प्रधानमन्त्री शेरबहादुर देउवा चार जना मन्त्रीसहित टोली लिएर शुकवार भारत भ्रमणमा जान लागेका छन् । पछिल्लोपटक पुसमा उनको भारत भ्रमण कोभिड महामारीका कारण रद्द भएको थियो ।
केही दिन पहिले चीनका विदेशमन्त्री वाङ यी नेपालको भ्रमणमा आएका थिए । विदेशमन्त्री वाङले नेपालमा छँदै दिएका ‘विदेशी शक्तिप्रति’ लक्षित केही अभिव्यक्ति नेपालीका लागि नै ग्राह्य थिएनन् भने अरू मुलुकले पनि पक्कै चासो राख्लान् । भारत त्यसबाट सबैभन्दा बढी सजग भएको हुनसक्छ ।
अर्कातिर ‘उग्रराष्ट्रवादी’ कम्युनिस्टहरूले भारत भ्रमणलाई विवादास्पद बनाउन पक्कै प्रयास गर्नेछन् । यसैले प्रधानमन्त्री देउवाले भारत भ्रमणमा दिने अभिव्यक्ति र गर्ने सम्झौताका भाषा र शैलीमा समेत निकै चनाखो हुनुपर्छ ।
नेपालका कम्युनिस्टलाई बलियो बनाएर ‘स्थिरता’ कायम गर्ने चिनियाँ मनसुवा अब गोप्य रहेको छैन । नेपालका कम्युनिस्टहरूमात्र चिनका सच्चा मित्र हुनसक्छन् धन्ने भाष्य चीनका सरकारी मुखपत्रहरूले बनाइरहेका छन् ।
यसैले भारतले पनि गैरकम्युनिस्टलाई एक हुन प्रेरित गर्ने प्रयास गर्न सक्छ । तर, यस्तो प्रयास भारतकै लागि पनि हितकर हुनेछैन । केही यता नेपालको आन्तरिक राजनीतिमा धेरै चासो नराख्दा नेपाली समाजमा भारतप्रति सद्भाव बढेको त नयाँ दिल्लीले पनि बुझेकै होला ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा औपचारिक र अनौपचारिक चिनियाँ प्रभावका बारेमा पनि पक्कै प्रश्न उठ्नेछ । यसमा प्रधानमन्त्री देउवाले चीनप्रति अनुचित ‘निष्ठा’ देखाएर नेपालका कम्युनिस्टहरूले गरेको गल्ती भारतका हकमा दोहोर्याउनु बुद्धिमानी हुनेछैन ।
यसैगरी भारतको अहिलेको सत्ताधारी समूह नेपालले अपनाएको धर्मनिरपेक्षताप्रति असन्तुष्ट हुनसक्छ । प्रधानमन्त्री देउवालाई त्यस समूहले प्रभावित गर्ने प्रयास गर्न सक्छ । देउवा त्यसबाट पनि जोगिन सक्नुपर्छ ।
भ्रमणका कार्यसूची त सहजरूपमा सम्पन्न हुने नै छन् । हुनत, औपचारिकरूपमा भ्रमणको मूल्याङ्कन हुने आधार त्यही हो तर, विवादबाट जोगिन सकेमात्र प्रधानमन्त्री देउवाको भारत भ्रमण यथार्थमा सफल हुनेछ ।
कम्युनिस्टहरूले बिगार्दै लगेको अमेरिका र युरोपसँगको सम्बन्धमा केही सुधार गर्न प्रधानमन्त्री देउवा सफल भएका छन् । भारतसँग चिसिएको सम्बन्धलाई ‘सद्भाव र विश्वास’मा बदल्न पनि देउवा सफल हुनसक्नुपर्छ । नेपाल-भारत सम्बन्ध कुनै सन्धि वा सम्झौताबाट निर्देशित हुनुहुँदैन भन्ने हेक्का दुवै पक्षले राखून् ।