स्थानीय चुनाव नजिकिएसँगै विभिन्न दलका नेता कार्यकर्तामा चुनावी सरगर्मी बढ्दै गएको छ । देशभरजस्तै मधेस प्रदेशमा पनि चुनावी वातावरणले जनतामा कौतुहल मच्चाएको छ । गत स्थानीय चुनावमा मधेस प्रदेशका जिल्लामा मधेस केन्द्रित दलहरू र नेकपा (एमाले) बीच नै प्रतिस्पर्धा भएको थियो । अधिकांश स्थानीय तहमा मधेसवादी दल र एमालेकै प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष विजयी भएका थिए ।
विगत चार वर्षमा तिनले जनआकांक्षाअनुसार काम गर्न नसकेको र भ्रष्टाचार एवं अनियमिततामा चुर्लुम्म डुबेकाले जनता असन्तुष्ट र आक्रोशित छन् । त्यसैले ती दलका नेता र कार्यकर्ता धमाधम नेपाली कांग्रेसमा धमाधम प्रवेश गरिरहेका छन् । मधेस प्रदेशका आठैवटा जिल्लामा कांग्रेसमा प्रवेशको लहर बढेको देखिएको छ ।
कांग्रेस पुरानो र प्रजातन्त्रवादी पार्टी भएको सबैलाई समान व्यवहार गर्नुका साथै अरू पार्टीका नेता भन्दा इमान्दार, प्रजातन्त्रप्रति निष्ठवान र विचार सिद्धान्तप्रति दृढ रहेकोले तिनीहरू आर्कषित भएको हुनुपर्छ ।
प्रजातन्त्रको पुनःस्थापना र रक्षामा कांग्रेसको योगदान अरू पार्टीभन्दा धेरै रहेकोले पनि यसप्रति जनविश्वास बढ्दै गएको हुनसक्छ । जतिसुकै अप्ठेरो राजनीतिक परिस्थितिमा पनि कांग्रेसले लोकतन्त्रविरुद्ध सम्झौता गरेन । विगतमा कांग्रेस आफू हारेर पनि लोकतान्त्रिक पद्धतिको रक्षा गरेको छ । एक दलीय सर्वसत्तावादमा विश्वास गर्ने कम्युनिस्टहरूलाई लोकतन्त्रको मूलप्रवाहमा ल्याएको छ । लोकतन्त्रमाथिको प्रहार र हिंसा रोकाएर शान्तिपूर्ण राजनीतिकमा ल्याउन सफल भएको छ ।
यति हुँदाहुँदै पनि कांग्रेसले आन्तरिक लोकतन्त्रको सुव्यवस्थापन गर्न सकेको छैन । पार्टीभित्रको समूहहरूलाई एकमतमा ल्याउन सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्म कार्यकर्ता समूह समूहमा विभाजित छन् । एकले अर्कालाई सम्मान दिन चाहँदैन । अहिले स्थानीय तहको चुनावमा टिकटका लागि हारालुछ गरिरहेका छन् । नेताहरू कहाँ धाइरहेका छन् । सबै आआफ्नै जनाधारको दाबा गर्न छाड्दैनन् । आफूले मात्र जित्न सक्ने भएकोले उमेदवारीका लागि योग्य भएको प्रमाणित गर्न लागेका छन् ।
कांग्रेसमा एउटा ठोस मापदण्ड बनाई उम्मेदवार चयन गर्ने परिपाटी छैन । नेताको कृपा र निगाहमा टिकट दिने विगतको व्यवहारमा परिवर्तन भएको छैन । कांग्रेसको नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धनले सरकार चलाएको छ । स्थानीयदेखि संघीय चुनावसम्म गठबन्धनलाई निरन्तरता दिई सँगै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अधिकांश नेता कार्यकर्ता भने गठबन्धनको विरुद्धमा छन् । कांग्रेसले एक्लै चुनाव लड्नुपर्छ भनिरहेका छन् । हुन पनि कांग्रेसको राष्ट्रव्यापी संगठन छ । जनता यसप्रति आकर्षित छन् । देशव्यापी भोट बैंक छ । स्थापना कालदेखि नै तराई मधेस कांग्रेसको गढका रूपमा चिनिदै आएको छ । यसलाई बचाई राख्नु कांग्रेसको कर्तव्य हो । कम्युनिस्ट बिगबिगी भएको बेलामा पनि कांग्रेसको तराईमा मत घटेको थिएन । परिणाम कांग्रेसको पक्षमा नआए पनि संख्यात्मक रूपमा कांग्रेसको मत स्थिर नै देखिन्छ ।
तसर्थ कांग्रेसले आफ्ना विगतको साख जोगाउन आवश्यक छ । यसका लागि स्थानीय तहको चुनावमा उमेदवारी दिँदा धेरै विचार गर्नुपर्छ । त्यागी, योग्य र पार्टीप्रति समर्पित व्यक्तिहरूलाई उमेदवार बनाउनुपर्छ । विगतमा यस्तो न भई ‘चैते’ कांग्रेस र पैसावाललाई उमेदवार बनाइएको थियो । तिनीहरूमध्ये धेरैले हार बेहारे । पैसा खर्च गर्न नसके पनि कतिपय योग्य र इमानदार उम्मेदवार जिते । विगतका अनुभवलाई समेत विचार गरेर यसपटक टिकट नदिए फेरि पुरानै परिपाटी देहोरिन्छ ।
यसैबीच पाँच दलीय सत्ता गठबन्धनका नेताले केन्द्रबाटै भागबन्डा गर्ने भन्न थालेपछि कोइराला समूहले यसलाई तल्ला तहका कार्यकर्ताले स्वीकार गर्न नसक्ने भनेका छन् । चैतको दोस्रो साता कांग्रेसको केन्द्रीय कार्य समितिले स्थानीय अवस्था र आवश्यकताअनुसार अन्य दलसित तालमेल गर्न सक्ने निर्णय लिएको थियो । कांग्रेसको विधानले महानगरपालिकाको उम्मेदवार चयन गर्ने अधिकार केन्द्रलाई मात्र दिइएको छ । उपमहानगर÷नगरपालिकाको मेयर उपमेयरको प्रदेश समितिले र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षको उम्मेदवार चयन गर्न जिल्ला कार्य समितिलाई अधिकार दिइएको छ ।
यसलाई उल्ट्याएर कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन तथा अनुगमन समितिले सबै पालिकामा पाँचदलीय गठबन्धन बीच भागबन्डाको नीति अघिसारेको बताइएको छ । यसलाई नेता शेखर कोइरालाले पार्टी विधानविपरीत निर्णय गरेकोभन्दै विरोध गरेका छन् । उनले स्थानीय आवश्यकता र औचित्यको आधारमा मात्रै तालमेल गर्नुपर्छ भन्ने विचार व्यक्त गरेका छन् ।
तलका नेता कार्यकर्ताले दिएको सुझावको आधारमा उमेदवार छानिनुपर्छ । केन्द्रका नेताले भागबन्डा गर्ने होइन स्थानीय धरातल बुझेरमात्र उम्मेवार चयन गर्नुपर्छ । कांग्रेसको आन्तरिक किचलोले विगतकै परिणाम दोहोरिने त होइन भन्ने प्रश्न तेर्सिएको छ ।
मधेस प्रदेशमा विगतभन्दा यसपटक मतदाताको संख्या बढेको छ । विगतमा जितेका दलहरूप्रति वितृष्णा बढेको र कांग्रेसप्रति आकर्षण बढेको छ । यसलाई कसरी कांग्रेसको पक्षमा सदुपयोग गर्ने बारेमा भने गृहकार्य भएको छैन । मधेस प्रदेशका आठवटै जिल्लामा मधेसवादी दलसित कडा प्रतिस्पर्धा छ । एमाले, माओवादी, एकीकृत समाजवादीजस्ता कम्युनिस्ट पार्टीसँगको अवस्था पहिलाभन्दा खस्किएको छ । यसको मूल कारण टुटफुट र नेताहरूमा देखिएको व्यक्तिगत अहङ्कार नै हो । एउटै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अलग भई गठन भएका यी दलका नेता कार्यकर्ता विभाजित छन् । विगत तीन वर्ष सरकारको नेतृत्व गरे पनि न संसद्को पूर्णकाल शासन गर्न सके न जनताको आधारभूत आवश्यकता पूरा गर्न सके ।
भ्रष्टाचार, अनियमितता, अनुशासनहीनता चरमसीमामा पुगेको थियो । यिनै विसंगति र विकृतिले मधेस प्रदेशका जनता कम्युनिस्ट पार्टीहरूप्रति रोष प्रकट गर्दैछन् । मधेसमा कांग्रेसको जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धामा उत्रनका लागि कांग्रेसले स्थानीय जनताको चाहनाअनुसार लोकप्रिय इमानदार र भ्रष्टाचारको आरोप न लागेका व्यक्तिलाई उम्मेदवार चयन गर्नुपर्छ ।
यसका लागि तल्लै तहबाट उम्मेदवार तय हुनुपर्दछ । केन्द्रबाट उमेदवार थोपरिएमा विगतजस्तै पराजय भोग्नु पर्नेछ । तसर्थ, समय छँदै उम्मेदवार छनोटमा गर्न सुझबुझ र विवेकविचार पुर्याउनु पर्छ । उम्मेदवार हुन चाहनेहरूले केन्द्रीय नेतालाई प्रभावमा पार्ने विभिन्न हथकन्डा अपनाउन थालेका छन् । यसबाट सर्तक रहनु आवश्यक छ ।