काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्ने यसवर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान–२०७८ विशिष्ट साहित्यसाधक परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानले १४ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा यस वर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान–२०७८ प्रधानलाई प्रदान गर्न लागिएको उल्लेख छ ।
त्यस्तै सशक्त शब्दशिल्पी मञ्जु काँचुलीलाई रु एक लाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार—२०७८, त्यस्तै बहुआयामिक जुझारु स्रष्टा एवम् अनुवादक र अभियन्ता केशव सिग्देललाई रु. ७५ हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार—२०७८, त्यस्तै साहित्यिक पत्रकार एवम् स्रष्टा धीरेन्द्र प्रेमर्षिलाई रु. ५० हजार राशिसहितको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार—२०७८, त्यस्तै ललितकलाका साधक एवम् अभियन्ता मूर्तिकार ओम के.सी.लाई रु. ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७८ र नेपाली साङ्गीतिक जगत्का सङ्घर्षशील एवम् लोकप्रिय कलाकार शिव परियारलाई रु. ५० हजार राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार—२०७८ प्रदान गर्ने निर्णय गरिएको छ ।
सो निर्णय हालै प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले गरेको हो । सो सम्मान तथा पुरस्कार अगामी यही चैत महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने जनाइएको छ ।
यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान र रामेशलाई प्रदान गरिसकिएको छ भने राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक र अशेष मल्ललाई प्रदान गरिएको थियो ।
विगत १० वर्षदेखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनुमञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा र ठाकुर बेलवासेलाई प्रदान गरिएको थियो । यस्तै बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, पूmलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे र लक्ष्मी उप्रेतीले प्राप्त गरिसकेका छन् भने थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७५ चित्रकार एरिना ताम्राकार, २०७६ मा मूर्तिकार विक्रमश्री र २०७७मा विधाता के.सी.ले प्राप्त गरिसकेका छन् । त्यस्तै विगत दुई वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार क्रमशः शिशिर योगी र मिलन नेवारलाई प्रदान गरिएको थियो ।