सामान्यतः चैतदेखि जेठसम्म आगलागीको जोखिम बढी भए पनि यो वर्ष फागुनको अन्तिम सातामै आगलागीका घटना भएका छन् । तनहुँको दमौली बजारमा आइतबार र सोलुखुम्बुको लुक्ला विमानस्थलमा सोमवार आगलागी भएको छ ।
दमौली बजारको बाक्लो बस्तीमा एउटा पसलबाट सुरु भएको आगोले वरपरका केही घरहरूमा समेत क्षति पुगेको छ । दमौलीमा लागेको आगो नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टरसमेत लानु परेको थियो ।
लुक्ला विमानस्थल नजिकैको वनमा आगो लाग्दा सोमवार दिउँसोको हवाई उडानसमेत प्रभावित भएको थियो । विकट वनमा लागेको आगो स्थानीय प्रयासबाट नियन्त्रण हुनसकेको छैन ।
आगलागीका यी दुवै घटना भवितव्यजस्तै देखिन्छन् । तर, वनमा होस् कि बस्तीमा आगलागीमा मानवीय कारण भने रहेकै हुन्छ । मूलतः मानवीय लापरवाहीका कारण नै आगलागी हुने गर्छ ।
नेपालका अधिकांश बस्तीहरूमा आगलागीजस्तो घटना नियन्त्रण गर्न निकै चुनौतीपूर्ण हुन्छ । आगो निभाउने प्रविधि, यन्त्र र जनशक्तिको अभाव त छँदैछ अधिकांश पुराना बस्तीहरूमा बाटाका कारणले पनि दमकल पुग्न सक्तैन ।
मूलतः तराईमा गरिबका बस्तीहरू र पहाडका बजार क्षेत्रका पसलहरू आगलागीको बढी जोखिममा हुन्छन् । बर्सेनी आगलागीका भीषण घटनामा ठूलो धनमालको क्षति हुने गरेको छ । तर, आगलागी नियन्त्रणका लागि हुनु गरिनुपर्ने तयारीमा भने कसैको ध्यान गएको देखिँदैन ।
प्रत्येक घरमा अग्नि नियन्त्रक सामग्रीसम्म पनि राख्न सके बस्तीमा हुने आगलागीको क्षति कम गर्न सकिन्छ । यस्तै वनमा अग्नि नियन्त्रक रेखा बनाउन सके डँडेलाको प्रकोप कम गर्न सकिन्छ ।
घना बस्तीका फुसको छानो भएका घरमा पक्की छानोमात्र हाल्न सके पनि आगलागीले प्रकोपको रूप लिन पाउँदैन । स्थानीय तहका जनप्रतिनिधिले चाहने हो भने फुसको छानो भएका घरमा पक्की छानो बनाउन खासै कठिन हुनेछैन ।
वनमा अग्नि नियन्त्रक रेखा निर्माणका साथै अन्य व्यवस्था मिलाउन प्रदेश र केन्द्र सरकारले योजनाबद्धरूपमा प्राथमिकता दिनु आवश्यक देखिन्छ । यसैगरी प्रत्येक घरमा आगो निभाउने ‘फायर एक्स्टिङगुएसर’ अनिवार्य राख्ने व्यवस्था मिलाउन सके पनि ठूलो दुर्घटना रोक्न सकिनेछ ।
स्थानीय तहहरूले पनि दमकलजस्ता उपकरण र यन्त्रलाई प्राथमिकता दिनुपर्छ । अग्नि नियन्त्रणको पूर्वतयारीमा गरिने खर्च उत्पादन क्षेत्रमा गरिएको लगानीभन्दा बढी लाभदायी हुन्छ । यसैले विपत्ति नआउँदै पूर्वतयारी गरेर बुद्धिमत्ता प्रदेशन गरौँ ।