खुसीको कुरा हो, नेपालसँग ‘रिसाएको’ भनिएको चीनले मन माझ्नका लागि विदेशमन्त्रीलाई नै नेपाल पठायो । यसले चीनको नेपालप्रति ‘गुनासो’ भए पनि ‘दुर्भाव’ नभएको सन्देश दिएको छ ।
चीनका विदेशमन्त्री वाङ यी शुकवार नेपाल आइपुगेका छन् । हुनत, पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी नेपाल आएका हुन् । तैपनि, सम्बन्ध चिसिएको भनिएकै बेला भएको उनको भ्रमण दुवै देशका पक्कै महत्त्वपूर्ण हुनेछ ।
अमेरिकी अनुदान सहयोगका ‘विपक्ष’मा चीनको टिप्पणीले नेपाल सरकार झस्केको हुनसक्छ । चीन पनि बीआरआईका परियोजनामा नेपालको शिथिलताप्रति पक्कै सन्तुष्ट नहोला ।
बीआरआईका परियोजना अगाडि बढाउन दुवै देशका सरकारले तिनलाई अरू कूटनीतिबाट अलग्ग राख्नुपर्छ । भौतिक पूर्वाधारका योजनामा नेपालले आफ्नै हित हेरेर लगानी गर्ने हो । यसैले चीनलाई नेपालले आफ्नो हित र सामर्थ्य दुवै स्पष्टसँग बुझाउन सक्नुपर्छ ।
छिमेकीसँगको सम्बन्धलाई नेपालजस्तो ‘दुई ढुङ्गाको तरुल’ले पक्कै पनि प्राथमिकतामा राख्नुपर्छ । आफूले छिमेकीहरूको अहित नगर्ने र आफ्नो भूमिबाट हुन पनि नदिने नेपालको परराष्ट्र नीतिको मन्त्र नै हुनुपर्छ भन्नेमा विवाद हुँदैन ।
यही कारणले नेपाल पश्चिमबाट एक्लिएर बस्नुपर्छ भन्ने सर्त वा चाहना छिमेकीहरुले पनि राख्नु हुँदैन । चीन र भारतको अहित नहुने कुनै पनि विषयमा पनि नेपालले स्वतन्त्र विचार नराखोस् भन्नु नेपालको सार्वभौम सत्ताको सम्मान नगर्नु हो ।
विदेशमन्त्री वाङलाई नेपालले कुनै एउटा मुलुकको मूल्यमा अर्को मुलुकसँगको मित्रता नहुने स्पष्ट पार्नुपर्छ । उनले पनि नेपालबाट चीनको अहित नहुने प्रतिबद्धताको पुनःर्पुष्टि खोज्न मिल्छ तर नेपाललाई एक्लै बस भन्न मिल्दैन ।
चीनले केही वर्ष यता नेपालको आन्तरिक राजनीतिमा विशेषगरी कम्युनिस्ट पार्टीहरूको एकीकरणमा देखाएको चासोले जनमानसमा समेत सन्देश उब्जाएको छ । यसैगरी, बीआरआईका परियोजनाप्रति नेपाली पक्षले देखाएको उदासीनताले पनि सकारात्मक छाप पारेको छैन ।
चीनले नेपालको कम्युनिस्टहरूलाई बलियो बनाउन लगानी गर्ने हो भने अर्को मुलुकले पनि कुनै दल विशेषको पक्ष लिनु अस्वाभाविक हुँदैन । यसले दुई देशबीच रहिआएको परम्परागत विश्वास र सद्भावको सम्बन्ध त खलबलिन्छ नै नेपालमा चीन विरोधी भावना पनि बढ्न सक्छ ।
यसैले नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले विदेशमन्त्री वाङसँग धक फुकाएर वार्ता गर्नु उचित हुनेछ । अहिलेको समयमा दुवै देशले एकापसको विश्वास र मित्रता नखलबलिएको स्पष्ट सन्देश दिनुपर्छ ।