निर्वाचन आयोगले गरेको स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छाप्न हरियो रंगको मसी प्रयोग गर्ने निर्णयमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले आपत्ति प्रकट गरेका छन् । नेपाली कांग्रेसको चुनाव चिह्न रूख भएकाले हरियो मसी छानिएको शंका ओलीको छ ।
प्रमुख विपक्षी नेताले नै प्रश्न उठाएकाले हो कि निर्वाचन आयोगले पनि तुरुन्तै हरियो मसी प्रयोग गर्नुको उपादेयता खुलाएर स्पष्टीकरण दियो । आयोगका अनुसार हरियो मसीमा छापिएको चिन्ह मतदाता र गणकहरूका लागि सुविधाजनक हुन्छ ।
विगतका निर्वाचनहरूमा पनि मतपत्र छाप्न हरियो मसीको प्रयोग भइसकेको छ । अध्यक्ष ओलीले भनेजस्तो हरियो रंगमा छापिँदैमा सबै चिह्न रुखैरुख देखिने पक्कै हुँदैन । यसैले अहिलेसम्म मसीको रंगका विषयमा प्रश्नै नउठेको हुनुपर्छ ।
नेपालका अधिकांश राजनीतिक नेताहरू यस्तै अनर्गल टिप्पणी गर्न अभ्यस्त छन् । भिडको चाहनाअनुसार बोल्नेमात्र हैन अनावश्यक र अनुचित विवाद खडा गर्ने पनि उनीहरूको बानी नै परेको देखिन्छ ।
सम्भवतः संसारको कुनै मुलुकमा पनि देशको प्रधानमन्त्री भइसकेका संसद्का प्रमुख विपक्षी नेताले यस्तो हल्का टिप्पणी गर्दैनन् । यद्यपि, ओलीले विगतमा पनि अनेकौंपटक यस्तै हास्यास्पद टिप्पणी सार्वजनिकरूपमै गरिसकेकाले उनको कथनलाई गम्भीरतापूर्वक नलिए पनि हुन्थ्यो ।
राजनीतिक दलका नेताले गम्भीर विषयमा समेत हल्का टिप्पणी गर्ने र प्रत्येक घटनालाई ‘षड्यन्त्रको सिद्धान्त’बाट व्याख्या गर्दा समाजमा गलत सन्देश प्रवाहित हुने गरेको छ । अमेरिकी अनुदानका सम्बन्धमा फैलेको भ्रम यस पछिल्लो उदाहरण हो ।
निर्वाचन आयोगको स्पष्टीकरणले अध्यक्ष ओलीको सन्देह गलत भएको र निर्वाचन आयोगमाथि उनले लगाएको आरोप पनि असत्य भएको स्पष्ट भएको छ । निर्र्वाचन आयोगले गरेका गल्ती र त्रुटि औँल्याउँदा उसको खास गिर्ने गरी लगत आरोप लगाउनु उचित हुँदैन ।
षड्यन्त्रको भ्रम छरेर अलमल्याउन अभ्यस्त नेताहरूले अब समाजको चेतना स्तर माथि उठिसकेको पनि हेक्का राखून् । डन क्विअटेको शैलीमा काल्पनिक शत्रु र षड्यन्त्रको भ्रम फैलाउनेहरू अब उपहासका पात्रमात्र बन्नेछन् ।