site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
उन्नतिकाे आधार : कृषि विकास 

नेपाल कृषि प्रधान देश । कृषि विकाससँग सम्बन्धित करिब सत्रथरीका अध्ययन प्रतिवेदन बनेका छन् । बिमाको सुविधा, सहुलियत ऋण र विभिन्न शीर्षकमा आर्थिक र प्राविधिक अनुदान पनि उपलब्ध छ । तर, कृषि उत्पादकत्व भने वार्षिक आठदेखि दस प्रतिशतका दरले घटिरहेको छ । कहाँ गएको छ कृषि विकासका लागि गरिएको लगानी ? 

कृषि उपजको निर्यात घटेको छ भने आयात ह्वात्तै बढेको छ । कृषिमा आत्मनिर्भर हुनु नै देश विकासको न्यूनतम सर्त हुनुपर्ने राज्यको ध्यान भने अन्तै गएकाे छ । अर्थात्, राज्य भने कृषि बालीकाे उत्पादकत्व बढाउन सचेत हुनसकेको छैन ।

कृषिमा भएका ऐन, नियम र अध्ययन प्रतिवेदनको तत्काल कार्यान्वयन गरी अनुदानकाे सफल कार्यान्वयन र अझ नयाँ रणनीति लागु गर्न सकिएन भने खाद्य संकटको अकल्पनीय अवस्था उत्पन्न हुन सक्छ । त्यसले राज्य र नेपाली जनताको जीवनमा ठूलो समस्या ल्याउन सक्छ ।

KFC Island Ad
NIC Asia

हाम्रोजस्तो कृषि याेग्य भूमि भएको, हावापानी अनुकूल भएको र जलस्रोतको धनी भनिने देशमा उत्पादन बढ्न सक्ने खालका कृषि मैत्री नीति, कार्यक्रम र बजेटको व्यवस्थामा ध्यान दिनसके आसन्न संकटबाट देश र जनतालाई मुक्त राख्न सकिनेछ ।

कृषि प्रधान देशमा कृषि उपज र कृषि जन्य वस्तुको उत्पादन विगतको तुलनामा अत्यन्त निराशाजनक छ । लगानी भने गुणात्मक हिसाबले बढ्दै गएको छ । कृषि उत्पादन बढाउने हेतुले भएको राज्यको लगानी बालुवाको पानी भएको छ । आत्मनिर्भरता र निर्यातका दृष्टिले सम्पूर्ण देशको अर्थनीतिको करिब सत्तरी प्रतिशत सम्भावनाको हिस्सा ओगट्ने कृषि क्षेत्रको यो सूचकले देश र जनताको भविष्य अझै अन्योल र अस्थिर देखाएको छ।

Royal Enfield Island Ad

नेपालको कृषि क्षेत्र दिनप्रतिदिन खस्कँदो अवस्थामा छ । कृषिमा उत्पादन र उत्पादकत्वको खस्कँदो अवस्था हेर्दा लाग्छ कृषि क्षेत्र अब माथि  उठ्नै नसक्नेगरी थला पर्दै गएको छ । अस्थिर शासनसँगै मौलाएको राजनीतिक अकर्मण्यता, कृषि व्यवसायमा योजनाहीन अतिक्रमण तथा तराई र पहाडका उर्वर जमीनमा अनुत्पादक खण्डीकरण अनि सहरीकरणको भुमरीमा कृषि क्षेत्रको सम्भावना फसेको छ।

राजनीतिक दलदलमा कृषि 

जग्गाको आवासीयभन्दा खेतीको हिसाबले चक्लाबन्दी गर्न आवश्यक थियो । उत्पादकत्व वृद्धिमा राज्य तहबाट बढी ध्यान दिन जरुरी थियो । कम उब्जनी हुने जग्गामा नै व्यवस्थित बसोवास विस्तारको योजनामा राज्यको ध्यान जानु जरुरी थियो । डाँडा, थली, भञ्ज्याङहरूमा पानीको मूल, कुवा, धारो नजिक भएको ठाउँ हेरेर बस्ती बसाउने परम्परागत शैली अपनाउनु जरूरी थियाे ।

पहाडको माथिल्लो भागमा बसोबासलाई बढी प्राथमिकता दिने र तल्लो भेग, बेसीका फाँट र पानी प्रशस्त भएको तथा सिंचाइ हुने ठाउँमा खेती लगाउने चलन थियो । सामान्य निर्वहमुखी किसानका लागि आयआर्जन पर्याप्त हुने सहज र सरल दिनचर्याका साथ सन्तोषको दैनिकी चल्ने गर्थ्यो । पूरैगाउँ एक परिवार जस्तो भारोपर्म, मेलापात, मर्दापर्दाका सहकार्यले समदाय नै पारिवारजस्ताे थियाे ।

पूर्वपश्चिम राजमार्ग बनेपछि बेसी, फाँट र यातायातको दृष्टिले सुगम हुने सहज सडक छेउ, आवतजावत गर्न सकिने ठाउँको छानेर बसोवास बसाउन थालियो । उर्वर भूमिमा बसोवास विस्तार हुन थाल्दा राज्य उदासीन रहेकाले कृषि याेग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै गयो ।

कृषि कार्यालय नेता र कर्मचारीको नजरमा कमाउ अड्डाका रूपमा चिनिन थाल्यो । कृषि मन्त्रालयमार्फत विनियोजित रकम हजम गर्नमा मात्र कर्मचारीतन्त्रको आँखा  गयाे । फलस्वरूप, कृषि विकासका लागि छुट्याइएकाे रकम बालुवाको पानी समान भयो । 

कृषिमा उल्लेख्य प्रगति हुन सकेन । कृषि उत्पादन ह्रासोन्मुख हुँदै दुई तिहाइ जनताका लागि खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको उत्पन्न हुँदै गयो र जनसंख्याको दुई तिहाइ किसान भएको भनिने देशको कृषि उपज र उत्पादनले एक तिहाइ जनतालाई खान पनि धौ धौ हुँदै आएको छ।

विद्रोहले विस्थापित किसान

देशमा हिंसात्मक विद्रोह फैलिए ताक सोझासिधा गाउँका किसान पनि गाउँ छाड्न बाध्य भए । ज्यान जाेगाउने आशाले सहरतर्फ लागे । फलस्वरूप गाउँहरू शून्यप्रायः भए । अर्थतन्त्र भताभुङ्ग बनाइएकाले बेरोजगारी बढ्न गयो । बेरोजगारीका कारण विद्रोहलाई मलजल भयो भने सरकारले वैदेशिक रोजगार खुलायो । गाउँका युवाको विकल्प कि विद्रोहमा जाने कि वैदेशिक रोजगारीमा जाने हुन गयो । गाउँ  उजाड हुँदै गए भने खेतीपाती गर्ने किसानको संख्या घट्न थाल्यो ।

गाउँमा बुढाबुढी र केटाकेटी मात्र भेटिन थाले । खेती योग्य जमिन बाँझो बस्न थाल्यो । तर्साएर, थर्काएर र लुटेर जसरी पनि पैसा आउने र हातमा नगद भएपछि इच्छा भोजन मनग्य पाइने भएपछि कृषि कर्ममा किन लाग्ने ? उत्पादन बढाउन किन लाग्ने ? खेती गर्नेहरू राज्य र राज्यका निकायहरूबाट पनि उपेक्षित र अपहेलित हुन थाले । पढेलेखेर कृषि कर्म गरे इज्जत जाने बरु ठगेर ढाँटेर खाने तथा बिचौलिया बनेर मनग्य कमिसन खानेहरू समाजका आदर्श पुरुष बन्ने परिपाटीले कृषि कर्म उपहास र खिसिट्युरीको विषय बन्न पुग्यो । कृषि क्षेत्र अनाकर्षक, अपहेलित र अनुत्पादक बन्दै गयो ।यसैको परिणाम नेपाल र सोझा नेपालीले भोगिरहनुपरेको छ ।

छिटपुट कृषि कर्ममा जति लागे तिनले पनि छिटाे आर्जन गर्न मिसावट गर्ने, रासायनिक मल, विषादी प्रयोग गर्ने फलफूल र तरकारी जन्य कृषि उपजमा भिटामिनको प्रयोग गरी उत्पादन गर्नथाले । अवसरवादीहरू कृषि व्यवसायलाई कमाउ धन्दामा परिणत गर्न लालायित भए । यसले गर्दा खाद्य वस्तुमा अखाद्य पदार्थको मिसावट ज्यादा हुनथाल्याे । सरकारी नियमनकारी निकायलाई मुखबुझो लगाउन अवसरवादी किसान सिपालु हुँदै गए । कृषि मैत्री समाजमा धमिरा बनेर बिचौलिया बन्ने दौडमा सामेल भए  ।

कृषिमा बढ्दो बजेट घट्दो उत्पादन

कृषिप्रधान भनिएको देशले आजसम्म योजनाबद्ध कृषि विकासमा बजेट बढाएको छैन । बजेट बढेको छ तर उत्पादन बढेको छैन । देशको आयातकाे ठूलाे हिस्सा कृषि उपजकाे हुने गरेकाे छ । यसभन्दा विडम्बना कृषिप्रधान देश र जनताका लागि अरू के हुन सक्छ ?

देशको उत्पादनले बजार नपाएर दूध, तरकारीलगायतका कृषि उपज यत्रतत्र सडकमा फालेर र यथा स्थानमा नष्ट गरेर कृषकले देशकाप्रति, देशको कृषि नीतिप्रति र राज्य सञ्चालकप्रति व्यङग्यात्मक कृषिविद्रोह गरेको देखिएको छ । राज्य पक्षबाट यस्ताे विद्रोह नसुने झैँ र नदेखे झैँ हुने गरेको छ।

सरकारले तत्काल किसानद्वारा उत्पादित कृषि उपजको सहज बजारीकरणको व्यवस्था गर्नु जरुरी छ । आवश्यकताको पहिचान गरी आपूर्तिको व्यवस्था मिलाउन पटकपटक राज्य चुकेको छ। अरू व्यवस्थापन गर्न नसके पनि एक ठाउँमा उत्पादित कृषि वस्तु अन्य ठाउँका उपभोक्तासम्म लैजान राज्यको प्रत्यक्ष सहयाेगी भूमिका हुनुपर्छ ।

कृषि उपजको स्थानीय तहमा खपत भएर बाँकी बजार व्यवस्थाका लागि सरकारले जिम्मा लिने परिपाटीको विकास हुनु जरुरी छ । यसाे हुनसके बिचौलिया प्रथाको अन्त्य भई उत्पादक र उपभोक्ताको बीचमा राज्य देखा पर्नेछ र सहज समन्वय हुनेछ । तत्काल यता ध्यान नदिने हो भने देशले दुर्गति बेहोर्नुपर्नेछ।

किसान र उपभोक्ताको बीचमा सरकार

सरकारले किसानबाट उत्पादित घरायसी उपभोगबाट बचेको वस्तुको निश्चित परिणाम संकलन केन्द्रबाट उठाउने र अभावयुक्त ठाउँमा पुर्‍याउने गरी बजारको व्यवस्थापन गरेपछि मात्र कृषकलाई आफ्नो उत्पादनले उचित मूल्यको बजार पाउने सुनिश्चित हुन्छ । आफ्नो उत्पादनको बजार भएपछि मात्र किसानलाई उत्पादनमा हौसला मिल्छ।

हालको निर्वाहमुखी कृषि व्यवसायलाई हतोत्साही नगराईकन सरकारले ठूला कृषि व्यवसायी किसानलाई प्रोत्साहित गर्नुपर्छ । यसो गर्दामात्र साना ठूला सबै किसान आफ्नो उत्पादन बढाउन क्रियाशील हुन्छन् । साना किसान ठूला व्यवसाय गर्न प्रोत्साहित हुन्छन् र देशको कृषि उपज खाद्यान्नलगायत दूध, तरकारी, फलफूल, माछामासु, जडिबुटीसम्मको उत्पादन र आपूर्ति सहज हुन्छ।

राज्यले कृषि उपजको आयात घटाउने नीति निर्माण गरेर देशका कृषकलाई अनुदान आदिबाट प्रत्यक्ष प्राेत्साहित गर्दै जाने र उत्पादित वस्तुको बजार व्यवस्था गरिदिने काम अभियानको रूपमा गर्नुपर्छ । सबै प्रदेश, पालिका र सरकारी निकायलाई एउटै नीतिभित्र समेटेर र सम्बन्धित सरोकारवाला सबैसँग समन्वयात्मक परिचालन गर्न सकेमात्र कृषिप्रधान देशको उपयाेगिता सार्थक हुनसक्छ ।

देशको कृषि क्षेत्रमा व्यापक सुधार गरी वैदेशिक रोजगारबाट फर्किएका युवालाई रोजगारी सृजना गर्न, खाद्यान्न संकट हुन नदिन, आपूर्ति व्यवस्था सहज गर्न र आयआर्जनको मुख्य स्रोत नै कृषि क्षेत्र हो भन्ने पुष्टि गर्न सकिन्छ । कृषिमा उत्पादन बढाएर उत्पादित वस्तुको बजार व्यवस्थापनपछि देश आत्मनिर्भर आत्मनिर्भर हुन्छ । देशको चौतर्फी विकासका लागि वैकल्पिक योजना तर्जुमा गर्दै विदेशी बजारमा उच्चकोटीको अर्गानिक कृषि उपज निर्यात गर्न सकिन्छ ।

आफ्ना देशका सम्पूर्ण युवालाई देशमै रोजगारी दिई आम्दानी बढाउने उद्देश्य बनाउनु पर्छ । देश विकासको मेरुदण्ड नै कृषि क्षेत्रको विकास हो भन्ने सोच र सङ्कल्प नीति निर्माण अनि बजेट निर्माण तहमा नभएसम्म र त्यतातर्फ राज्यको ध्यान नजाँदासम्म देशले विकासको मुहार देख्न सक्दैन र देश समृद्ध हुने सम्भावना पनि रहँदैन।

(व्यावसायिक किसान, धादिङ)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro