हुन्छ ।