काठमाडौं । आशिष चापागाईंको ह्याट्रिकप्रेरित चर्च ब्वाइज युनाइटेडले बिहीबार सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुशाल युथ क्लबमाथि ५–२ को विजय हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आशिषको गोलबाट चर्च ब्वाइजले छैटौँ मिनेटमा अग्रता लिएको थियो । आशिषले १७औँ मिनेटमा क्लबको अग्रता दोब्बर बनाए । चर्च ब्वाइजका विकाश राईले २१औँ मिनेटमा तेस्रो गोल थपे । ३३औँ मिनेटमा आशिषले ह्याट्रिक गरे ।
जिलेस्पीजंग कार्कीले ७२औँ मिनेटमा गरेको गोलबाट टुशालले पुनरागमनको प्रयास गरेको थियो । तर चर्च ब्वाइज युनाइटेडका वैकल्पिक खेलाडी कुवेर न्यौपानेले अर्को गोल थपेपछि टुशालको पुनरागमन प्रयास सफल हुन सकेन । वैकल्पिक खेलाडी उत्तम शाहीले खेल सकिन एक मिनेट बाँकी हुँदा गरेको गोल टुशालका लागि सान्त्वना बन्यो ।
बुधबारबाट सुरु ‘बी’ डिभिजन लिगको पहिलो दिन ब्वाइज युनियन, सरस्वती युथ र श्री भगवती क्लबले विजय हासिल गरेका थिए । ब्वाइज युनियनले विरगञ्ज युनाइटेड, सरस्वती युथले बाँसबारी र श्री भगवतीले झम्सीखेल युथलाई हराएको थियो ।