यस प्रविधिको युगमा बालबालिका, युवा वा बूढापाका कोही पनि यसबाट टाढा बस्न सक्दैनन् । अर्थात्, प्रविधि विनाजीवन असम्भव नै छ । हरेक दिन मैले अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा सबैभन्दा धेरै सामना गर्ने प्रश्नहो – ‘‘विद्युतीय उपकरणहरु (मोबाइल, ल्यापटप, ट्याब्लेटलगायत)का स्क्रिनको अत्यधिक प्रयोगले बालबालिकाका आँखामा के कस्ता असर पर्छन् र यसलाई रोकथाम गर्ने उपायहरु के के हुन् ?’’
१. कम्प्युटर भिजन सिन्ड्रम
आँखाले लामो समयसम्म एकनासले विद्युतीय उपकरणहरु (मोबाइल, ल्यापटप, ट्याब) हेर्दा प्राकृतिकरुपमा आँखा झिमझिम गर्ने प्रक्रियामा ह्रास आउँछ । त्यसले गर्दा आँखामा थकान हुने, आँखा सुख्खा हुने, एउटा चिज÷वस्तुलाई हेर्दा दुई वटा देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । यसलाई हामी कम्प्युटर भिजन सिन्ड्रम भन्छौँ ।
२. आँखाको मांसपेसीको लचकता तथा दृष्टिमा ह्रास आउनु
विद्युतीय उपकरणहरुको अत्यधिक प्रयोगले बच्चाहरुको दूरदृष्टिमा समस्या हुन सक्छ । हाम्रो आँखाले नजिक हेर्दा कालो नानी भित्रतिर जाने र टाढा हेर्दा यो सामान्य सिधा अवस्थामामा आउने गर्नुपर्छ । स्क्रिन हेर्दा कालो नानी टाढा जाने प्रक्रियामा ढिला हुन जाने र डेढोपना समेत देखिन सक्छ । यो समस्या छोटो अवधिको हुन्छ र स्क्रिन समय कम गर्दा फेरि सामान्य अवस्थामा आउन सक्छ ।
३. टाढा नदेख्ने समस्या
विद्युतीय उपकरणहरुको बढी प्रयोगले बच्चाहरुमा टाढा नदेख्ने समस्या पनि हुने सर्वेक्षणहरुले देखाएका छन् । कोरोना महामारीको बेलामा झन्डै एक डेढ वर्ष अनलाइन कक्षा हुनु र यस्ता बालबालिकाको अत्यधिक चाप आँखा अस्पतालहरुमा हुनुले पनि यसको थप पुष्टि गर्छ । त्यसैले बच्चाहरुलाई घरबाट बाहिर निस्केर खेल्ने खेलहरुमा प्रोत्साहित गर्ने अभिभावकहरुको जिम्मेवारी हो ।
बालबालिकालाई यस्ता समस्याबाट कसरी जोगाउने त ?
कम्प्युटर त आजको दुनियाँमा अपरिहार्य सामग्री नै बनिसकेको छ । सम्पूर्ण शिक्षा प्रणाली नै कम्प्युटराइज्डड भईराखेको अवस्थामा यसमा रोक लगाएर हामीले हाम्रो बालबालिकाको व्यक्तित्व विकासमा रोक त लगाइराखेको छैनौ ? अब स्क्रिनलाई कसरी सावधानीपूर्वक प्रयोग गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरौं ।
नियम : २० – २० – २०– २
यसमा विद्युतीय उपकरण प्रयोगकर्ताहरुले प्रत्येक २० मिनेट स्क्रिन हेरिसकेपछि २० फिट परको वस्तु २० सेकेण्डसम्म हेर्ने र २० पटक आँखा झिमझिम गर्ने (यो नियम ठूलो मान्छेमा पनि लागु हुन्छ ।) यसो गर्नाले आँखालाई सामान्य अवस्थामा आउन मद्दत गर्छ ।
नियम : २ घन्टा दिनको घर बाहिर खेल्न प्रोत्साहन गर्ने ।
स्क्रिनको आकार र दूरी
मोबाइल, ट्याबलेट, ल्यापटपजस्तो विद्युतीय उपकरणे स्क्रिन जति सानो भयो त्यति नै त्यसमा आँखा केन्द्रित गर्न गाह्रो हुन्छ । बालवालिकालाई मोबाइल, ट्याबलेटभन्दा ल्यापटप, कम्प्युटरमा काम गर्न दिने । कति दूरीमा स्क्रीन राख्ने त भन्दा यसमा पनि १–२–१० नियम प्रयोग हुन्छ । जस्तै :
मोबाइल, ट्याब्लेट १ फुटभन्दा टाढा राख्ने ।
ल्याबटप, कम्प्युटर २ फिटभन्दा टाढा राख्ने ।
टेलिभिजन – १० फिटभन्दा टाढा राख्ने ।
यसबाहेक स्क्रिनको उज्यालो/चमक कम गर्ने र ब्लु फिल्टर प्रयोग गर्न पनि सकिन्छ ।
३. बालबालिकालाई कति समयसम्म स्क्रिन हेर्न दिने ?
अमेरिकन एकेडेमी अफ पिडियाट्रिक अप्थालमोलोजीले दिएको सुझावअनुसार :
१. १८ महिनाभन्दा मुनिका बालबालिकालाई हेर्नै नदिने ।
२. १८ महिनादेखि माथि र २ वर्षमुनिका बालबालिकालाई आफ्ना अभिभावक र आफन्तजनसँग भिडियो कुराकानी गर्न दिन सकिनेछ ।
३. २ वर्षमाथि र ५ वर्षसम्मका बालबालिकालाई अभिभावकले १ घन्टाभन्दा बढी मोबाइल, ट्याबलेट प्रयोग गर्न नदिने ।
४. ५ वर्षभन्दा माथिका उमेर समूहकाले स्कुलको कामबाहेक २ घन्टाभन्दा बढी मोबाइल, ट्याबलेट, ल्यापटप प्रयोग नगर्ने ।
सीडीसीले दिएको सुझाव अनुसार :
८ वर्षदेखि १० वर्षसम्म – ६ घन्टासम्म प्रतिदिन
११ वर्षदेखि १४ वर्षसम्म – ७ घन्टासम्म प्रतिदिन
१५ वर्षदेखि १८ वर्ष सम्म – साढे ९ घन्टासम्म / प्रतिदिन
अभिभावकको दायित्व
१. प्रत्येक बच्चाको स्कुल जाने उमेरमा अनिवार्य रुपमा आँखा जाँच गर्ने ।
२. अत्यधिक स्क्रिन प्रयोगले माथि भनेजस्तै समस्याहरु हुने हुनाले आफ्ना बालबालिकालाई घरबाट बाहिर खेल्ने खेलहरु खेल्न प्रोत्साहन गर्ने ।
३. गृहकार्य गराउँदा अभिभावकहरु आफैँ मोबाइल फोनमा व्यस्त नहुने ।
४. धेरैभन्दा धेरै समय आफ्ना बालबालिकासँग बिताउने, ता कि उनीहरुलाई विद्युतीय उपकरणहरु (मोबाइल, ट्याबलेट, ल्यापटप) स्क्रिनको जरुरत कम परोस् ।
(बाल नेत्र विशेषज्ञ, गेटा आँखा अस्पताल, कैलाली)