मोरङको लेटाङमा आइतवार भएको दुःखद घटना प्रहरी, स्थानीय प्रशासन, राजनीतिक दलहरूका साथै सर्वसाधारण जनताको पनि कमजोरीका कारण भएको हो । यसैले सबै पक्षले आआफ्ना कमजोरीको समीक्षा र सुधार गर्नु जरुरी देखिन्छ ।
आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई कारबाही गर्न विद्यालयले आलटाल गरेपछि विद्यार्थी तथा तिनका अभिभावकले विद्यालय घेरे । प्रहरीले दोषीलाई बचाउन खोजेको ठानेर स्थानीयको भिड झन् उग्र भयो ।
अराजक भिडको कुटपिटमा परेर शान्ति सुरक्षाका लागि खटिएकी महिला प्रहरीको मृत्यु भयो । हिंसात्मक भिड नियन्त्रणका लागि पनि स्थानीय प्रशासनले कर्फ्यु लगायो । स्थिति नियन्त्रणमा आउन थालेपछि कर्फ्यु बिस्तारै खुकुलो बनाइएको छ ।
यौन दुर्व्यवहारको आरोपप्रति विद्यालय प्रशासन संवेदनहीन नभएको भए सम्भवतः हिंसात्मक घटना हुने थिएन । यसैले सबैभन्दा पहिले त विद्यालय प्रशासनको मानसिकता र कार्यशैलीमा सुधार जरुरी देखियो ।
जनमानसमा व्याप्त प्रहरीप्रतिको अविश्वास मूलतः यस दुःखद घटनाको कारक हो । प्रहरी पुगेपछि भिड साम्य हुनुपर्नेमा झन् उग्र भयो । प्रहरीको बिग्रेको छविमा सुधार त आवश्यक छ नै कि तमासा हेर्ने कि अनावश्यक बल प्रयोग गर्ने प्रवृत्तिमा पनि त्याग्नु जरुरी देखिन्छ ।
सबैभन्दा बढी कमजोरी भने स्थानीय राजनीतिक कार्यकर्ताको देखिन्छ । जनतालाई राजनीतिक नेताहरूले सही मार्ग देखाउन सक्नुपर्थ्यो । उत्तेजनाको राजनीति छाडेर राजनीतिक कार्यकर्ताहरूले संयमको बाटो अपनाउनुपर्ने देखियो ।
समग्रमा भने राज्यले अपनाउँदै आएको दण्डहीनताको संस्कार नै यस्ता प्रकारका घटनाको जड हो । भिडले गर्ने उग्र र हिंसात्मक क्रियाकलापमा कसैमाथि पनि कारबाही नहुने वा राजनीतिका नाममा हुने अपराधमा खतबात माफ हुने भएपछि समाजको चरित्र हिंसक र अराजक हुन्छ नै ।
महिला प्रहरीको हत्याबाट लेटाङमाथि लागेको कलङ्क मेटाउन पनि त्यहाँका बासिन्दा थप शान्त र संयमित हुनुपर्छ । साथै त्यो दिन भिडलाई अराजक र हिंसात्मक बनाउने गरी उक्साउनेहरू पहिल्याएर दण्ड दिलाउन पनि स्थानीयहरूले सहयोग गर्नुपर्छ ।