न्युयोर्क । विश्वकै सबैभन्दा धनी अर्बपति एलन मस्कको कम्पनी 'स्पेस एक्स'ले अमेरिकाको टेक्सास प्रक्षेपण स्थल विस्तार गर्न राखेको आवेदनमाथि पुनरवलोकन गर्ने कामलाई अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सले रोकेको ब्लुमबर्ग न्युजले जनाएको छ ।
स्पेसएक्सले आफ्नो स्टारवेस नामक अन्तरिक्ष कार्यक्रम परिसरमा अर्को प्रक्षेपण तथा अवतरण प्याड निर्माण गर्न चाहेको हो ।
यूएस आर्मी कोर्प्सले स्पेस एक्सलाई भनेको छ, “भिजेका भूमिबाट रकेट प्रक्षेपण गर्दा हुनसक्ने असरहरूबारे हामीलाई थप तथ्यांकको आवश्यकता छ । तसर्थ साउथ टेक्सासमा रहेको स्टारबेस प्रक्षेपण स्थलको विस्तारका लागि स्पेसएक्स कम्पनीले दिएको आवेदन रोकेका छौँ ।"
ब्लुमबर्गकाअनुसार स्पेसएक्सले बोका चिकास्थित सो परिसरमा दोस्रो रकेट प्रक्षेपण र अवतरण प्याडलगायत अन्य थप भौतिक पूर्वाधार निर्माण गर्न चाहेको हो । स्पेस एक्सले स्टारसिप मेगा–रकेट निर्माण गरिरहेको छ ।
स्टारबेसमा पूर्ण रूपमा फेरि प्रयोग गर्नसक्ने लन्च भेहिकलका रूपमा यसको डिजाइन गरिएको छ । गत वर्ष त्यहाँ रकेट प्रोटोटाइपहरूको परीक्षण गरिएको थियो । स्पेसएक्सले अन्तत स्टारसिप मेगा–रकेटलाई त्यहाँबाट प्रक्षेपण गर्ने योजना बनाएको छ ।
तर ब्लुमबर्गकाअनुसार मार्च ७ मा स्पेस एक्सलाई पठाइएको पत्रमा आर्मी कोर्प्सले एरोस्पेसले अनुमति दिनका लागि मागिएका सूचना उपलब्ध गर्न असमर्थ भएको उल्लेख गरिएको छ ।
आर्मी कोर्प्सले ओसिलो भूमि र जलीय क्षेत्रमा स्पेस एक्सले विस्तार गर्न लागेको भौतिक पूर्वाधारले सो क्षेत्रका लोपोन्मुख जैविक प्रजातिहरू र ऐतिहासिक भवनहरूमा के कति असर पर्न सक्छ भन्ने थाहा पाउन चाहेको हो ।
आर्मी कोर्प्सका लागि सार्वजनिक मामिला प्रमुख लिन्डा येज्जीले अनुरोध गरिएका सूचना विना अनुमति प्रक्रियाले निरन्तरता पाउन नसक्ने बताएकी छन् । साथै आर्मी कोर्प्सले आवश्यक सूचना प्राप्त गर्नासाथ यस प्रक्रियालाई पुन: आरम्भ गर्नसक्ने पनि ब्लुमबर्गले जनाएको छ ।
यसबारे स्पेसएक्सका प्रमुख कार्यकारिणी अधिकारी एलन मस्कले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
संघीय उड्डयन प्रशासन (एफएए)ले सो प्रक्षेपण स्थलको वातावरणीय मूल्याङ्कन कार्य गरिरहेको छ । यो काम अप्रिलको उत्तरार्ध सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
बिज्नेस इन्साइडरबाट ।