काठमाडौं । काठमाडौंबाट चोरी गरेर अमेरिका पुर्याइएका ऐतिहासिक पुरातात्विक महत्वका मूर्ति र टुँडाल नेपाल फर्काएर पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।
विभिन्न समयमा चोरी गरी अमेरिकाको न्युयोर्कस्थित तिब्बत ग्यालरीमा बुद्धको मूर्ति र सोही ठाउँकै रुबिन म्युजियममा टुँडाल र एउटा काष्ठकला पुर्याइएको थियो । ती सम्पदालाई ग्यालरीकै पदाधिकारीहरूले नेपाल पुर्याएर विभागलाई हस्तान्तरण गरेका हुन् । नेपालका तर्फबाट पुरातत्व विभाग र इन्टरपोल प्रहरीको सहायता रहेको थियो ।
विभागकाअनुसार १३ औँ शताब्दीको बुद्धको मूर्ति ३० हजार अमेरिकी डलर, १७ औँ शताब्दीको काष्ठकला एक लाख १० हजार अमेरिकी डलर र १४औँ शताब्दीको टुँडाल २२ हजार अमेरीकी डलर पर्न आउँछ । जुन एक लाख ६२ हजार अमेरिकी डलर हुन आउँछ ।
यम्पी महाविहार ललितपुरबाट तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला चोरी भएको थियो । अब विभागले सोही स्थानमा व्यवस्थित तरिकाले पुनर्स्थापना गर्ने जनाइएको छ ।
हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, विभागका पदाधिकारी र ग्यालरीका पदाधिकारी थिए ।