site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाटककै लागि ‘उलार’ किन ?

साहित्यकार नयनराज पाण्डेको २५ वर्षअघि प्रकाशित उपन्यास ‘उलार’ रंगमञ्चमा प्रस्तुत भएको छ । शब्दलाई रंगमञ्चको दृश्यभाषामा चे शंकरले ढालेका हुन् । उलारमा उनको नाट्यरूपान्तरण, परिकल्पना र निर्देशन रहेको छ । आज प्रिमियर भएर भोलिदेखि यही वैशाख १८ गतेसम्म नियमित मञ्चन हुँदै छ । उलार नेपालगन्जको परिवेशमा बुनिएको सिमान्तकृत नागरिकको संघर्षको कथा हो । २५ वर्षअघि बुनेको कथा वर्तमान परिवेशमा पनि सान्दर्भिक भएको निर्देशक चे शंकर बताउँछन् ।

नाटकमा सरिता गिरी द्रौपदीको भूमिकामा छिन् । अरुण शर्मा, सबिर चुरौटे, सञ्जय गुप्ता, शेखर चापागाईं पनि मुख्य भूमिका छन् ।

साहित्यका विद्यार्थी चे शंकरले रंगकर्म रोजेको १२ वर्ष भइसकेको छ । यो अवधिमा उनले ‘सेम टाइम नेक्स्ट इयर’, ‘मिस्टर फक्स इन स्कुल बोय’, ‘तिर्खा’, ‘लुक ब्याक इन एंगर’, ‘ऊ मरेकी छैन’लगायत १२ भन्दा बढी नाटक निर्देशन गरिसकेका छन् । उनै चे शंकरसँग बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सम्पादित अंश : 

चर्चित उपन्यास उलार नै किन ?
तपाईंको पत्रकारिता जस्तै थिएटर पनि मनमा लागेको कुरा व्यक्त गर्ने राम्रो प्लेटफर्म हो । उलार सामाजिक, आर्थिक, राजनीतिक र सिमान्तकृत मानिसको कथा हो । मलाई पनि राजनीतिक, सामाजिक मुद्दाहरूमा काम गर्न मन पर्छ । त्यही भएर ‘उलार’ ।

राजनीतिबिना नाटक सम्भव छैन ?
कला भनेको राजनिति हो । कलासँग मात्रै होइन, हरेक कुरासँग राजनीति जोडिएको हुन्छ । हरेक मानिसको जीवनसँग राजनीतिको ठूलो भूमिका हुन्छ । फेरि, कलाले जहिले पनि राज्यलाई खबरदारी गर्नुपर्छ भनिन्छ । होला, थिएटरले परिवर्तनकै लागि विद्रोह नगर्ला, तर यसले हरेक मानिसलाई सुसूचित भने गराइरहेको हुन्छ । जनतालाई चेतना दिएर आवाज उठाउन प्रेरित गर्छ । समाजमा राजनीतिसँगको सम्बन्ध हुने र रंगमञ्चले समाजको कुरा बोल्ने भएकोले हो ।

किताब बजारमा आएको २५ वर्षपछि यसलाई नाटकमा रूपान्तरण गर्ने सोच कसरी आयो  ?
म यस्तो गर्छु भन्नेबित्तिकै आजको भोलि नै सम्भव हुँदैन । त्यो कथाको एकएक कुरा बुझ्न, त्यसलाई नाट्यरूपान्तरण गर्न, त्यसलाई डिजाइन गर्न समय लाग्छ । हामीले कति धेरै राजनीतिक परिवर्तन देखिसक्यौँ, हामीले भ्रष्टाचारदेखि कोरोना महामारीलगायत धेरै समस्या भोगिसक्यौँ । तर, हरेक संकटमा एक अभिभावकको भूमिका निभाउन राज्य चुक्यो । हरेकपटक चुनाव हुन्छ, नयाँ व्यक्ति पदमा पुग्छन्, तर तपाई हामी भने ‘सफर’ गरिरहेका हुन्छौँ । नाटकमा भएको प्रेमललुवा भन्ने पात्रले भोगिरहेको सफर भनेको अहिले तपाईं–हामीले भोगिरहेकै हो ।

२५ वर्षअघि लेखिएको उपन्यास अहिले पनि उत्तिकै सान्दर्भिक छ ? केही परिवर्तन आएको छैन ?
त्यस्तै छ । अझ भन्ने हो भने त्योभन्दा बढी भइसकेको छ । किताबमा पात्रहरूको जीवनी जस्तो छ, त्योभन्दा बढी अहिले हाम्रो जीवन भएको छ ।

किताबमा भएजतिको मात्रै दृश्यमा देख्न पाइने हो वा त्योभन्दा बाहिर पनि प्रस्तुति छ ?
यसलाई दुई तरिकाले गर्न सकिन्छ, पहिलो भनेको उपन्यासमा जे छ त्यसैलाई दृश्यमा मात्रै देखाउन पनि सकिन्छ । त्यो गर्दा किताबमा लेखेका पात्रदेखि परिवेश ठ्याक्कै त्यस्तै गर्न सकिन्छ ।

अर्को, तपाईंले उपन्यास पढेपछि त्यसमाथि तपाईंको विचार, व्याख्या के छ त त्यसको आधारमा गर्न सकिन्छ । नाटकमा मेरो विचार (इन्टरप्रिटेसन) पनि छ । किताब त लेखेको भाषा हो, नाटकमा निर्देशकको भाषा हुन्छ । मैले किताब पढ्दा मलाई के लाग्यो, मेरो व्याख्या के हो त्यसलाई दृश्यमा उतार्ने कोसिस गरेको छु ।

लोकप्रिय उपन्यासलाई नाट्यरूपान्तरण गर्दा कस्तो चुनौती आउने रहेछ ?
चुनौती भनेको किताबसँग, किताब लेखेका सर्जकसँग हुँदैन । चुनौती भनेको दर्शकको दृष्टिकोणबाट हुन्छ । दर्शकले किताब पढेर एक किसिमको विचार दिमागमा सेट गरिसकेको हुन्छ र त्यही विचारलाई नाटकमार्फत मिट गर्न सकिन्छ कि सकिन्न, हामीले कसरी त्यो शब्दलाई दृश्यमार्फत जोड्छौँ त भन्ने चुनौती हुन्छ । तर, त्यो चुनौती मोल्न रमाइलो पनि हुन्छ ।

नाट्यरूपान्तरणका लागि प्रस्ताव गर्दा लेखकको प्रतिक्रिया कस्तो थियो ?
किताब पढेर उहाँसँग नाटक मञ्चन गर्ने इच्छाबारे कुरा गर्दा उहाँले सहजै ‘हुन्छ, गर’ भन्नुभयो । उहाँ एकदमै असल, सहयोगी र रचनात्मक हुनुहुन्छ । उहाँसँग कुराकानी भइराखेको छ । उहाँले मेरो नाट्यरूपान्तरण र निर्देशनलाई रुचाउनुभएको छ ।

उपन्यासलाई एक वा डेढ घण्टाको नाटकले प्रष्ट पार्छ ?
उपन्यास नपढेका दर्शक आउनुभयो भने उहाँहरूले पक्कै नाटक मन पराउनुहुनेछ । उपन्यासलाई नाटकले प्रष्टै पार्ने कुरामा चाहिँ कोसिस गरेका छौँ ।

उपन्यास नपढेकालाई कथाको विषय छोटकरीमा बुझाउँदा !
‘उलार’ तराई सिमान्तकृत वर्गको आवाज हो । नेपालगन्जका प्रेम ललवाको कथा, राजनीतिसँग जोडिएको कथा ।

नाटक नै नलिएर किन उपन्यास लिनुभयो ?
नेपालमा नाटक कम लेखिन्छ, तर नाटक नै नभएर मैले उपन्यासलाई नाट्यरूपान्तरण गरेको भने होइन । म निर्देशनका साथै नाटक पनि लेख्छु, फिल्म पनि लेख्छु । तर, मैले यसलाई नै नाट्यरूपान्तरण गर्नुको कारण मैले भन्न खोजेको कुरा, कथा मैले यही उपन्यासमा देखेँ, त्यसैले पनि हो ।

अरूको लेखनलाई नाट्यरूपान्तरण वा आफ्नै गर्नुमा कुनमा सहज लाग्छ ?
दुवैमा सहज लाग्छ । किनभने, नाटक त्यस्तो ठाउँ हो, जहाँ सिमानै हुँदैन । जसलाई कसैले र कुनै कुराले पनि बाँध्नै सकिन्न । अनि, रंगमञ्च त्यस्तो ठाउँ पनि हो, जहाँ तपाईंको कल्पनालाई पनि स्वतन्त्रता दिन मिल्छ ।

फेरि अर्को कुनै उपन्यासमा काम गर्न मन छ ?
मलाई अंग्रेजी अर्नेस्ट हेमिङ्वेको ‘द वल्ड म्यान एन्ड सी’ गर्ने इच्छा छ । तर, यसका लागि एक–डेढ वर्ष लाग्छ होला ।

एउटा नाटक गर्न धेरै समय लाग्दा आर्थिक रूपमा यसमै निर्भर हुन गाह्रो पर्दैन ?
म सर्भाइभ गरिरहेकै छु । नाटक गर्छु भनेर मात्रै हुन्न नि ! त्यसलाई मज्जाले बुझेर त्यो फिलसहित दृश्यमा उतार्न सक्नुपर्छ । मनदेखि गर्ने भएकाले समय लाग्छ नै । फेरि, म नाटकबाहेक फिचर फिल्म पनि लेख्छु । थिएटरले मात्रै सस्टेन गर्न गाह्रो छ । तर, यदि तपाईंले राम्रो काम गर्नुहुन्छ भने, क्षमता छ भने फेरि सकिँदैन भन्न सकिन्न ।

उपन्यास पढिसकेकाहरू त्यही कथा हेर्न किन आउने ?
नाटकको भाषा फरक हुन्छ । नाटक जीवनसँग सहजै जोडिन्छ, पाँच नेत्रहरूको अनुभव लिन सकिन्छ । किताब पढेर जुन अनुभव लिनुभएको थियो, अब दृश्यमार्फत त्यहीलाई अनुभूत गर्न आउने । नाटक युुनिभर्सल भाषा हो नि ! त्यसैले एकपटक आउँदा राम्रो हुन्छ । तर, यसो भनिरहँदा आउनैपर्छ भन्दै जबरजस्ती गर्न खोजेको पनि होइन । एकपटक आउनुहोस्, हेर्नुहोस्, हेरिसकेर तपाईं निराश भने हुनुहुने छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro