काठमाडौं । म्युजिक भिडियोमा प्रायः एकछत्र राज गरिरहेको समय नायक पल शाह जबरजस्ती करणीको अभियोगमा जेल पुगे । अदालतको अन्तिम फैसला त आइसकेको छैन । तर, उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।
पल थुनामै रहे पनि उनले अभिनय गरेका म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् । कारण उनी अक्सर दिनकै नयाँ/नयाँ म्युजिक भिडियोमा अभिनय गर्थे । पलले महिनामा २६ ओटासम्म म्युजिक भिडियोमा अभिनय गरेको पलका म्यानेजर कृष्ण जोशीले बताउने गरेका थिए । उनी एउटै म्युजिक भिडियोको पारिश्रमिक डेढ लाखसम्म लिन्थे ।
पल पुर्पक्षका लागि थुनामा पुगेपछि पहिलो रोजाइमा रहेका पलको विकल्पमा अहिले को छन् ?
पल थुनामा पुगेपछि म्युजिक भिडियो मेकरको रोजाइमा आकाश श्रेष्ठ र पुष्प खड्का पर्न थालेका छन् ।
“पलको अनुपस्थितिमा अहिले आफ्नो म्युजिक भिडियोमा आकाश श्रेष्ठ र पुष्प खड्कालाई खेलाउने गरेको पाइएको छ,” म्युजिक भिडियोका व्यस्त निर्देशक निकेश खड्का भन्छन्, “पललाई आफ्नो गीतको भिडियोमा खेलाउन रुचाउनेहरू अहिले आकाश र पुष्पतिर बाँडिएको देखिन्छ ।”
पल म्युजिक भिडियोमा व्यस्त रहँदा पनि आकाश र पुष्प पनि बाक्लै रुपमै म्युजिक भिडियोमा काम गरिरहेका थिए । उनीहरू दुबै फिचर फिल्मका अभिनेता पनि हुन् ।