site stats
बाह्रखरी :: Baahrakhari
विशेष
एक लाख ४२ हजार ऋणीलाई साढे दुई खर्ब सहुलियत कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दुई खर्ब ५० अर्बभन्दा बढी ब्याज अनुदानको समुहलियतपूर्ण कर्जा लगानी गरेका छन् । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा आएसँगै हालसम्म बैंक तथा वित्तीय संस्थाले एक लाख ४२ हजार ३४४ जना ऋणीलाई दुई खर्ब ५० अर्ब १४ करोड ४४ लाख ४५ हजार रुपैयाँ सहुलियतपुर्ण कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल स्वीकृत कर्जामध्ये गएको माघ मसान्तसम्म लगानी रहेको सहुलियतपूर्ण कर्जा दुई खर्ब १४ अर्ब ७८ करोड १० लाख ८५ हजार रुपैयाँ छ । ३५ अर्बभन्दा बढी कर्जा चुक्ता भइसकेको छ । 

नेपाल सरकारले २०७५ मा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गर्दै राष्ट्र बैंकमार्फत विभिन्न सात शीर्षकमा ब्याज अनुदानसहित सहुलितपूर्ण कर्जा लगानी गर्दै आएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन शीर्षक थप भई हाल १० शीर्षकमा सहुलियतपूर्ण कर्जा लगानी हुँदै आएको छ । जसमध्ये महिला उद्यमशील कर्जामा ६ प्रतिशत र त्यसबाहेक नौ शीर्षकमा पाँच प्रतिशत ब्याज अनुदान सरकारले दिँदै आएको छ । 

सरकारले चालु आर्थिक वर्षको माघ मसान्तसम्म उक्त कर्जाको ब्याज अनुदानका लागि ११ अर्ब ५० करोड ८६ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ ।

दश शीर्षकमध्ये सबैभन्दा धेरै कर्जा व्यावसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा गएको छ । उक्त शीर्षकमा ५८ हजार २६९ जना ऋणीलाई एक खर्ब ५८ अर्ब ७७ करोड ३८ लाख ९७ हजार स्वीकृत भएकोमा एक खर्ब ३६ अर्ब ८२ करोड ९२ लाख सात हजार बाँकी छ । 

व्यावसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा धितोसहित विनाधितो कर्जा लगानी हुने गरेको छ । धितोमा ५२ हजार ३१९ ऋणीलाई एक खर्ब ५५ अर्ब ४८ करोड १७ लाख ७८ हजार कर्जा लगानी स्वीकृत भएकोमा एक खर्ब ३४ अर्ब ४० करोड नौ लाख ८३ हजार रुपैयाँ बाँकी छ । 

विनाधितोमा पाँच हजार ९५० ऋणीलाई तीन अर्ब २९ करोड २१ लाख १९ हजार रुपैयाँ कर्जा लगानी भएकोमा दुई अर्ब ४२ करोड ८२ लाख २४ हजार चुक्ता बाँकी छ ।

 कृषिपछि महिला उद्यमशीलता कर्जामा धेरै लगानी भएको छ । महिला उद्यमशील कर्जा शीर्षकमा ८१ हजार २२७ ऋणीलाई ८५ अर्ब ९९ करोड ३५ लाख ९६ हजार कर्जा स्वीकृत भएकोमा ७४ अर्ब १९ करोड ४६ लाख ४१ हजार बाँकी छ ।

यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा १५१ जना ऋणीलाई सात करोड ९० लाख ६१ हजार कर्जा स्वीकृत भएकोमा पाँच करोड ९४ लाख ८६ हजार बाँकी छ । 

विदेशबाट फर्केका युवा परियोजना शीर्षकमा ९५७ जना ऋणीलाई ७८ करोड ४७ लाख ४० हजार कर्जा स्वीकृत भएकोमा ६२ करोड ६५ लाख ४० हजार लगानीमा छ ।

दलित समुदाय व्यवसाय विकास शीर्षकमा एक हजार १०७ जना ऋणीलाई ७६ करोड ६० लाख ७६ हजार कर्जा स्वीकृत भएको छ । जसमध्ये ६२ करोड १७ लाख ४९ हजार कर्जा रि–पेमेन्ट गर्न लगानीमा छ । 

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा शीर्षकमा १४० जना ऋणीलाई चार करोड ७४ लाख २६ हजार कर्जा स्वीकृत भएकोमा तीन करोड ५० लाख ४४ हजार बाँकी छ ।

भूकम्पपीडितहरूको निजी आवास निर्माण शीर्षकमा २१८ ऋणीलाई ६ करोड ३८ लाख २३ हजार कर्जा स्वीकृत भएकोमा ३ करोड ९० लाख ५६ हजार लगानीमा छ । उक्त शीर्षकको सहुलियतपूर्ण कर्जा बन्द भइसकेको छ ।

कपडा उद्योग सञ्चालन गर्न दिने कर्जा २५० ऋणीका लागि तीन अर्ब ६२ करोड ६३ लाख २६ हजार कर्जा स्वीकृत भएकोमा दुई अर्ब ६७ करोड ७१ लाख दुई हजार लगानीमा छ ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि दुई जनालाई चार लाख कर्जा स्वीकृत भएकोमा तीन लाख तीन हजार कर्जा चुक्ता लगानीमा छ ।

युवा वर्ग स्वोरजगार शीर्षकमा २३ जनाका लागि ९१ लाख रुपैयाँ कर्जा स्वीकृत भएकोमा ७९ लाख ५८ हजार रुपैयाँ लगानीमा छ ।

सुरुमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले मात्रै ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा लगानी गर्ने गरेकोमा हाल लघुवित्त संस्थामार्फत पनि लगानी हुँदै आएको छ ।

हालसम्म वाणिज्य बैंकले एक लाख २० हजार ८७१ ऋणीलाई दुई खर्ब १७ अर्ब ७२ करोड २९ लाख दुई हजार कर्जा स्वीकृत गरेकोमा एक खर्ब ८५ अर्ब ८२ करोड ५५ हजार लगानीमा छ । यस्तै, विकास बैंकले १९ हजार ६११ ऋणीलाई २९ अर्ब २५ करोड ६ लाख २३ हजार कर्जा स्वीकत गरेकोमा २६ अर्ब दुई करोड ७५ लाख ९७ हजार लगानीमा छ ।

फाइनान्स कम्पनीले एक हजार ७४४ ऋणीलाई तीन अर्ब पाँच करोड ५३ लाख ८० हजार कर्जा स्वीकृत गरेकोमा दुई अर्ब ८४ करोड ४७ लाख ५१ हजार कर्जा लगानीमा छ ।

लघुवित्तमार्फत ११८ ऋणीलाई ११ करोड ५५ लाख ४० हजार कर्जा स्वीकृत भएकोमा आठ अर्ब ८६ करोड ८१ लाख लगानीमा छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्