रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कथित ‘विशेष सैन्य कारबाही’का कारण युक्रेनमा भएको भिषण मानवीय क्षतिमा सभ्य भनिने संसार किनाराको साक्षी हुन पुगेको छ । प्रसूति अस्पतालमा समेत बम वर्षा प्रहार गरेर सुत्केरी आमा र नवजात शिशुको हत्या गरिएको समाचार मानवताको इतिहासका कलङ्क हो ।
यस मानवता विरोधी अपराधमा पुटिनको आक्रमणको विरोध गरेर पनि तमासा हेर्ने युरोप र अमेरिका वा तटस्थताको बहानामा पुटिनलाई धाप मार्ने चीन, भारत पनि जिम्मेवार देखिएका छन् । साथै, संयुक्त राष्ट्रसंघ नामको एउटा विश्व संस्थाको त स्थापनाको मूल उद्देश्यमै प्रश्न उठेको छ ।
एउटा स्वतन्त्र राष्ट्रमाथि बलियो छिमेकीले गरेको सैनिक आक्रमणमा अस्पताललगायत नागरिक क्षेत्रमा समेत बम वर्षाइएको छ । करिब ३० लाख युक्रेनीहरू ज्यान जोगाउन शरण खोज्दै देशबाहिर भागेका छन् । सीमा क्षेत्रमा शरणार्थीहरूको लामो लाम लागेको समाचार छ ।
रुसी सैनिकले कब्जा गरेको मारिउपोलमा मात्र २ हजारभन्दा बढी गैरसैनिक मारिएका छन् । संयुक्त राष्ट्र बालकोषका अनुसार रुसको आक्रमणपछि प्रत्येक सेकेन्ड कम्तीमा एक जना केटाकेटी शरणार्थीका रूपमा देश छाड्न बाध्य पारिएका छन् । युक्रेन आक्रमणमा देखिएकाे बहुलठ्ठी र बलमिच्याइँ हेर्दा रुसले आणविक हतियार प्रयाेग गर्ने जाेखिम बढेर गएकाे छ ।
सम्भवतः यही कारणले युक्रेनले पुटिनमाथि अन्तर्राष्ट्रिय अदालत वा इजलास खडा गरी मुद्दा चलाउन माग गरेको हो । कमजोर युक्रेनको माग त अहिले पूरा नहोला तर नैतिकरूपमा रुसका राष्ट्रपति पुटिनले यस नरसंहारको जिम्मा लिनुपर्छ ।
एक्काईसौं शताब्दीमा पनि शक्ति हुनेले निर्धोमाथि थिचोमिचो गर्दा सिंगो विश्व तमासा हेरेर बसेको देखिने यथार्थमा मानव समुदायकै लागि लज्जाको विषय हो । यद्यपि, पुटिनकै जस्तो युद्धपिपासा अरू युरोपेली र अमेरिकी नेतृत्वले पनि देखाएको भए सम्भवतः तेस्रो विश्वयुद्ध सुरु भइसक्नेथियो ।
अर्को सार्वभौम मुलुकमाथि आक्रमण गर्नु अर्घेल्याइँ नै हो । यसैले रुसले तत्काल युद्धविराम गरेर निर्दोष युक्रेनी जनताको हत्या बन्द गर्नुपर्छ । यस्तै रुसमाथि पश्चिमले लगाएको आर्थिक प्रतिबन्धबाट पनि पुटिन नभएर निर्दोष जनताले नै कष्ट सहनु पर्ने हुनाले फिर्ता लिनुपर्छ ।
नेपालले युक्रेनमा भएको सैनिक आक्रमणको निन्दा गरेर सार्वभौम राष्ट्रको अधिकार र अखण्डताका पक्षमा सही नीति अपनाएको छ । आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा न्याय र स्वतन्त्रता एवं विश्व शान्तिका पक्षमा दृढतापूर्वक उभिने अपेक्षा छ ।