site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुससँग दुई हेलिकोप्टर किन्दै नेपाली सेना : बजेट सुनिश्चित

काठमाडौं । नेपाली सेनाले रुसको रोजोबोरोन कम्पनीसँग दुई एमआई–१७ भी–५ हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको छ । रक्षा मन्त्रालयले नेपाली सेनाको मुख्यालय जंगी अड्डालाई स्रोत निश्चित गरिएको पत्र पठाइसकेको छ ।

रक्षा मन्त्रालयका खरिद शाखाका अधिकृत दिनेश शर्माले दुई हेलिकोप्टर खरिद गर्न स्रोतको सुनिश्चितताको पत्र मंगलबार नै जंगी अड्डा पठाएको जानकारी दिए । उनले भने, “हेलिकोप्टर किन्न लागेको हो । डेढ महिनादेखि प्रक्रिया सुरु गरेका थियौँ । जंगी अड्डालाई पत्र पठाइसकेका छौँ ।”

उनले सेनालाई हेलिकोप्टर खरिदका लागि चार अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको जानकारी दिए । उक्त हेलिकोप्टर आसन्न स्थानीय तह निर्वाचनसहित विपद्, राहत र सेनाको ट्रुप ओसारपसारका लागि प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ । बहुउपयोगी एमआई–१७ भी–५ हेलिकोप्टर सेनाले द्वन्द्वकालदेखि प्रयोग गर्दै आएको छ ।

सेनाले पाँच वर्षअघि नै रुसी एमआई–१७ भी–५ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो । त्यसका लागि सेनाले रुसी कम्पनी रोजोबोरोनसँग सन् २०१७ मै सम्झौता गरेको थियो ।

रोजोबोरोन हेलिकोप्टर बिक्री गर्ने विश्वकै दोस्रो ठूलो कम्पनी हो । रुससँग हेलिकोप्टर खरिद गर्न लागेपछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनाएपछि नेपाल पछि हट्यो । यसबीच रुसी कम्पनीले पटक–पटक सम्झौताका लागि नेपाली सेनालाई पत्राचार गरेको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले हेलिकोप्टर खरिद प्रक्रियालाई प्राथमिकतामा राखेका छन् । सोहीअनुसार जंगी अड्डाले मन्त्रालयलाई हेलिकोप्टर खरिदका लागि प्रक्रिया अगाडि बढाउन भनेको थियो ।

उक्त हेलिकोप्टर पुरानै मूल्यमा खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ । शाखा अधिकृत शर्मा भन्छन्, “पुरानो सम्झौतामा जे छ, त्यही मूल्यमा किन्न लागेको हो । अब पाँच वर्षमा डलरको भाउमा तलमाथि परी नै हाल्छ । बढी मूल्यमा किन्न लागेको होइन ।”

रुस–युक्रेन युद्धले विश्वको ध्यान खिचेको छ । यही बेला अघि बढेको हेलिकोप्टर खरिद प्रक्रियालाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यही समयमा भारतीय सेनाले पनि रुसँग ४८ वटा हेलिकोप्टर खरिद गर्न लागेको समाचार सार्वजनिक भएको थियो । तर, रुस–युक्रेन युद्धका कारण खरिद प्रक्रिया रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले प्रतिरक्षाका लागि चाहिने सामानहरूमध्ये रुसबाट मात्रै करिब ६० प्रतिशत आयात गर्ने गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro