अन्ततः धेरैले अनुमान गरेजस्तै रूसका तानाशाह भ्लादिमिर पुटिनले सानो छिमेकी युक्रेनमाथि सैनिक हमला गरिछाडे । युक्रेनी सेना र जनताले ज्यानको बाजी लगाएर प्रतिरोध गरे पनि आणविक शस्त्रास्त्र भएको रुसको सैनिक प्रतिवाद गर्न पक्कै सहज हुनेछैन ।
अमेरिकालगायत पश्चिमी मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गर्नुबाहेक युक्रेनको सार्वभौमसत्ता जोगाउने कुनै ठोेस कदम चाल्न सकेका छैनन् । त्यसो त उनीहरूसँग रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने र नैतिक दबाब दिनेबाहेक अरू सही विकल्प पनि छैन ।
दोस्रो विश्वयुद्ध समाप्त भएपछि रुसले केही पूर्वी युरोपेली कम्युनिस्ट मुलुकहरूमा यदाकदा सैनिक हस्तक्षेप गरेबाहेक यसरी अर्को मुलुकविरुद्ध सैनिक आक्रमण भएको थिएन । यसैले पनि युरोपियन युनियन र अमेरिकाले पनि रुसले यसरी आक्रमण गरिहाल्छ भन्ने नठानेको हुनसक्छ ।
रुसी आक्रमणको संसारभर निन्दा भएको छ । विशेषगरी नागरिक संरचनामा भएको रुसी आक्रमणबाट उत्पन्न मानवीय सङ्कटले विश्व मानव समुदाय चिन्तित भएका छन् । तत्काल आक्रमण बन्द गरी सेना युक्रेनबाट रुसी सेना फिर्ता लैजान दुनियाँभरबाट पुटिनलाई आग्रह गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमण रोकेर वार्ता गर्न रुसी तानाशाह पुटिनलाई पुनः आग्रह गरेका छन् । उनले आफू र आफ्नो परिवारको जीवन जोखिममा भए पनि देश नछाड्ने वचन दिँदै युक्रेनी जनतालाई देशको स्वतन्त्रताको रक्षाका लागि उत्रिन आह्वान पनि गरेका छन् ।
परन्तु, संसारका अरू तानाशाहले जस्तै विवेक र शान्तिको भाषा पुटिनले पनि नसुन्ने लक्षण देखिइसकेको छ । करिब ४ करोड ३० लाख जनसङ्खया भएको युक्रेनमा कब्जा गरेर रूसी कटपुतली सरकार स्थापना गर्ने उद्देश्य पूरा नगरी पुटिनको युद्ध पिपासा सायद रोकिनेछैन ।
पश्चिमा मुलुकहरू विशेषगरी अमेरिकाको भूमिका युक्रेन सङ्कटमा पनि पटक्कै भरपर्दो हुनसकेन । अमेरिकाले आड नदिएको भए सायद युक्रेनले बेलैमा तुष्टीकरणको नीति अपनाउने थियो । लोकतान्त्रिक विश्वका राजनीतिक नेतृत्वले विवेक र नैतिकताको सीमा नाघ्न नसक्नुलाई पनि पुटिनले कमजोरी ठाने ।
यसैगरी विश्वमहाशक्ति बन्न लागेको पुटिनको समर्थन गरेकाले पनि स्थिति जटिल भएको छ । म्यानमार, इरानलाई जस्तै अमेरिका र पश्चिमा मुलुकको आर्थिक प्रतिबन्धको असर कम गर्न सायद चीनले रुसलाई पनि सहयोग गर्र्नेछ ।
रूसी आक्रमणका विरुद्ध युक्रेनलाई सैनिक पठाएर साथ दिने आँट पश्चिमी मुलुकहरूले गर्ने देखिन्न । रुससँग आणविक हतियार भएको र पुटिनजस्ता उद्दाम महत्त्वाकाङ्क्षी तानाशाहले मानव समुदायले भोग्नुपर्ने दीर्घकालीन परिणामभन्दा आफ्नो अहङ्कारलाई महत्त्व दिनसक्ने जोखिम अन्तर्राष्ट्रिय समुदायले पक्कै बुझेको छ ।
युक्रेनमाथि भएको रुसी सैनिक हमलाको विरोध रुसमै भए पनि राष्ट्रवादी उन्माद बढाएर दमन गर्न पुटिनलाई खासै कठिन नहोला । यसैले विश्व समुदायले युक्रेनको मानवीय सङ्कट र सार्वभौम सत्ताको रक्षाप्रति गम्भीर ध्यान दिनुपर्छ । चीनजस्ता मुलुक हुँदासम्म निषेध र प्रतिबन्धबाट अधिनायकहरूमाथि पर्ने दबाब निस्तेज भई रहनेछ ।
नेपाल सरकारले युक्रेनमा अलपत्र परेका नेपालीको उद्धारमा पनि उत्तिकै गम्भीरता देखाओस् । सत्ता साझेदार कम्युनिस्टहरू त रुसी आक्रमणको निन्दा गर्न हिचकिचाउलान् । तर, सरकारले भने नेपाली जनताको आवाज मुखरित गर्दै साना राष्ट्रको सार्वभौम सत्ता र अखण्डताको रक्षाका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँगै आवाज मुखरित गरोस् ।