भ्लादिमिर पुटिनकाे रुसी युद्धकाे परिणाम अझै अस्पष्ट नै भए पनि रुसकाे आक्रमणले युरोपियन सुरक्षा व्यवस्थामा भने महत्त्वपूर्ण परिवर्तन भइसकेकाे छ । आधुनिक युरोपकाे इतिहासमा त यस आक्रमणकाे तुलना सन् १९३९ काे सेप्टेम्बरमा हिटलरले पोल्यान्डमा गरेकाे आक्रमणसँगमात्र हुन्छ । यी दुवै घटना छिमेकी मुलुककाे अस्तित्व नै समाप्त पार्ने उद्देश्यले गरिएका भीषण आक्रमण हुन् । हिटलरले पोल्यान्डकाे स्वतन्त्र अस्तित्वकाे अस्वीकार गरेका थिए भने पुटिन स्वतन्त्र युक्रेनकाे वास्तविकता स्वीकार्न तयार छैनन् ।
पुटिनकाे आक्रमण युरोपियन सरकारहरूका लागि ठूलाे झड्काका रूपमा आयाे । अधिकांश युरोपियन नेताहरूले कुनै पनि समय आक्रमण हुनसक्ने अमेरिकी चेतावनीलाई हल्का रूपमा लिएका थिए । उनीहरूकाे तर्क थियाे पुटिनकाे भर नभए पनि उनले यस्तो मूर्खतापूर्ण काम पक्कै गराेइनन् । युरोपियन युनियनकाे विदेश मामिला तथा सुरक्षा नीतिसम्बन्धी वरिष्ठ प्रतिनिधि जोसेफ बोरेललाई सन् २०२१ काे सुरुमा मस्को भ्रमणमा जाँदा निकै रुखो व्यवहार गरियाे । परन्तु, अधिकांश युराेपियन सरकारहरू अझै पनि कूटनीतिक माध्यमबाट सम्बन्ध स्थिर राख्न सकिन्छ भन्ने नै ठान्छन् ।
याे भ्रम यही वर्षकाे फरबरी २४ मा चकनाचुर भयाे जुन युरोपका लागि ‘सेप्टेम्बर ११’ (न्यु योर्ककाे ट्विन टावरमा आक्रमण) हुन पुग्यो - दुई परिणामसहित सतर्कताका लागि विश्वव्यापी भूराजनीतिक आह्वान । पहिलो युरोपभर सैनिक खर्चमा वृद्धि हुने भयाे । वर्षौंकाे आनाकानीपछि युराेपमा नाटोका लगभग सबै सदस्य रक्षामा कुल राष्ट्रिय उत्पादनकाे २ प्रतिशत रकम लगानी गर्ने सहमतिमा एक भए । युराेपकाे सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले एकै वर्षमा कुल राष्ट्रिय उत्पादनकाे ०.५ प्रतिशत रक्षा खर्च बढाउनेछ ।
दोस्रो धेरै वर्षपछि नाटाेकाे विभिन्न तरिकाबाट सुदृढीकरण हुनेछ । रुससँग सीमा जोडिएका सदस्य राष्ट्रहरूमा सैनिक उपस्थिति बढाउनुसाथै गठबन्धनले फिनल्यान्ड र स्विडेनलाई पनि नाटोमा सामेल गर्ने भएकाे छ । दुवै मुलुकले २०१४ मा क्रिमिया रुसमा विलय र पूवी युक्रेनमा अतिक्रमणपछि नाटोसँग सम्बन्ध बढाएका थिए तर अहिले विधिवत् सदस्यता लिन आवेदन दिएका छन् ।
रूसले रातारात आफ्नाे साम्राज्यवादी आकाक्षा पूरा गर्न सेना प्रयाेग गरेपछि फिनल्यान्ड र स्विडेनलाई फरबरी २४ले नयाँ सुरक्षा अवस्थामा पुर््यायाे । फिनल्यान्डले सन् १९३९ - ४० मा सोभियत संघसँग युद्ध लडेकाे र रुसियन साम्राज्यकाे अङ्गका रूपमा सन् १९१७ भन्दा अगाडि एक शताब्दीसम्म बिताइसकेकाले युक्रेनमाथिकाे आक्रमणले यसका नेताहरूलाई तत्कालै नाटोकाे सदस्यता लिन सहमत गरायाे ।
फिनल्यान्डकाे आफ्नै पहिले साेभियत सघ र पछि रुससँगकाे नाजुक सम्बन्धका कारण स्विडेन पनि नाटाे गठबन्धन बाहिरै रहेकाे थियाे । नर्वे र डेनमार्कलाई सन् १९४० काे दशकको अन्त्यतिर गठबन्धनमा सामेल गरिएपछि स्विडेनले आफ्नै सशक्त सुरक्षा फौजका बलमा शीतयुद्धमा तटस्थताकाे नीति अपनाएकाे थियाे ।
सोभियत संघकाे पतनपछि फिनल्यान्ड र स्विडेन १९९५ मा युराेपियन युनियनमा सामेल भए बिस्तारै उनीहरूले नाटाे र त्यससँगै अमेरिकासँग सम्बन्ध गहिराे बनाउँदै लगे । नाटोकाे पूर्ण सदस्यता भने केही पछिकाे सम्भावना मानिन्थ्यो । हुनत, फिनिस र स्विडिस जनमत बिस्तारै त्यस विचारसँग सहमत हुँदै गएकाे थियाे बहुमत भने या त सशंकित थियाे न भए विराेधमा थियो ।
परन्तु, फरबरी २४ ले सन्तुलन खलबल्याइदियाे । केही आन्तरिक राजनीतिक प्रक्रिया बाँकी रहे पनि यसै वर्षकाे जुनमा मेड्रिडमा हुने नाटोकाे वार्षिक सम्मेलनभन्दा पहिले नै दुवै मुलुकले गठबन्धनकाे पूर्ण सदस्यताका लागि आवेदन दिने अब निश्चित प्रायः भएकाे छ । हालैका साताहरूमा जनमतमा नाटकीय परिवर्तन भएकाे छ । स्विडेनमा पूर्व कम्युनिस्ट पार्टी र ढुलमुले ग्रिन पार्टीबाहेक अरू सबै ठूला राजनीतिक दलहरू सदस्यता लिने पक्षमा छन् भने फिनल्यान्डका त सबै राजनीतिक दलहरूले आफ्नाे समर्थन जनाइसकेका छन् । पुटिनकाे साम्राज्य खडा गर्ने दुःस्वप्नका कारण ठूलो राजनीतिक उथलपुथल भएकाे छ ।
नाटोमा फिनल्यान्ड र स्विडेनकाे सम्मिलनले युराेपेली सुरक्षा संरचनालाई महत्त्वपूर्ण दुई रूपमा परिवर्तन गर्नेछ । पहिलाे उत्तरी युरोपले क्षेत्र व्यापी सुरक्षा समन्वयकाे उल्लेख्य क्षमता हासिल गर्नेछ । स्विडेन र फिनल्यान्डले नेटाेलाई महत्त्वपूर्ण नयाँ क्षमता उपलब्ध गराउनेछन् । नर्वेमा आयोजित वायु सेनाकाे नियमित तालिमकाे अभ्यासमा यो क्षमता देखिइसकेकाे पनि छ । यस अतिरिक्त, नाटोसँग बाल्टिक सागरकाे नियन्त्रणमा ठूलाे क्षमता हासिल हुनेछ जसबाट इस्टोनिया, लाटभिया र लिथुआनियालाई सुरक्षा सहयाेग गर्न मद्दत पुग्नेछ ।
दोस्रो, स्विडिस र फिनिस सदस्यताले नाटोभित्र युरोपियन जग थप बलियाे हुनेछ । यी दुवै मुलुक युरोपकाे रक्षा तथा सुरक्षा आयामलाई सुदृढ बनाउन उत्प्रेरक हुनेछन् भने बेलायतसँग युरोपेली युनियनकाे महत्त्वूर्ण सुरक्षा सम्बन्ध विकासलगायत एटलान्टिक वारपारकाे सम्बन्ध सुदृढ बनाउन सहयोगी हुनेछन् । नाटोले भौगोलिक सुरक्षाकाे सुनिश्चित गर्नेछ भने युरोपेली युनियन महत्त्वपूर्ण सुरक्षा गठबन्धन बन्नेछ र दुवैका बीचमा समन्वय गहिराे हुनेछ ।
हेर्नुपर्ने एउटा महत्त्वपूर्ण घटना डेनमार्कमा जुन १ मा युरोपियन युनियनकाे रक्षा तथा सुरक्षा नीतिमा सम्मिलित हुन लगाइएकाे प्रतिबन्ध हटाउने विषयमा हुने जनमत सङ्ग्रह हुनसक्ने देखिन्छ । यस्ता अवरोधहरू सन् १९९० काे दशककाे प्रारम्भदेखि नै विवादग्रस्त रहिआए पनि डेनमार्कसँगै स्विडेनले रक्षा खर्च कुल गार्हस्थ्य उत्पादनकाे २ प्रतिशत पुग्ने गरी बढाउन प्रतिबद्धता प्रकट गरिसकेका छन् ।
यी दुवै कदमहरूसँगै चालिएपछि नर्डिक-बाल्टिक क्षेत्रकाे सुरक्षा सम्भावनालाई उल्लेख्यरूपमा सुदृढ बनाउनेछन् । क्रेमलिन साम्राज्य विस्तारकाे अहिलेकाे बाटो रहुन्जेल बलियाे सुरक्षा व्यवस्थाकाे आवश्यकता महत्त्वपूर्ण रहिरहनेछ । साथै, उत्तरी युरोपियनहरू महत्त्वपूर्ण स्रोत र स्विडेन तथा फिनल्यान्डकाे नजिक आर्थिक केन्द्र भएको रुस नचिडियाेस् भनेर पनि सावधान रहिरहनुपर्छ । रुसकाे द्रोस्रो ठूलो सहर तथा प्रमुख औद्योगिक क्षेत्र सेन्ट पिटर्सबर्गका साथै कोला पेनिनसुला रुसियन सबमेरिनकाे आधारक्षेत्र हाे भने विश्वकै सबैभन्दा धेरै आणविक हतियार थुपारिएकाे ठाउँ पनि हो ।
रसियन नेताहरू उनीहरूकाे साम्राज्यकाे परियाेजनालाई ‘जीवन र मृत्युकाे सङ्घर्ष’ भन्ने गर्छन् । उनीहरूकाे यस चरित्रलाई गम्भीरतापूर्वक लिँदा फिनल्यान्ड र स्विडेनले नाटोकाे सदस्यतालाई रणनीतिक छनोटका रूपमा हेर्न सक्तैनन् । फरबरी २४ यता याे अस्तित्वकै प्रश्न बनी जो सकेकाे छ ।
(स्विडेनका पूर्वप्रधानमन्त्री)
Copyright: Project Syndicate, 2022.