जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम । बुधबार बिहान घामका किरण झुल्किँदै थिए । रामान्नद चोकका मानिस आफ्नै दैनिकी सुरु गर्दै थिए । सवारीसाधन चलेको आवाज परपरसम्म सुनिँदै थियो । जनकपुर–ढलकेवर सडकखण्ड विस्तार भइरहेको थियो । त्यही सडकको छेउमा मलिन अनुहार बनाएर तरकारी किन्न जाँदै थिइन्, २८ वर्षीया दीपा राउत । उनको अनुहारबाट चमक हराएको आठ वर्ष हुन लाग्यो ।
चिकित्सा शिक्षा हासिल गरी सेतो एप्रोन लगाउने उनको चाहना थियो । तर, परिवारले २० वर्षमै विवाह गरिदिएर आफ्नो सपना चकनाचुर बनाइदिएको उनी बताउँछिन् । १२ कक्षा पढ्दा विवाह भयो । अहिले घरगृहिणी भएर जीवन बिताइरहेकी छन् ।
“छोरी मान्छेले आफ्नो सपना कहाँ पूरा गर्न सक्छन् ? हाम्रो सपना कोर्ने पुरुष हुन्छन्, अपवादबाहेक,” उनले पीडा पोख्दै भनिन्, “जसले महिलालाई यो समाजमा स्वतन्त्र रूपमा कहिले हेर्न चाहेनन् । आफ्नै खुट्टामा उभिएको हेर्न चाहेनन् ।”
दीपाले आफ्नो सपना अब छोराछोरीमा देख्न थालेकी छन् । “छोराछोरीलाई इच्छाअनुसारको पढाउँछु । उनीहरूले रोजेकै रोजगारी गर्न दिन्छु,” उनले भनिन्, “मैले भोगेको समस्या मेरा छोरीले भोग्नु पर्दैन ।”
समाजमा पितृसतात्मक सोच अन्त्य नभएसम्म छोरीले यस प्रकारको समस्या समाना गर्नुपर्ने उनको धारणा छ ।
जनकपुरधाम उपमहानगरपालिका देवपुराकी ११ वर्षीया नन्दनी मण्डल गाउँकै जनता माध्यमिक विद्यालयमा पढ्छिन् । यो सरकारी विद्यालय हो । नन्दनी कक्षा–५ र उनकी कान्छी बहिनी चाँदनी कक्षा–३ मा पढ्छन् । उनका भाइ आन्नद जनकपुरधामकै निजी विद्यालयमा पढ्छन् । नन्दनी र चाँदनीलाई पनि भाइजस्तै निजी विद्यालयमा पढ्ने रहर छ ।
“मेरो भाइ अलि चकचके छ,” नन्दनी भन्छिन्, “त्यही भएर भाइलाई सुधार्न बुवाले उसको भर्ना निजी विद्यालयमा गराउनुभएको छ । मलाई पनि त्यही पढ्ने रहर छ ।”
उनका बुवा सर्वन मण्डल छोरीलाई निजी विद्यालयमा पढाउन आर्थिक अभाव रहेको बताउँछन् ।
नन्दनी पढ्ने विद्यालयमै पढ्छिन् गौरीकुमारी झा । गौरीका तीन बहिनी र दुई भाइ छन् । भाइहरू निजी विद्यालयमा पढ्छन्, तीन बहिनी सरकारी विद्यालयमा ।
जनता माविमा करिब ९०० विद्यार्थी छन् । तीमध्ये दुईतिहाइ संख्या छात्राहरूको छ । विद्यालयमा उपस्थितिको अनुपात हेर्दा छात्रको संख्या अझै न्यून देखिने प्रधानध्यापक पवनकुमार कर्ण बताउँछन् ।
गाउँको ७५ प्रतिशतभन्दा बढी घरका अभिभावकले छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेको उनी बताउँछन् । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नभएको उनको स्वीकारोक्ति छ । राज्यले यस विषयमा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् । समाजमा खाने, लगाउने र काम गर्ने कुरामा परिवर्तन आए पनि छोरीमाथिको विभेद कायमै रहेकाले यो अवस्था देखिएको उनको बुझाइ छ ।
शिक्षक भवानी मैनाली समाजले अझै छोरीलाई दोस्रो दर्जाकै रूपमा हेर्ने गरेको बताउँछिन् । “बुवाआमालाई लाग्छ, भोलि त अरूको घरमा गइहाल्छन् । अरूको घरको चिन्ता म किन गर्ने यहाँको स्कुलिङ छ,” उनले भनिन्, “त्यही भएर सामान्य लेखपढका लागि छोरीलाई सरकारीमा पढाउँछन् ।”
मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा गलत ‘स्कुलिङ’का कारण समाजमा यस्ता विकृति देखिएको बताउँछन् । “छोरा हुँदा गर्व गर्ने समाज छोरी हुँदा दुःखी त अहिले पनि भइरहेकै छ,” उनले भने, “केही कम भएको छ । तर, यसलाई अन्त्य गर्न राज्यको कार्यान्वयन पक्षको कमजोरी छ ।” कानुन भए पनि पीडितले उपयोग गर्न नजानेको उनको भनाइ छ ।