सरकारलाई कोभिड - १९ को खोपका सन्दर्भमा पूरै असफल भन्नु अन्याय हुन्छ । लक्षित वर्गको ९० प्रतिशतलाई खोप दिएको दाबी सत्य हो भने सरकार बधाई र धन्यवादको पात्र भएको छ ।
परन्तु, सरकारको खोप कार्यक्रममा साना बालबालिका भने छुटेका छन् । करिब ४० लाख बालबालिकालाई अझै पनि कोभिडविरुद्धको खोप दिन सकिएको छैन । अर्थात्, जनसङ्ख्याको सबैभन्दा कमजोर समूह खोप पाउनबाट वञ्चित रहेको छ ।
हुन त, अगिल्लो सरकारका पालामा जस्तो खोपमा कोभिड-१९ को सङ्क्रमणलाई यस सरकारले कमाउने खेलो बनाएको देखिएन । यसपटक ‘ओम्नी’ वा ‘कमिसन काण्ड’ जसरी स्वास्थ्य सामग्री तथा खोपको आपूर्तिमा बाधा पुर्याइएन ।
तैपनि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सही प्राथमकिता दिन नसक्ता लाखौं बालबालिकाले खोप पाउन सकेनन् । विसं २०७८ सालको चैत मसान्तभित्र सबै नेपालीलाई खोप दिलाउने सरकारको घोषित लक्ष्य पनि असत्य साबित भयो । यसैले सरकारलाई आंशिक बधाई र धन्यवादमात्र दिन सकिन्छ ।
जोखिममा भएका सबै सुरक्षित नहुँदासम्म कोभिडलगायत सङ्क्रामक रोगको नियन्त्रण सम्भव हुँदैन । यसैले विश्व स्वास्थ्य संगठनले खोप कार्यक्रम विश्वव्यापी बनाउनु पर्नेमा जोड दिँदै आएको हो ।
नेपाल सरकारले केही पहिले ४० लाख बालबालिकालाई खोपाउन पुग्ने गरी कोभिड-१९ विरुद्धको खोप किन्ने व्यवस्था मिलाएको घोषणा गरेको थियो । तर, सरकारी अधिकारीहरूले अनुदानमा खोप पाउने आशामा खरिद प्रक्रिया अगाडि नबढाएको समाचार सार्वजनिक भएको छ ।
अनुदानमा खोप पाए पनि किन्नै पर्छ भन्नु त सही नहोला तर अनुदानमा पाइने अनुमानमा खोप खरिद नगर्नु भने सही निर्णय होइन । अनुदान सुनिश्चित नहुँदै खोप खरिद नगर्दा नेपालका बालबालिका बढी जोखिममा परेका छन् ।
भारतमा कोभिड -१९ को सङ्क्रमण फेरि बढ्न लागेको छ । भारतमा सङ्क्रमण रोकिएन भने नेपाल पनि जोगिन सक्तैन । यता १८ वर्षमाथिको जनसङ्ख्याले खोप पाइसकेकाले अबको लहरमा सङ्क्रमणको सबैभन्दा उच्च जोखिममा पर्ने त बालबालिका नै हुन् । यसैले अनुदानको खोप पर्खने सरकारको निर्णय गलत हो ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल भ्रमणमा छन् । यस अवस्थामा सरकारले जोड दिएमा उनले बालबालिकाका लागि आवश्यक खोपको जोहो गर्न सहजीकरण गर्न सक्नेछन् । अनुदानमा आउने खोप छिटो नपाइने हो भने किनेर पनि बालबालिकालाई सङ्क्रमणबाट जोगाउन सरकारले कन्जुसी र हेलचेक्य्राइँ नगरोस् । हेलिकप्टर किन्न पैसा खर्चन तयार सरकारले खोप किन्ने पैसा छैन भन्न यसै पनि लाजमर्दो हुन्छ ।
जसरी पनि नेपाली बालबालिकाले छिटै कोभिड-१९ विरुद्धको खोप पाउनुपर्छ । त्यति हुन सके महानिर्देशक तेत्रोस अदानम घेब्रेयससको भ्रमण पनि अविस्मरणीय र फलदायी ठहरिनेछ । कोभिड महामारीविरुद्धको युद्धमा सफल नेतृत्व गर्ने महानिर्देशक तेत्रोसको नेपालमा स्वागत छ ।