हालै बलात्कारको आरोप लागेका एक जना अभियुक्तका पक्षमा सामाजिक सञ्जाल र सडकमा देखिएको प्रचारवाजीले नेपाली समाजको नकारात्मक पक्ष उजागर भएको छ । आरोपित व्यक्तिका प्रशंसक र शुभेच्छुकका नाममा पीडित किशोरीको चरित्र हत्याको प्रयास गर्नु दण्डनीय अपराध हो ।
पहिलो त सडकबाट आरोपित वा पीडितका पक्ष विपक्षमा वातावरण बनाउने प्रयास नै न्याय सम्पादनमा अवरोध खडा गर्नु हो । त्यसमाथि समाजमा नामचलेका कलाकारहरू नै आरोपितका पक्षमा सडक र सामाजिक सञ्जालमा जनमत बनाउन तम्सनु अर्को दुर्भाग्य हो ।
यस मुद्दामा बलात्कारजस्तो संवेदनशील मानवीय पक्ष त जोडिएकै छ पीडितको उमेर १८ वर्ष नपुगेको अर्थात् बालिका नै भएको तथ्य पनि आरोपितका शुभेच्छुकहरूले बेवास्ता गरेका छन् । कानुन तथा सभ्य समाजको अभ्याससमेत प्रतिकूल हुनेगरी पीडित बालिकाको परिचयसमेत कतिपय सार्वजनिक गरेका छन् ।
अदालतको आदेशमा हिरासतमा राखिएका आरोपितका प्रशंसक, शुभेच्छुकहरूले तनहुँ प्रहरी कार्यालय वरपर नारावाजी गरेर पीडित किशोरीको गोपनीयतामा त अतिक्रमण गरेकै छन् बालअधिकारको हनन पनि गरेका छन् । यी दुवै क्रियाकलाप कानुनतः दण्डनीय सरकारवादी फौजदारी अपराध हुन् ।
अपराधकाे किटान र सजायकाे निर्णय अदालतले गर्छ । आराेप लाग्दैमा कसैलाई अपराधी ठान्नु न्यायाेचित हुँदैन । परन्तु, आराेपित अभिनेताका प्रशंसकहरूले भने पीडित किशाेरीका बदनाम गरेर दण्डनीय अपराध गरेका छन् । यस्ता कलाकार सामाजिक बहिष्कार याेग्य हुन् ।
यसैले प्रहरीले बेलैमा यस्तो अपराध पनि रोक्ने प्रयास गर्नुपर्थ्यो । प्रहरीले विज्ञप्ति जारी गरेर चेतावनी दिए पनि पीडित बालिकाविरुद्ध अनर्गल प्रचारवाजी गर्ने जमातका अगुवामाथि कारबाही गरिएको छैन । यस्तै, सामाजिक सञ्जालबाट गरिएका अपराधमा पनि कसैलाई कारबाही गरिएन ।
यस प्रकरणबाट नेपाली समाजको एउटा समूहको मध्ययुगीन मानसिकता टड्कारोसँग प्रकट भएको छ । दर्शकका सामु देखिने सुन्दर अनुहारभित्र लुकेको कुरूप पक्ष पीडीत किशोरीलाई नै थप पीडा दिने गरी देखापरेको छ ।
बलात्कार र त्यसमा पनि बालिका बलात्कारका घटनामा आरोपितका पक्षमा सडकमा जाने दुस्साहस गर्नेहरूको सभ्य समाजमा कुनै स्थान हुन सक्तैन । नेपाली समाज र राज्य प्रणालीलाई अब फेरि मध्ययुगतर्फ फर्काउने दुश्चेष्टा कसैले पनि नगरे हुन्छ ।
शासनमा व्याप्त दण्डहीनता तथा समाजमा विद्यमान सामन्ती मानसिकताका कारण कतिपय व्यक्तिको अवचेतनमा बालिका बलात्कारलाई समेत सामान्य गल्ती ठान्ने र पीडितलाई नै दोषी मान्ने प्रवृत्ति रहेको छ । बालअधिकार र बलात्कारका विषयको संवेदनशीलता थाहा पाएपछि पनि आफ्नो धारणा सच्याउन नचाहनु भने आपत्तिजनक प्रवृत्ति हो ।
कानुनअनुसार प्रहरीले मुद्दा अगाडि बढाउने नै छ । नेपालको न्याय सम्पादनको अभ्यास बालमैत्री छैन । त्यसमा पनि बलात्कारको मुद्दामा त पटकपटक पीडितको मानसिक बलात्कार हुन्छ । यसैले पनि मुद्दाका सम्बन्धमा सञ्चार माध्यमहरू पनि बढी संवेदनशील हुनुपर्छ ।
समाजले भने यति संवेदनशील विषयमा पनि किन्तु, परन्तु गर्नेहरूलाई चिन्ने मौका पाएको छ । त्यसमाथि पीडितलाई नै दोषी देखाउन लाज र नैतिकता बिर्सेर अगाडि सर्नेहरूको अनुहार पनि सार्वजनिकरूपमै देखिएको छ । यस्ता सबैलाई सार्वजनिकरूपमा बहिष्कार गर्न सके सम्भवतः यसपछि कोही पनि यति धेरै संवेदनहीन हुनेछैनन् ।