काठमाडौं । बीर गणेशमान सिंह स्पोर्टस कमिटीले फागुनको तेस्रो साताबाट तीन खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।
विभिन्न खेलकुदका गतिविधिहरु संचालन गर्दै आएको बीर गणेशमान सिंह स्पोर्टस कमिटीले फेन्सिङ, बक्सिङ र १० किलोमीटर रोड रेस आयोजना गर्न लागेको हो ।
बीर गणेशमान सिंह स्पोर्टस कमिटीका संयोजक संजिव तुलाधरले गणेशमान सिंहको स्मृतिमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल क्षेत्रमा विविध गतिविधिहरु संचालन गर्दै सिंहको जीवन सन्देशलाई नयाँ पुस्तासम्म पुर्याउदै जाने उद्देश्यका साथ तीन खेलको राष्ट्रिय प्रतियोगिता संचालन गर्न लागेको बताए ।
राष्ट्रिय फेन्सिङ प्रतियोगिता २०७८ साल फागुन २१ बाट २३ गतेसम्म हुनेछ । राष्ट्रिय वक्सिङ प्रतियोगिता २०७९ साल वैशाख ६ बाट १० गतेसम्म हुनेछ । त्यस्तै बीर गणेशमान सिंह १० किलोमीटर रोड रेसको तेस्रो संस्करण २०७९ साल वैशाख १७ गतेसम्म हुनेछ ।
यसै हप्ताबाट हुने फेन्सिङ प्रतियोगितामा महिला तथा पुरुषमा समान तीनवटा इभेन्टमा प्रतिष्पर्धा हुनेछ । वैशाख पहिलो हप्ता हुने राष्ट्रिय बक्सिङ प्रतियोगितामा ओलम्पिक तौल समूहअनुसार पुरुषतर्फ ७ र महिलातर्फ ५ गरी १२ वटा तौल समूहमा प्रतिष्पर्धा हुनेछन् ।
वैशाख महिनामा हुने बीर गणेशमान सिंह १० किलोमीटर रोड रेसको तेस्रो संस्करणमा यस वर्ष ५ किलोमिटर दौडलाई पनि समावेश गरिएको संयोजक तुलाधरले बताए ।
फेन्सी प्रतियोगिताको संयोजकमा संघका कोषाध्यक्ष अनुपाली रहनेछन् भने बक्सिङ प्रतियोगिताको प्राविधिक डाइरेक्टरमा बसी प्रशिक्षक प्रचण्ड शर्मा र समोजकमा राजीव श्रेष्ठ रहनेछन् ।
यसै गरी १० किलोमीटर रेस डाईरेक्टरमा पूर्व मुख्य एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा र संयोजकमा राजनीलाई जिम्मेवारी प्रदान गरिएको छ ।