बितेको वर्ष २०७८ सुरु हुँदाका केही अन्योल अपेक्षाकृत मत्थर भएका छन् । संविधानको अक्षर र भावना दुवै मिचिएर बाटो छाडेको राजनीति संवैधानिक बाटामा फर्केको छ ।
स्थानीय तहको निर्वाचन हुनेमा अझै थोरै संशय बाँकी रहे पनि धेरै चिन्ता लिनुपर्ने देखिन्न । राजनीतिक दलहरूको तयारी र उत्साह हेर्दा अब चुनाव रोक्ने आँट सम्भवतः कसैले पनि नगर्ला ।
यही वर्ष देशमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन शान्तिपूर्ण र स्वच्छरूपमा सम्पन्न होऊन् । कम्तीमा सत्तामा बस्नेहरूले संविधानको भावना र अक्षर उल्लङ्घन गरेर लोकतन्त्रमाथि पोहोरजस्तो प्रहार नगरून् ।
संविधानको ‘पालन र संरक्षण’ गर्ने ‘प्रमुख कर्तव्य’ तोकिएकै संस्थाबाट संंविधानकै मर्ममा प्रहार गरेर संस्थाकै गरिमा घटाउने काम नहोस् । संविधानले दिएको शक्ति यसको राष्ट्र र जनताको हितमा लगाइयोस् ।
यस वर्ष अर्को महामारीको सामना गर्नु नपरोस् । महामारीका बेला स्वास्थ्य सामग्री र खोप खरिदमा समेत सत्ताधारी र तिनका आफन्त मिलेर राष्ट्रको ढुकुटी लुट्ने प्रपञ्च नगरून् ।
खस्कँदो अर्थतन्त्रको पुनरुत्थान होस् । शासन प्रणालीकै साख गिर्नेगरी सत्ताको दुरुपयोग फेरि नहोस् । अपराधीले उन्मुक्ति नपाऊन् । दण्डहीनताको अन्त्य होस् । नेपाली जनताले सुशासनको अनुभव गर्न पाऊन् ।
युक्रेनका जनताले छिटै शान्ति र स्वतन्त्रताको अनुभव गर्न पाऊन् । संसारमा कतै पनि यो वर्ष बलियाले निर्धामाथी थिचोमिचो गर्ने दुस्साहस नगरून् ।
सबै मिलेर कामना गरौँ - नयाँ वर्ष २०७९ हामी सबैका लागि सुखद होस् ।
बाह्रखरी परिवार आफ्ना पाठक, शुभेच्छुक र सहकर्मीलगायत सबैलाई सुख र शान्तिको मङ्गलमय शुभकामना अर्पण गर्छ ।