site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
गल्कोट नगरपालिकामा मेरो पुनः उमेदवारी किन?

सुन्दर नगरी गल्कोटको संस्थापक नगर प्रमुख हुन पाउनु आफैँमा गौरवको विषय हो । मलाई २०७४ सालको स्थानीय निर्वाचनमा नै त्याे गौरव प्राप्त भयो । मेरो लोकतान्त्रिक निष्ठा, निरङ्कुश सत्ताविरुद्धकाे आन्दोलनमा खर्चेको मेरो तन, मन, धन, उमेर र गल्कोट एवं यस क्षेत्रको लागि म र मेरो परिवारले  समेत  गरेको पुस्तौनी सेवाको मूल्याङ्कन गरेर मेरो मातृ पार्टी नेपाली कांग्रेसको  केन्द्रीय, प्रदेश , जिल्ला र स्थानीय नेतृत्वले मलाई गरेको विश्वास र गल्कोटे जनताले दिएको न्यानो मायाको पुरस्कार थियो त्याे जिम्मेवारी भन्नुमा मलाई गर्व छ । गल्कोट र गल्कोटवासी जनताको सेवाको लागि पाएको जिम्मेवारी मैले बितेका पाँच वर्षमा इमान र निष्ठापूर्वक पूरा गरेँ भन्ने मलाई लागेको छ ।

परन्तु, नयाँ नगरपालिकाको अपुरो संगठनात्मक संरचना, देशले भर्खर भर्खरमात्र सुरु गरेको संघीयताको अभ्यास, समग्र देशकै निजामती सेवामा भएको पुनर्संरचना र त्यसले व्यवस्थित गर्न तथा उकास्न नसकेको कर्मचारीको उत्साह र मनोबल, जनप्रतिनिधि स्वयंको अनुभवको सीमितता र सीमित साधन स्रोतजन्य बाध्यता तथा जनताको चुलिँदो आकांक्षा  बीच सोचे जति र गर्नुपर्ने जति काम गर्न नसकिएको पनि छ होला । त्यसको लागि मैले गल्कोटे जनता सामु क्षमाप्रार्थी हुनै पर्छ । क्षमा याचनासँगै म के पनि भन्न चाहन्छु भने गर्न नसकिएका र अधुरा कामको लागि मैले मेरो क्षमताले भ्याएसम्म मेरो व्यक्तिगत, पारिवारिक वा अन्य कुनै कारणले  हेल्चक्य्राइँ नगरी र एकपल पनि समय खेर नफाली लगातार लागी नै रहेँ ।  मैले यो पाँच वर्षमा जे गरेँ गल्कोट र गल्कोटबासीकै लागि गरेँ भन्नेमा मलाई आत्मसन्तुष्टि छ ।

यस अवधिमा गल्कोट नगरपालिकाले शिक्षा, स्वास्थ्य, मातृशिशु स्वास्थ, ज्येष्ठ नागरिक सेवा, पर्यटन, पूर्वाधार कृषि, सामाजिक विकासलगायत अन्य क्षेत्रमा उल्लेख्य काम गरेको छ । आर्थिक अनुशासन, वित्तीय सुशासन, सेवा प्रवाहमा सुशासन, शांतिसुरक्षा कायम गर्नु  र लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा टेवा पुराउनु हाम्रो यस कार्यकालको मुख्य उद्देश्य रह्यो । फलस्वरूप सुशासन, वित्तीय अनुशासन, भौतिक पूर्वाधार निर्माण, जनतालाई गरिएको सेवा प्रवाहमा सहजीकरणजस्ता मापदण्ड राखेर नेपाल सरकारले गरेको देशभरिका नगरपालिकाहरूको मूल्यांकन र स्तरीकरणमा देशभरमा सातौं र गण्डकी प्रदेशमा दोस्रो स्थानमा रहन सफल भएर पुरस्कृत समेत भयौँ । अथक प्रयास गर्दागर्दै पनि नगरपालिकाको आफ्नै भवन निर्माण (शिलन्यास भैसकेको छ ), केही वार्डहरुमा बाटोघाटो, केही विद्यालयहरूको क्षमता वृद्धि, पर्यटकीय स्थलहरुको सबलीकरण, सुविधा सम्पन्न अस्पताल निर्माणलगायतका कार्य भने पूरा हुन सकेनन् । तर पनि तिनको लागि सुरुआती पूर्वाधार तयार गरिएका छन् ।

KFC Island Ad
NIC Asia

लोकतान्त्रिक पद्धतिप्रति निष्ठावान र विकासप्रेमी व्यक्तिले आफ्नो निष्ठाको मूल्यांकन र आफ्नो मानसपटलमा भएका आफ्नो गाउँठाउँ सुहाउँदो विकासको मोडेल लागु गरेर मातृभूमिको ऋण तिरेर  बिश्राम लिन खोज्नुलाई अन्यथा मानिनु हुँदैन । म आफू पनि त्यसबाट टाढा छु भन्दिन । त्यसको लागि उपयुक्त ठाउँ भनेको जनप्रतिनिधि भएर राज्यको स्रोत र साधन परिचालन गर्नसक्ने हैसियतमा पुग्नु नै हो । मैले एकपटक त्यो मौका प्राप्त गरिसकेँ र त्यसमा खरो उत्रेँ भन्ने आत्मबोध मलाई छ ।

मेरो मातृ पार्टी नेपाली कांग्रेस यसपटक अन्य दलहरुसँग सहयात्रा/गठबन्धन गरेर स्थानीय चुनावमा होमिन लागेको छ । आवधिक निर्वाचन, स्वतन्त्र र भयरहित वातावरणमा मतदान र आफ्ना जनप्रतिनिधिको विवेकपूर्ण छनौट लोकतन्त्रका गहना हुन् । प्रजातन्त्रको पुनःप्राप्तिपछि नेपाली जनताले आफ्नो त्यो अधिकारको प्रयोग गर्दै आइरहेका पनि छन् । केही प्रतिकूल परिस्थिति र अवस्थाबाहेक नेपाली जनताले लोकतन्त्रको सहज अभ्यास निरन्तररूपमा गर्दै चुनावमा भाग लिएर प्रतिस्पर्धामा उत्रिएका राजनीतिक दलहरुलाई उनीहरुको योगदानअनुसारको स्थान दिँदै आएका पनि छन् । 

Royal Enfield Island Ad

निर्वाचनमा सबै राजनीतिक दलले आआफ्नै घोषणापत्रका आधारमा मत माग्ने र जनताले उनीहरुको स्थान देखाई दिने प्रक्रिया नै सबैभन्दा उत्तम प्रक्रिया भएकोमा कसैको दुई मत नहोला । तर, देश अझै पनि संक्रमणकालीन अवस्थाबाट पूर्णरूपेण मुक्त भई नसकेको र द्वन्द्वकालीन समयमा भएका घटनाको सत्य निरुपण हुन बाँकी रहेको अवस्थामा सक्रिय राजनीतिक दलहरुबीचको सौहार्दपूर्ण मेलमिलाप र गठबन्धनको सम्भावनालाई पूर्णरुपेण निषेध गर्न सकिने अवस्था पनि छैन । त्यसैले हाल सरकारमा रहेका दलहरुबीचमा स्थानीय आवश्यकताअनुसार गठबन्धन गरेर चुनावमा जाने निर्णय स्वागत योग्य नै छ । भलै यसको दीर्घकालीन प्रभावका बारेमा अहिले केही भन्न नसकिएला तर गठबन्धनका नाममा आफ्नो धरातलीय यथार्थ बिर्सेर आफ्नो सामर्थ्यभन्दा ज्यादा दाबी गर्ने र गठबन्धनलाई नै आफ्नो गुमेको वा नभएको शक्ति आर्जन गर्ने माध्यम बनाउने कोसिस गर्नुले राम्रो परिणाम नदिने र कसैको पनि हित नहुने  हुनसक्छ । हाम्रो गल्कोटको सन्दर्भमा हेर्ने हो भने विगतको परिणामलाई सामुन्ने राखेर नेपाली कांग्रेसको नेतृत्वमा विगतमा प्राप्त सफलताको आधारमा समानुपातिकरूपमा गठबन्धनको लागि अन्य पदहरुमा भागबन्डा गर्नु र सबैले चित्त बुझाउनुमा नै सबैको कल्याण छ भन्ने मेरो बुझाइरहेको छ ।

एक कार्यकाल नगर प्रमुख भएर काम गर्दा पाँच वर्षको समय हाम्रो देशको परिस्थितिअनुसार केही उल्लेख्य काम गर्न काफी हुँदोरहेनछ भन्ने आत्मबोध पनि मलाई हुन गयो । त्यही महसुस गरेर नै होला संविधानले पनि स्थानीय जनप्रतिनिधिले एउटै पदमा दुई कार्यकालसम्म रहेर काम गर्न सक्ने व्यवस्था गरेको छ । 

आफूले सुरु गरेका भौतिक र सामाजिक विकासका कामलाई तार्किक निष्कर्षमा पुराएर विश्राम लिने इच्छा सबैको हुन्छ र त्यो जायज पनि हो भन्ने मैले ठानेको छु । इमानदारीसाथ भएर भन्नुपर्दा पहिलो कार्यकाल अनुभवका कारणले पनि सोचेजति गर्न नसकिँदो रहेछ र मलाई यो महसुस पनि भएको छ । त्यसैले अझै एक कार्यकाल गल्कोट नगरपालिकाको प्रमुख भएर आफूले परिकल्पना गरेको सुन्दर र समृद्ध गल्कोटको निर्माणपश्चात विश्राम लिने मनसुवाका साथ यो पटकको निर्वाचनमा पनि मेरो उमेदवारी र विजय उचित छ भन्ने निवेदन गर्न चाहन्छु । यसमा मलाई मेरो मातृ पार्टी नेपाली कांग्रेसका सबै तहको नेतृत्व, गल्कोटे जनता र गठबन्धनका सहयात्री दलहरुको सहयोग र सद्भावना मिल्ने नै छ भन्ने आशा र अपेक्षा पनि मैले गरेको छु ।

(नगर प्रमुख, गल्कोट नगरपालिका, बाग्लुङ)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro