किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अब जुनसुकै दिन युरोपमा ठूलो युद्ध सुरु गर्न सक्ने चेतावनी दिँदै रुसी जनतालाई युद्धको विरोध गर्न आह्वान गरेका छन् ।
बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, “मैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न असफल प्रयास गर्न पुगेथेँ । मैले पुटिनलाई फोन गरेथेँ, तर उताबाट कुनै जवाफ पाइनँ । रुसले युक्रेनका सिमानामा झन्डै दुई लाख फौज तैनाथ गरेको छ ।”
जेलेन्स्कीले निकै भावुक बनेर रुसी जनतालाई युद्ध रोक्न आग्रह गर्दै उनीहरूलाई युक्रेनका बारे झुटो बोलिएको बताएका छन् ।
उनले भनेका छन्, “कसले युद्ध रोक्न सक्छन् ? मलाई विश्वास छ, तपाईंहरूमाझकै व्यक्तिहरूले यो काम गर्न सक्छन् । मेरो मुलुक रुसी आक्रमणको सामना गर्न पनि तयार छ । यदि, रुसी फौजले हमला गरेमा र हाम्रो मुलुकको स्वतन्त्रता, हाम्रा र हाम्रा बालबालिकाका ज्यान लिने प्रयास गरेको खण्डमा हामीले प्रतिवाद गर्नेछौँ । हामीलाई आक्रमण गरियो भने उनीहरूले हाम्रा ढाड हैनन्, अनुहार नै देख्नेछन् ।”
रुसी राष्ट्रपति पुटिनको आदेशमा रुस समर्थित पृथकतावादी लडाकुहरूको नियन्त्रणमा रहेका पुर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कमा रुसी फौज छिरेपछि जिलेन्स्कीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । मस्कोले भने पूर्वी यूरोपका ती दुई स्थानले सैनिक सहयोगका लागि अनुरोध गरेको जनाएको छ ।
रुसले अहिले रुसको सिमानामा रहेका पूर्वी युरोपका सम्पूर्ण हवाई क्षेत्र पूर्णतः बन्द गरिनेबारे सूचना जारी गरेको छ ।
बिग्रँदै गइरहेको परिस्थितिबारे छलफल गर्न बिहीबार नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै छ । युक्रेनले यसअघि नै एकमहिने संकटकालको घोषणा गरिसकेको छ । बीबीसीबाट ।