बर्सेनि चैत वैशाखतिर देशभर तापक्रम बढेसँगै आगलागीबाट जनधनको ठूलो क्षति हुनेगरेको छ । सरकारी निकायहरूले आगलागीलगायतका प्रकोप रोक्ने र पीडितलाई सहयोग गर्ने वाचा गर्छन् । अनि वर्षा लागेपछि आगलागीका घटना बिर्सन्छन् ।
सायद यस वर्ष पनि हुने यही र यस्तै हो । केही दिन यता आगलागीका थुप्रै घटना भएका छन् । एउटा समाचारअनुसार वैशाख महिनाका ५ दिनमा आगलागीका ८१ वटा घटना भइसकेको छ । आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
बर्सेनि हुने आगलागीका घटनाको पूरा विवरण त सम्भवतः कुनै निकायसँग पनि छैन । यसको मूल कारण समुदाय र सरकारमा प्राकृतिक प्रकोपका घटनालाई भवितव्य ठान्ने मानसिकता हो । परन्तु, आगलागी भवितव्य नभएर रोक्न सकिने दुर्घटना हो ।
राज्यले यस्ता घटनालाई पूरै उपेक्षा गरेको छ भन्नु पनि यथार्थ हुँदैन । देशमा ‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ नामको निकाय क्रियाशील छ । गृह मन्त्रालय अन्तर्गत ‘राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र’ पनि पीडितहरूको सहयोगमा खटिएको हुन्छ ।
तैपनि प्रकोपको नियन्त्रण र पीडितको उद्धार तथा सहयोगका लागि प्रभावकारीरूपमा काम हुन सकेको छैन । यसले हाम्रो प्रयासमा कतै न कतै गम्भीर कमजोरी रहेको पुष्टि हुन्छ । पहिलो त आगलागीलगायतका घटनाको नियन्त्रण र पीडितको सहयोगका लागि केन्द्रका साथै स्थानीय तहहरू बढी जिम्मेवार हुनुपर्छ ।
केही साता पहिले तनहुँको दमौलीमा आगलागी हुँदा नियन्त्रणका लागि काठमाडौंबाट हेलिकप्टर लैजानु परेको थियो । स्थानीय नगरपालिकामा दमकल थिएन । यो प्रतिनिधि उदाहरण हो अव्यवस्थाको । यसैले अहिलेका प्राथमिकतामा पुनर्विचार गर्नुपर्छ ।
जनसाधारणमा पनि सावधान नहुने रोग व्यापक छ । सर्वस्व सखाप हुनसक्ने जोखिमलाई समेत बेवास्ता गर्ने बानीले यस्ता घटना दोहोरिइरहेका हुन् । यसैले जनचेतना अभियानमा पनि उत्तिकै ध्यान दिनुपर्छ।
दीर्घकालीनरूपमा भने सबै आवासीय भवन पक्की बनाउने र आगलागीलगायत प्रकोपको बिमा गर्ने अभियान देशव्यापीरूपमा सञ्चालन गर्नुपर्छ । पक्की घरमा आगलागीको जोखिम कम हुन्छ भने बिमाले क्षतिको भर्ताल हुन्छ र राज्य वा परिवारले ठूलो नोक्सान सहनु पर्दैन ।