विसं २०६३ को वैशाख ११ गते तत्कालीन राजाले नेपालको सार्वभौम सत्ता जनतामा निहित भएको स्वीकार गरेका थिए । गणतन्त्रको घोषणा त्यही आन्दोलनको प्रतिफल हो ।
वैशाख ११ यथार्थमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ जत्तिकै उल्लेख्य महत्त्वको दिन हो । तर, शासकहरूमै लोकतान्त्रिक प्रतिबद्धता नभएका कारण यस दिनको उपेक्षा गरियो ।
लोकतन्त्रलाई जनताको जीवनशैली बनाउने प्रयास भएन । न लोकतान्त्रिक संस्कारको विकास गर्ने प्रयास भयो न लोकतन्त्रको प्रतिफल नै जनसाधारणसम्म पुग्न सकेको अनुभूति भयो ।
अहिले जनसाधारणमा निराशा बढेको छ । विशेषगरी राजनीतिक दलका नेताहरूले पनि राजसी जीवनशैली अपनाएकोमा जनतामा चर्को गुनासो छ । तर, यसको अर्थ नेपाली जनता लोकतान्त्रिक पद्धतिकै विरोधमा छन् भन्ने भने होइन ।
नेपाली समाजका केही ‘ठालुहरू’लाई लोकतन्त्र पचाउन कठिन भएको देखिन्छ । कुलीनतन्त्रको अधिनायकवादी शासनका मतियारहरू जनताको निराशालाई लोकतन्त्रविरुद्ध आक्रोश बनाउने सपना देख्न थालेका छन् । उनीहरू जनतालाई सायद २०१७ सालमा जसरी नै दिग्भ्रमित बनाउन चाहँदा हुन् ।
लोकतन्त्रका पक्षधरहरूमा अधिनायकवाद समर्थक नौरंगी पात्रहरूको नियत बुझ्ने र तिनीहरूबाट सावधान हुने सुझबुझ पनि देखिएन । यसैले राजनीतिक विदूषकहरू अनेकौं अवतारमा बेलाबखत प्रकट भइरहेका देखिन्छन् ।
लोकतन्त्र विरोधीहरूले समावेशिता, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि आक्रमण गर्दा पनि शासकहरू भने तमासे बनेका छन् । उनीहरू न तिनका तर्कको प्रतिवाद गर्छन् न आफ्नो जीवनशैली र सोच नै बदल्छन् ।
नैतिकरूपमा कमजोर भएका कारण राजनीतिक दलका नेताहरूले ठाडो शिर गर्न नसकेको हुनसक्छ । यस्तै, राजनीतिक दीक्षा नै ‘अधिनायकवादी’ भएकाहरूले सैद्धान्तिक प्रतिवाद गर्न नसक्नु पनि अस्वाभाविक होइन ।
देश लोकतन्त्रका मार्गबाट पछाडि फर्कन सक्तैन । लोकतन्त्रको स्वाद चाखिसकेको नेपाली समाजले अब कसैको अधिनायकवादी हर्कत स्वीकार गर्नेछैन । त्यसैले अब लोकतान्त्रिक संस्कार, मूल्य मान्यता एवं परम्परालाई जीवनशैली बनाउनेतर्फ सबैको ध्यान जानुपर्छ ।
जनसाधारणसमेतले लोकतन्त्रको मर्यादा राखेमात्र लोकतान्त्रिक पद्धति सफल हुन्छ । लोकतान्त्रिक प्रणालीले मात्र जनताको कल्याण गर्न सक्छ । लोकतन्त्र दिवसमा देशमा लोकतान्त्रिक विधि र प्रक्रियाको सम्मान हुने अवस्था आओस् भन्ने शुभकामना !