काठमाडौं । सन्तोषी श्रेष्ठ र मुकेशबहादुर पालले शनिबार मदन भण्डारी स्मृति पाँच किलोमिटर रोड रेस तेस्रो संस्करणको उपाधि जितेका छन् ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकी सन्तोषीले निर्धारित दूरी १८ मिनेट १३.५९ सेकेन्ड मा पूरा गरिन् । १३औँ सागमा रजतपदक जित्न सफल पुष्पा भण्डारीले १८ मिनेट ४२.४५ सेकेन्डमा दूरी पूरा गर्दै रजत जितिन् । कास्यपदक जित्न सफल निर्मला केसीले १९ मिनेट ४४.४३ सेकेन्डका दूरी पूरा गरिन् ।
रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन् । गजेन्द्र राईले १५ मिनेट ४०.४० सेकेन्डमा दूरी पूरा गर्दै रजतपदक जिते । १५ मिनेट ४३.०९ सेकेन्डमा दूरी पूरा गरेका श्रीकास राई तेस्रो भए ।
स्वर्ण जित्ने खेलाडीले २५ हजार, रजत जित्नेले १२ हजार र कास्यपदक जित्नेले आठ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए । उनले १७ मिनेट ०९.०७ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । ईश्वरचन्द्र बस्नेतले १७ मिनेट २३.१६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए । विकेश घिमिरेले १७ मिनेट २८.०८ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो स्थान हासिल गरे ।
छात्रातर्फ सरस्वती बोहराले निर्धारित दूरी २० मिनेट ३५ सेकेन्डमा पूरा गरी पहिलो भइन् । दोस्रो हुन सफल सोनु घतानी २१ मिनेट ५६.३० सेकेन्डमा दूरी पूरा गरिन् । अन्जु खड्काले २२ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।
स्कुलतर्फ छात्र र छात्रामा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार जिते ।