गैरजिम्मेवार राजनीतिकर्मी र संवेदनहीन कर्मचारीतन्त्रका कारण नेपालमा ठूला विकास आयोजना पूरा हुनै नपाउने अवस्था उत्पन्न भएको छ । विशेषगरी विपक्षमा पुग्नेबित्तिकै राजनीतिकर्मीहरूले झिक्ने बखेडाले आयोजनाहरू सधैँ मारमा पर्ने गरेका छन् ।
निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको एउटा खण्ड गत बर्खा यामको बाढी पहिरोबाट क्षतिग्रस्त भयो । बाढीबाट स्थानीय जनताको पनि ठूलो क्षति भयो । बाढीपीडितहरूले स्वाभाविकरूपमा सरकारबाट सहायताको अपेक्षा गरेका थिए ।
दुर्भाग्य, बाढी आएको करिब ८ महिना बित्दासम्म पनि न सरकारले पानी चलाउन सक्यो न बाढीपीडितका समस्या नै सम्बोधन गर््यो । युद्धस्तरमा गर्नुपर्ने काममा पनि ढिलासुस्ती गरियो ।
करिब ६ महिनाको अलमलपछि नदीमा थुप्रिएको गेगर हटाउने काम सुरु गरेको समाचारले काकाकुल उपत्यकावासी केही खुसी भएका थिए । विडम्बना, बाढीपीडितका नाममा नेकपा ९एमाले० का स्थानीय नेताहरूले काम रोक्ने चेतावनी दिइसके ।
बाढीपीडितहरूको पुनःस्थापना राज्यको दायित्व हो । यसैले पीडितहरूले आन्दोलन नगरीकनै सम्बन्धित निकायमा पदाधिकारीले त्यहाँको समस्या सम्बोधन गर्नुपर्थ्यो । त्यसका लागि सरकारी अधिकारीहरूमा मानवीय संवेदनशीलता आवश्यक हुन्छ ।
सरकारी अधिकारीहरूले बेलैमा संवेदनशीलता नदेखाएको सजाय मेलम्ची आयोजनाको काम रोकेर दिनखोज्नु उचित उपाय होइन । बाढीपडितलाई सहायता उपलब्ध नहुनुमा दोषी मेलम्ची आयोजना वा अहिले काम गर्ने ठेकेदार त होइन नि ।
नकारात्मक राजनीति गर्दैआएका राजनीतिक दलका नेता कार्यकर्तालाई चुनावका मुखमा जनता उचाल्नका लागि मेलम्चीको बाढी र सरकारी संवेदनहीनताले मौका भने दिएको छ । परन्तु, उनीहरू बाढीपीडितले अहिले साँच्चै सहयोग पाउन् भन्ने चाहन्छन्जस्तो देखिन्न ।
बाढी आएको केही समयसम्म त अहिले पीडितहरूलाई उक्साउने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का यिनै नेता कार्यकर्ता सत्तामा थिए । प्रदेश सरकार त धेरैपछि सम्म पनि एमालेकै नेतृत्वमा थियो । उतिबेला त यिनले बाढीपीडितको पीडा देखेनन् ।
यसैले चुनावी राजनीतिको गोटी बनेर आयोजनाको काम रोक्न नतम्सँदा नै स्थानीय जनताको पनि हित हुनेछ । राजनीति गर्नेहरू पनि सत्तामा हुने संवेदनशील र विपक्षमा रहेकाहरू जिम्मेवार हुन सिक्नु र सक्नुपर्छ ।
स्थानीय जनताको पीडालाई दोहन गरेर आयोजना बिथोल्न नदिन सरकारले नै अग्रसरता देखाएर समस्याको सम्बोधन गरोस् । मेलम्चीको काम रोक्ने वा बिथोल्ने दुष्प्रयासलाई बेलैमा तह लगाउनु उचित हुनेछ ।