ठूला भनिएका राजनीतिक दलहरूस्थानीय तहको निर्वाचनमा उमेदवार छान्न पनि अन्तिम समयसम्म तानातान गर्दैछन् । आज अपराह्न ५ बजे मनोनयन दर्ताको समय सकिने भए पनि अधिकांश पालिकामा उमेदवारको नाम टुंगो लागेको छैन ।
उमेदवार छान्दा जनमतको कदर गर्ने परम्परा बसालेको भए सम्भवतः यस्तो लठबज्र हुने थिएन । गठबन्धनको चक्करमा ‘घिउ र तरबार बेच्ने प्रवृत्ति’ नदेखाएको भए पनि यस्तो भोरजुवा मच्चिने थिएन ।
भन्छन्, ‘बिहानले दिनको लक्षण देखाउँछ’ । उमेदवारीसम्म पनि बेलामा टुंगो लगाउन नसक्ने दलहरूले निर्वाचनपछि देश चलाउँछन् भनेर कसरी पत्याउने रु सम्भवतः अस्तव्यस्तता र अव्यवस्थामा नेपालका राजनीतिक दलहरू संसारमै पहिलो पङ्क्तिमा पर्लान् ।
पहिलो त स्थानीय तहका कार्यकर्तामाथि जबर्जस्ती गठबन्धनको भारी बोकाइयो । यसले अधिकांश स्थानमा कार्यकर्तालाई निराश र आक्रोशित बनायो । त्यसमाथि केन्द्रले हस्तक्षेप गर्दा थप भद्रगोल भएको देखियो ।
दलका शीर्ष नेताहरूले उमेदवारी वितरणलाई बपौती ठानेका रहेछन् । स्थानीय यथार्थ र कार्यकर्ताको भावनाको उपेक्षा गरेर आफ्ना कृपापात्रलाई अगाडि सार्ने काम भएको छ । प्रतिस्पर्धी नेता वा कार्यकर्ताको तेजोबध गर्ने खेल पनि उमेदवारी चयनमा देखिएको छ ।
गठबन्धनको छलफलमा हप्तौं बिताएपछि दलहरू अहिले कतिपय जिल्लामा एक्लाएक्लै चुनाव लड्ने निष्कर्षमा पुगेका छन् । गठबन्धन गरिएका जिल्लाहरूमा उमेदवारी दर्ता सुरु हुँदासम्म पनि छलफल टुंग्याउन सकेका छैनन् ।
आशा गरौँ, उमेदवारी दर्ता गर्ने समय छँदै दलहरूले उमेदवार तय गरिसक्नेछन् । दलहरूले उठाउने उमेदवार कम्तीमा स्वच्छ छविका र नैतिक पतन हुने बात नलागेका हुनेछन् । दलहरू नभए पनि उमेदवारहरू जनताप्रति उत्तरदायी हुनेछन् ।