site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगीलाई कुलमानको चेतावनी– कि परल मूल्य तिर्नोस् कि लोडसेडिङ खेप्नोस् !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । उनले उद्योगीलाई ऊर्जा संकट गरिँदै गएको बताएका हुन् ।

प्राधिकरणले बिहीबार गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा औद्योगिक वातावरण बनाउनका लागि भए पनि ३८ रुपैयाँ प्रतियुनिट तिरेर भारतबाट विद्युत् आयात गरिएको बताए । उक्त विद्युत् आज रातिदेखि आउने उनले जानकारी दिए ।

हालको ऊर्जाको अवस्थाबारे जानकारी गराउन बिहीबार पत्रकार सम्मेलनभन्दा अघि उनले उद्योगी, व्यवसायीसँग छलफल गरेका थिए । आफूले विश्वव्यापी रूपमा बढ्दो ऊर्जा संकट र त्यसले पार्ने असरका विषयमा उद्योगीसँग छलफल गरेको उनले बताए ।

Dabur Nepal

“तपाईंहरूसँग (पत्रकार सम्मेलनमा) आउनुभन्दा अगाडि उद्योगी, व्यवसायीसँग भारतबाट आयात हुने बिजुलीको मूल्यका बारेमा छलफल गरेको थिएँ । उहाँहरूलाई हालको अवस्थामा सहयोग गर्नुहोस् भनेँ,” उनले भने ।

पत्रकार सम्मेलनमा उद्योगीसहित कसैलाई पनि बिजुलीको भाउ नबढाउने र कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका घिसिङले उद्योगीलाई भने परल मूल्य तिर्न आग्रह गरेको छलफलमा सहभागी एक उद्योगीले जानकारी दिए ।

“विश्वव्यापी ऊर्जा संकटको असरमा हामी पनि परेका छौँ । प्रतियुनिट ३८ रुपैयाँ तिरेर आयात गर्नुपर्ने अवस्था आएको छ । कि तपाईंहरूले परल मूल्य तिर्नुपर्‍यो कि लोडसेडिङको लागि तयार हुनुपर्‍यो, उहाँले हामीलाई यस्तो सन्देश दिनुभयो,” ती उद्योगीले भने ।

बैठकमा सहभागी ऊर्जाउद्यमी ज्ञानेन्द्रलाल प्रधानले महँगोमा बिजुली किनेर बेच्न गाह्रो हुने भएकाले सहयोग गर्न घिसिङले आग्रह गरेको बताए । “उहाँले के गर्न सकिन्छ उद्योगी, व्यवसायीबाट पनि सहयोग गर्नुपर्‍यो भन्नुभयो,” प्रधानले भने, “हामीले धेरै मूल्य तिरेर बिजुली उपभोग गर्न नसक्ने जानकारी गरायौँ ।” आफूहरूले विद्युत् खपत कम हुने समयमा उद्योग चलाएर सहयोग गर्न सक्ने बताएको उनले जानकारी दिए ।

ऊर्जा समस्या बढ्दै जान सक्ने भएकाले सहुलियतका लागि सरकारलाई आग्रह गर्ने छलफलले निचोड निकालेको प्रधानले बताए । “प्राधिकरणले पनि धेरै घाटा खाएर बिजुली दिन सक्दैन, त्यो स्वाभाविक हो । त्यसैले सरकारले नै डिजेलमा सहुलियत दिने हो भने निश्चित अवधिको लागि उद्योगीले प्राधिकरणबाट बिजुली नलिन सक्छ । तर, त्यसका लागि सरकारले सहुलियत दिनुपर्छ,” उनले भने ।

विद्युत् प्राधिकरणले प्रतियुनिट २० भारु परेको विद्युत् आज (बिहीबार) रातिदेखि आउने जनाएको छ । २० भारु र अरू लागत समेत जोड्दा प्रतियुनिट ३८ रुपैयाँ पर्न आउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सात हजार मेगावाट आवर प्रतियुनिट २० भारुमा खरिद गर्न ‘बिड’ गरेको हो ।

भारतीय ऊर्जा बजारमा विद्युत्को भाउ बढेपछि यसअघि दुईपटक गरेको बिड नपर्दा २० भारु तिर्ने गरी बिड गरेको घिसिङले बताए । “एक दिन आठ भारु र अर्को दिन १२ भारुमा खरिद गर्न बिड गर्दा कसैले बिक्री गरेनन् । सोही कारण तीन दिन औद्योगिक क्षेत्रमा समस्या आयो । त्यसैले २० भारुमा प्रतिस्पर्धा गरेका छौँ । आज रातिदेखि हामीले बिजुली पाउँछौँ होला,” उनले भने ।

यसअघि प्राधिकरणले स्वदेशी उत्पादनले माग धान्न नसकेको १२ हजार मेगावाट आवर भारतबाट आयात गरेको थियो । तीन दिन प्राधिकरणले बिड गरेको मूल्यमा बिजुली नपाएपछि औद्योगिक क्षेत्रमा विद्युत् अवरुद्ध भएको थियो । भारतबाट आयातित विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रलाई दिँदै आएको छ ।

जेठ/असारपछि स्वदेशी उत्पादनबाटै विद्युत् माग पूरा गर्न सकिने उनले बताए । प्राधिकरणका अनुसार हाल एक हजार ६५० मेगावाटसम्म विद्युत्को माग छ । नेपालको उत्पादन बढीमा ८०० मेगावाट छ । बाँकी विद्युत् आयात गर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro