काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिका उमेदवार वंशलाल तामाङले सिन्धुपाल्चोक जिल्लाका ‘भुइँ मान्छे’लेसमेत अपनत्व लिनसक्ने पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
तीन दिनपछि हुने जिल्ला अधिवेशनमा संस्थापन इतर समूहबाट सभापति पदको उमेदवार रहेका तामाङले जिल्लामा कांग्रेसलाई टोलदेखि सिङ्गो जिल्लाको विकास गर्ने ‘भिजिनरी’ कांग्रेस बनाउने आफ्नो सपना रहेको बताए । सुदृण संगठन गतिशित नेतृत्व तथा नेपाली कांग्रेसलाई जिल्लाकै पहिलो पार्टी बनाउन एकै ताल यसै साल वंशलाल भन्ने नाराका साथ आफू सभापति पदको उमेदवार बनेको उनको भनाइ छ ।
इन्द्रावती गाउँपालिका अध्यक्ष समेत रहेका तामाङले जिल्ला अधिवेशन सम्पन्न हुनेवित्तिकै पार्टी स्थानीय तह निर्वाचन केन्द्रित हुने बताए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि फागुन २८ गते जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनमा हालसम्म डा. प्रेमधोज लामा, जंगबहादुर तामाङ र वंशलाल तामाङ सभापति बन्ने दौडमा देखिएका छन् ।