जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १७ कन्कपट्टीका ४९ वर्षीया (परिर्वतित नाम) मोनालिशा तेस्रोलिंगी महिला हुन् । सानैदेखि उनलाई महिलाकै पहिरन लगाउन मनलाग्थ्यो । महिलाको जस्तै श्रृङ्गार गरेको सपना देख्थिन् । साडी, लिपिस्टिक, चुरा र रेबनले कपाल सजाएर सिन्दुर लगाउने उनको रहर थियो । हाउभाउ, हिँडाइ, लवज र व्यवहार पनि महिलाजस्तै हुन्थ्यो ।
पुरुषको शरीर लिएर जन्मिए पनि उनलाई महिलाजस्तै भएर बाँच्ने रहर थियो । तर, समाजले के भन्ला भन्ने डरले ३० वर्षसम्म उनलाई महिला बनेर हिँड्ने आँट आएन । उनी मौन रहँदा परिवारले २४ वर्षको उमेरमा महिलासँग विवाह गरिदियो । तर, मनले खोजेअनुसारको सन्तुष्टि पाउन नसकेको मोनालिशा बताउँछिन् । विवाहको ६ वर्षपछि उनले मौनता तोड्ने प्रयास गरिन् ।
“मन मानिरहेको थिएन । तर, घर परिवार र समाजको डरले निर्णय गर्न सकिनँ,“ उनले भनिन्, “अहिले पनि बुबासँग खुलेर यो विषयमा कुरा गर्ने हिम्मत छैन ।”
२०६० सालमा बुबालाई आफू यौनिक तथा अल्पसंख्यक भएको सुनाउँदा विपद्मा परेजस्तै चिन्ता गरेको उनी बताउँछिन् । “बुबाआमाले निकै समाझाउनुभयो । अस्पतालमा उपचार गराउँछु भन्नु हुन्थ्यो,” विगत सम्झिँदै मोनालिशाले भनिन्, “मैले नमानेपछि आफन्तहरू बोलाएर मलाई समझाउन लगाउनुभयो ।”
सम्पत्ति दिन आलटाल
मोनालिशा ०६१ सालमा जनकपुरको नीलहिरा समाजसँग आबद्ध भइन् । नीलहिरा समाजसँग आबद्ध भएको कुरा घरमा थाहा भएपछि बुबाआमाले उनीसँग बोल्न छोडे । समाजमा प्रतिष्ठा डुबेकोभन्दै कतिदिन घरपरिवारको मान्छेले खाना नखाएको उनी बताउँछिन् ।
त्यसपछि बुबाले आफूलाई सम्पत्ति नदिने ‘प्रपञ्च’ रचेको उनको गुनासो छ । खेत र घडेरी आफन्तको नाममा पास गरी आफ्नो अंश दिन नमानेको उनको आरोप छ । ०६६ सालमा जिल्ला अदालत धनुषामा दिएको मुद्दाको फैसला अहिलेसम्म पनि नभएको उनले बताइन् ।
“भाइहरू विदेशमा थिए । अहिले आएका छन् । अब दिन्छु भनिरहेका छन्, “उनले भनिन् । घरका मान्छेले नराम्रो व्यवहार गर्ने गरेकाले घर जान मन नलागेको उनको भनाइ छ ।
विभेदकारी कानुन
०६४ पुस ६ गते सर्वोच्च अदालतले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई पहिचानसहितको नागरिकता दिन ऐतिहासिक फैसला गर्यो । कति जनाले नागरिकता पनि लिए । तर, ०६९ पुस १७ मा गृह मन्त्रालयले मेडिकल प्रमाणपत्रको अधारमा ‘अन्य’ शीर्षक अन्तर्गत नागरिकता दिने परिपत्र जारी गर्यो । जसका कारण अंङ्ग प्रत्यारोपण गराउनेबाहेक यौनिक तथा लैगिंक अल्पसंख्यक नागरिकताबाट बञ्चित भएका छन् ।
यस्तैमध्ये एक हुन् महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नाकी ३५ वर्षीया नगमा खातुन । उनकाअनुसार यौनिक तथा लेगिंक अल्पसंख्यक समुदायभित्र ६ वटा वर्ग हुन्छन् । समलिंगी महिला, समलिंगी पुरुष, दुईलिंगी, तेस्रो लिंगी महिला, तेस्रोलिंगी पुरुष, अन्तरलिंगी । जसमध्ये तेस्रोलिंगीले मात्रै अंग प्रत्यारोपण गराउन सक्छन् ।
“अंग प्रत्यारोपण नगराउनेले कहाँबाट मेडिकल प्रमाणपत्र ल्याउँछ ? सरकारले अझै यौनिक तथा अल्पसंख्यकलाई रोग सम्झिदा यस्तो कानुन ल्याएको छ,” उनले भनिन्, “यो रोग होइन, प्राकृतिक स्वरूप हो । महिला र पुरुसजस्तै भगवानको बरदान हो ।”
सरकारले पाइलैपिच्छे यौनिक तथा लैगिंक अल्पसंख्यकलाई विभेद गरेको उनको बुझाइ छ । समलिंगी विवाहलाई सरकारले कानुनी मान्यता नदिएकाले समाजले अझै स्वीकार गर्न नसकेको उनको तर्क छ ।
घरबाट निकालिए
गत कात्तिकमा धनुषाधामका एक तेस्रोलिंगी महिलालाई परिवारले घरबाट निकाल्यो । यौनिक तथा लैगिंक अल्पसंख्यक भएको कुरा बताएपछि निकालिएको उनी बताउँछिन् । ५६ वर्षसम्म उनले यौनिक तथा अल्पसंख्यक भएको कुरा घरमा जानकारी गराएकी थिइनन् ।
जानकारी गराएपछि ६ महिना अगाडि आफ्नै छोरासहित दाइ र भाइले गालीगरी पिट्दै घरबाट निकालेको उनको गुनासो छ ।
“बिहे भइसकेपछि लामो समय कसैलाई पनि भनिनँ । अलिकति हाउभाउ मिल्दा उनीहरूले समान्य रूपमा लिएका थिए,” उनले भनिन्, “पछि मैले आफ्नै समुदायको साथीहरूसँग भेट्न थालेपछि आफ्नो फिलिङ्स रोक्न सकिनँ । त्यसपछि घर परिवारलाई जानकारी गराएपछि कुटपिट गरे ।”
अहिले उनी जनकपुरस्थित नीलहिरा समाजको सहारामा छिन् ।
प्रतिकार गर्दा कुटिए
जनकपुरमा भिख माग्दै हिड्ने एक यौनिक तथा लैगिंक अल्पसंख्यकमाथि गत साउनमा भानु चोकमा दुरब्यबाहार भयो । त्यसको प्रतिकार गर्दा उनलाई स्थानीयले कुटपिट गरे ।
“त्यहाँ ४/५ जनाको समूह थियो । म पैसा माग्दै हिँडिरहेको थिएँ । तर, त्यो दिन उनीहरूले चोकमै मलाई गिज्याउँदै हिजडा नाच् भनेर भने । मैले त्यसरी नबोल्नभन्दा पिटे,” २६ वर्षीया राधाले सुनाइन् । राधाले भोगेको यो पहिलो घटना भने होइन । उनलले यसअघि पनि यस्ता अपमान र कुटपिट थुप्रै पटक भोगेकी छन् ।
“मलाई विवाह, व्रतवन्ध, न्वारनजस्ता शुभ समारोहमा बोलाएर नाच्न र आर्शिवाद दिन समाजले निमन्त्रणा गर्छ,“ उनले भनिन्, “त्यही समाजका कतिपयले यौन सम्बन्धका लागि पनि स्वीकार गछन् । तर भोलिदेखि घृणा गर्न थाल्छन् ।”