युक्रेनको बुचा सहरमा भएको नरसंहारको घटना रसियन फौजको नृशंसताको पोल खोलेको छ । बुचा नरसंहारपछि रसियन राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउनु पर्ने माग पश्चिमी देशहरूमा बढेको छ ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद् समक्ष रुसी फौजलाई ‘आतंकवादी’ भन्दै रुसी फौजले सर्वसाधारणको हत्या र महिलाहरूलाई बलात्कार गरेको आरोप लगाए । नरसंहार भएको बुचा सहरको भ्रमणपछि राष्ट्रपति जेलेन्स्कीले सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन् ।
समातिएका रुसी सैनिकलाई समेत युक्रेनियन फौजले मारेको भिडियो पनि सार्वजनिक भएको समाचार संस्थाहरूले जनाएका छन् । यसअधि प्रसूति अस्पतालमा र आणविक ऊर्जा केन्द्रमा समेत रसियन फौजले बम वर्षाएको समाचार सार्वजनिक भएको थियो ।
अर्थात्, युक्रेन आक्रमणमा रुसले युद्धका सबै सीमा र नियम उल्लङ्घन गरेको छ । यसैले रुसका राष्ट्रपति पुटिनका पक्षमा देखिएका चीन र भारतले समेत नरसंहारको घटनालाई ‘अस्वीकार्य’ भनेको हुनुपर्छ । तर, यी दुवै मुलुकले रसियन आक्रमणको विरोध भने गरेका छैनन् ।
हत्याको निन्दा गर्ने तर हत्याराका विरुद्ध मुख नखोल्ने प्रवृत्ति चरम स्वार्थी र अमानवीय कायरता हो । व्यक्ति वा राष्ट्र जोसुकैको भए पनि यस्तो कायरताले अमानवीय नृशंसताको पृष्ठपोषण गर्छ । यसैले नरसंहारसँगै यस्तो कायरताको पनि निन्दा गरिनुपर्छ ।
शक्तिशाली राष्ट्रले मच्चाएको नरसंहारमा सजाय नहुने वा मानवताविरुद्धको जघन्य अपराधमा अन्तर्राष्ट्रिय समुदाय निस्पृह रहने हो भने यस्तै दुस्साहस अरूले पनि गर्नेछन् । यसैले पनि रुसलाई संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट हटाउने प्रयास थालिएको हुनुपर्छ ।
आरोप प्रत्यारोपमा वा रुसको बचाउमा जेजस्ता तर्क दिइए पनि एउटा कटु सत्य के हो भने युक्रेनमा रुसले आक्रमण नगरेको भए यो नरसंहार हुने थिएन । यसैले बुचामा भएको नरसंहारको मूल दोषी रुसका राष्ट्रपति पुटिन नै हुन् । यसैले इतिहासले पुटिनलाई पक्कै क्षमा गर्नेछैन ।