काठमाडौं । युरोपियन च्याम्पियन इटालीले पुनः एक पटक विश्वकप गुमाउने भएको छ । बिहीबार राति पालेर्मोमा सम्पन्न युरोपियन छनोटको प्लेअफ सेमिफाइनलमा अप्रत्यासित रुपमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटालीको कतार विश्वकप यात्रा टुंगिएको हो ।
इटालीले विपक्षी पोष्टमा ३२ प्रहार गरेको थियो भने नर्थ म्यासेडोनियाले मात्र चार प्रहार गरेको थियो । पाँच मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्जान्डर त्राजकोभस्कीले गरेको गोल नर्थ म्यासेडोनियाका लागि निर्णायक बन्यो । त्यही गोल इटालीको कतार यात्रामा तगारो बन्यो । भ्रमणकारी नर्थ म्यासेडोनियाले गोलका लागि पाएको त्यही एकमात्र राम्रो अवसर थियो । र, त्यसलाई सदुपयोग गर्न सफल पनि भयो ।
इटालीले भने पूरै खेल नियन्त्रणमा राखे पनि पाएको अवसरलाई सदुपयोग गर्न सकेन । र, पाँच वर्षअघि जस्तै अन्तिम ह्विसल बजेपछि इटालीका खेलाडी मैदानमा ढलेका थिए । इटालीका खेलाडी मैदानमा ढलेर अकल्पिनीय दुःखको आशु झारिरहँदा विपक्षी टिम नर्थ म्यासेडोनिया भने भव्य उल्लास मनाइरहेका थिए ।
इटाली २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । त्यतिबेला इटाली दुई लेगको प्लेअफमा स्विडेनसँग स्तब्ध बनेको थियो । चार पटकको विश्वकप विजेता इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भयो । अझै युरो २०२० को उपाधि जित्न सफल टोली विश्वकप छनोटमा असफल हुनु इटालीका लागि सबभन्दा दुखद पक्ष हो ।
‘‘मेरो टिमप्रति मलाई गर्व छ । हामी सबै दुखी र स्तब्ध छौं । तर, हामी पुनः उठ्नुपर्नेछ,’’ इटालीका कप्तान जर्जियो चिलिनीले भने, ‘‘यो समयमा कुरा गर्न सहज छैन । तर, यही प्रशिक्षक हामीसँग हुनेछन् । किनकी उनी यस टिमको आवश्यकता हुन् । हामीले पुन जित्नुपर्ने छ । युरोपियन च्याम्पियनसिप र चार वर्षपछि विश्व फुटबलको सबभन्दा ठूलो रंगमञ्चमा आफूलाई पुनः प्रमाणित गर्नुपर्नेछ ।’’
तर, इटालीका प्रशिक्षक रोबर्टो मान्सिनीले भने भविष्यको बारेमा सोच्न यो सही समय भएको बताएका छन् । गत संस्करणको विश्वकपमा छनोट हुन असफल भएपछि मान्सिनीले इटालीको प्रशिक्षण सम्हालेका थिए । उनले भनेका थिए, ‘‘गत जुलाईमा व्यावासायिक करिअरमा सबभन्दा खुसीको क्षण थियो । ठीक विपरित आज सबैभन्दा निराशजनक क्षणबाट गुज्रिएका छौं । फुटबलमा कहिलेकाही अविश्सनीय घटना हुन्छन् ।’’
नर्थ म्यासेडोनियाले कतारको यात्रा पक्का गर्नका लागि अब मंगलबार पोर्चुगलविरुद्ध खेल्नेछ । क्रिष्टियानो रोनाल्डोको पोर्चुगलले गएराति सम्पन्न खेलमा टर्कीलाई ३–१ हराएको थियो ।