काठमाडौं । प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध डीआईजी इश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् ।
यही चैत १८ गते डीआईजी कार्कीले दायर गरेको रिटमा २० गतेका लागि नै पेसी तोकिएको थियो । तर, २० गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ रोकियो । रेग्मीको इजालासमा पनि कार्कीले नेपाल सरकारसहित लोकसेवा आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट अन्तिम नम्बरमा परेको थियो ।
तर, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीका भाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा परेकाले स्वार्थ बाझिने भन्दै हेर्न नमिल्ने सूचीमा पर्यो । गोलाप्रथा प्रणालीका कारण सोमबार पनि एकल इजलास रेग्मीलाई नै पर्यो भने एकल इजलासमा उनकै इजलासमा परेको कार्कीको रिट सुनुवाइ हुन सकेन ।
सोमबार पनि कार्कीको रिट हेर्न नमिल्ने सूचीमै परेको छ । न्यायाधीश रेग्मीसँग लोकसेवा आयोगका अध्यक्ष रहेका दाजु माधव रेग्मीको साइनोले एआईजी बढुवाविरुद्धको मुद्दा प्रभावित हुन पुगेको हो ।